मान्छे जीवनको कालखण्डमा अनेक मानिसहरूसँग नजिकिन्छ र टाढिन्छ । एकफेर भेटिएको कोही जिन्दगीभर सम्पर्कमा रहन्छन् भने कोही बेलाबेलामा झुल्किन्छन् त कोही वर्षौंसम्म भेटिँदैनन् । अर्बाैं मानिस भएको यो दुनियाँमा कसैलाई भेट्नु, कसैसँग बोल्नु, सँगै बसेर खानु, घुम्नु नै अनौठो संयोग हो ।
यो दुनियाँमा बिना कुनै अर्थ र कारण कसैसँग भेट हुँदैन, पहिलेको वा भविष्यको कुनै घटनासँग जुइनो गाँसिएको हुन्छ भनिन्छ । कहिले कामको सिलसिलामा, कहिले यात्रामा परिचयको आदानप्रदान हुन्छ । कसैसँग पहिलो भेटमै धेरै नजिक भइन्छ, कसैसँग वर्षौं गफ गर्दा पनि निकटताको आभास हुँदैन ।
प्राय:सँग हजुर तपाईंबाट सम्बन्धको सुरुवात हुन्छ, कसैसँग तिमीबाट त विरलैसँग तँबाट हुन्छ । प्राय: सम्बन्ध औपचारिकताबाट प्रारम्भ भएर अनौपचारिकतामा पुग्छ । कोही एक घण्टामै घनिष्ठ मित्र बन्छन्, कोही जुनीभर बन्दैनन् । धेरै जनासँगको सम्बन्ध न अघि बढ्छ, न पछि हट्छ । आफ्नै साथी बरु त्यति नजिकको लाग्दैन तर उसले चिनाइदिएको नयाँ साथी ऊभन्दा धेरै निकट हुन सक्छ । कहिलेकाहीं हामी टाढा हुँदा आफ्नो नजिकको साथीको कुरा कुनै नयाँ साथीलाई भनिरहन्छौं तर उसँग प्रत्यक्ष भेटेकै हुँदैन, तर जब भेटिन्छ लाग्छ कति लामो चिनाजानी छ ।
त्यस्तो बेला एकैचोटि के छ यार र तिमी–तिमीबाटै सम्बन्ध प्रारम्भ हुन्छ । कसको मनको तार कोसँग कहाँ कतिबेला जोडिन्छ कसैलाई थाहा हुँदैन । एउटालाई ठिस लाग्ने मान्छे अर्कोलाई अद्भुत लाग्छ, एउटालाई घमन्डी लाग्ने अर्कोलाई प्रस्ट विचारको लाग्छ । मानिसको रुचि, पृष्ठभूमि, अध्ययन, वैचारिक धरातल, संस्कार आदि अनेक कुराको महत्त्वपूर्ण भूमिका हुन्छ । कहिलेकाहीं दुई विपरीत धारका मानिसको घनिष्ठ सम्बन्ध कसरी बनेको होला भनेर अचम्म लाग्छ ।
को नयाँ चिनजानको हो वा कुन नातासम्बन्धको हो, त्यसले पनि सम्बोधनलाई निर्धारित गर्छ । सम्बोधनमा मानिसहरूबीचको दूरी र आत्मीयता पनि झल्कन्छ । एउटै उमेर समूहमा पनि जसलाई एउटाले तँ भन्छ, अर्कोले तिमी भन्छ, उसैलाई अर्कोले तपाईं भन्छ, फेरि अर्कोले हजुर भन्छ । जिन्दगीको कुन मोडमा कोसँग कहाँ कसरी भेट भएको थियो त्यसले धेरै अर्थ राख्छ ।
आफूले कत्रो सम्मान गरेर तपाईं–हजुर भनिराखेकोलाई आफ्नै अर्को साथीले के छ यार तिम्रो खबर वा के छ यार तेरो खबर भनिदिन्छ । पछि गएर ल अब तिमी तिमी नै भनौं न त पनि भनिन्छ । सम्बन्धमा धेरै पटक उमेर वा नाता पनि गौण हुन्छ । भावना वा मित्रताको कसीले पेसा वा पदले पनि सम्बोधनलाई असर गर्छ । कसैले कसैलाई तँ भनेको देख्दा हेपे जस्तो लाग्छ कसैलाई कति धेरै माया गरे जस्तो लाग्छ । श्रीमान्लाई तिमी भनेको सुन्दा आदर नगरेजस्तो लाग्छ, तर श्रीमतीलाई भन्दा केही पनि लाग्दैन । यो दिमागमा परेको पुरानो छाप पनि हो ।
ठूलाबडा मानिसहरूले तँ–तँ र तिमी–तिमी भनेर कुरा गरेको सुन्न कम्ता मज्जा आउँदैन । किशोरावस्थामा दाइ–दिदी भनेर पछि लाग्नेले युवा भएपछि कुनै दिन फ्याटट यार, तिमी, जी आदि पनि भनिदिन्छन् । कतिलाई अब म पनि ऊजस्तै उत्रै भएँ भनेर पनि समान हुन खोज्छन् र विगत बिर्सन्छन् । जसले तँ–तँ र म–म गरेर बोल्छन् कि त उनीहरू एकदम नजिक छन् वा उमेर वा सम्बन्धले साना–ठूला छन् भनेर बुझिन्छ । तिमीले समकालिक हुन् भनेर बुझाउँछ भने तपाईंले आदरको भाव र हजुरले उच्च आदर जनाउँछ । सासूले बुहारीलाई हजुर, तपाईं भनिन् भने व्यंग्य हानेको मानिन्छ । प्रेमीहरूचाहिं आवश्यकता र मनोभावअनुसार तँ तिमी तपार्इं हजुर सबै एकैचोटि वा फरक–फरक समयमा पनि प्रयोग गर्छन् ।
बाटोमा वा यात्रामा वा नयाँ चिनजानमा कसलाई दाइ, दिदी भन्ने वा दिदी, बहिनी भन्ने दुविधा पनि भैरहन्छ । सबैको एकफेर उमेर आउँछ, आफूलाई दाइ वा दिदी भनिदिए हुन्थ्यो, पछि फेरि भाइ वा बहिनी भनिदिए हुन्थ्यो । बसमा यात्रा गर्दा कुनै युवतीलाई खलासीले अलि उता सर्नुस् त आन्टी भनिदियो भने उसले गाली खाने सम्भावना बढी हुन्छ । कोही दिदीभन्दा रिसाउँछन् भने कोही बहिनीभन्दा रिसाउँछन् । कसलाई कतिबेला के भनेर सम्बोधन गर्ने भन्न कठिन नै हुन्छ । कहिलेकाहीं ठूलो उमेरकैले पनि के छ दाइ भनिदिन्छ, के छ दिदी भनिदिन्छ ।
त्यसैले यो दाइ, दिदी भनेको सम्बोधन गर्ने पद वा वहाना हो जस्तो लाग्छ । सहपाठी वा सहकर्मी भए पनि कसैको चाहिँ मलाई सबैले दाइ नै भन्नुपर्छ, दिदी नै भन्नुपर्छ भन्ने अहं पनि हुन्छ । कहिलेकाहीं सम्बन्धमा समानता कायम राख्न दुवैले दुवैलाई दाइ–दाइ, भाइ–भाइ पनि भन्छन् । मान्छेलाई न सानो हुन मन लाग्छ न बूढो हुन मन लाग्छ । मान्छे बडो अप्ठेरो प्राणी हो ।
कसको दिमागमा कतिबेला के सनक चढेको हुन्छ भन्न सकिँदैन । घरमै पनि कसैले आमाबुवालाई तपाईं, हजुर भन्छन्, कसैले तँ, तिमी पनि भन्छन् । हेपेर भनिएको बाहेक सबै सम्बोधन जायज नै लाग्छन् । अरूले सुन्दा अप्ठेरो लाग्छ तर उनीहरू त्यसमै रमाइरहेका हुन्छन् । सानोमा काका, फुपू तथा सानीआमाहरूले दाइ, भाउजू, दिदी भनेको सुनेर आमालाई भाउजू, दिदी तथा बुवालाई दाइ, भिनाजु भनेर सम्बोधन गर्नेहरू पनि धेरै छन् ।
कसलाई दाइ भनियो कसलाई दिदी भनियो वा कसलाई तँ, तिमी, तपाईं, हजुर भनियो भन्दा पनि कुन प्रसंग भाव र अर्थमा भनियो, त्यसले गहिरो प्रभाव पार्छ । सम्बोधनमा प्रेम तथा आत्मीयता भए जे भने पनि फरक पर्दैन ।