दयाहाङ मेरा अत्यन्तै मिल्ने साथीहरूमध्ये एक हो, भाइजस्तो पनि । हाम्रो पारिवारिक सम्बन्ध छ । जीवन भोगाइलाई अत्यन्त नजिकबाट चिनेको मान्छे हो ऊ । धेरै संघर्ष गरेको मान्छे हो । ऊ कथा–पटकथालाई बुझेर कुनै पनि चरित्रलाई रंगमञ्च तथा पर्दामा उतार्न सक्ने क्षमता भएको कलाकार हो ।
मसँगको दयाहाङको सहयात्रा पनि धेरै फापेको छ । उनकी श्रीमती बेनुका राई सांगीतिक क्षेत्रमा हुँदा हामीबीच राम्रो निकटता थियो । दयाहाङ डाउन टु अर्थ स्वभावको व्यक्ति हो ।
राजेशपायल राई, गायक
चलचित्र क्षेत्रमा मेरो सबैभन्दा मिल्ने साथी अर्थात् ब्रेस्ट फ्रेन्डहरूमध्येको एक हुनुहुन्छ— दयाहाङ राई । एकदम असल मान्छे । सफा मन भएको व्यक्ति । घमण्ड थोपै नभएको, मेहनति र सहयोगी पनि । अभिनय गर्ने क्रममा सह–कलाकारसँगको समन्वयकारी व्यवहार अझ राम्रो छ । अभिनयको त जति नै प्रशंसा गरे पनि कम हुन्छ ।
प्रियंका कार्की, नायिका
सबैभन्दा राम्रो कुरा दयाहाङ राई असल व्यक्ति हुन् । निर्देशकका रूपमा भन्नु पर्दा उनलाई निर्देशन गर्न अत्यन्त सहज छ । उनीबाट धेरै कुरा सिक्ने मौका पाइन्छ । अभिनयमा सहजता तथा हरेक प्रकारका भूमिका निर्वाह गर्न सक्ने प्रतिभाशाली नेपाली अभिनेता पनि दयाहाङ राई नै हुन् ।
मिलन चाम्स, निर्देशक
मैले दयाहाङ राईसँग पहिलो पटक चलचित्र ‘घामपानी’ मा अपोजिट भएर काम गर्ने मौका पाएकी छु । त्यसअघि चलचित्र ‘फन्को’ मा हामी सँगै थियौं, त्यसक्रममा मैले उहाँबाट धेरै कुरा सिक्ने अवसर प्राप्त गरेकी थिएँ । ‘लुट’, ‘कबड्डी’ जस्ता सुपरहिट चलचित्रका यी स्टार अभिनेता कति नम्र र सहयोगी छन् भने कुराको अनुभव भने भर्खरै गर्न पाएकी छु ।
केकी अधिकारी, अभिनेत्री
अभिनेता दयाहाङ राई अभिनयमा सधैं केही न केही नयाँ आयाम दिन खोज्छन् । चरित्रले मागेको पर्फमेन्सका लागि तुरुन्तै तयार हुन्छन् । चलचित्रको कुनै पनि दृश्यलाई अझ रोचक बनाउन संवाद एवं घटनामा परिमार्जन गर्ने स्वभाव छ । आफ्नो मात्र होइन, आफूसँगको कलाकारको प्रस्तुतिलाई समेत उकास्न उनले समन्वय गरेको देखिन्छ । आधारभूत आवश्यकताभन्दा अरू डिमान्ड गर्दैनन् ।
कुनै अहम् छैन । साधारण जीवनशैलीमै रमाउँछन् । मिलनसार छन् र सहयोगी पनि । गाह्रो–साह्रो अवस्थालाई ट्याकल गर्न माहिर छन् । पछिल्लो समयमा बढेको व्यस्तताका कारण उनलाई चलचित्रको प्रि–प्रोडक्सन चरणमा मेहनत गर्ने समयको चाहिँ अभाव भैरहेको महसुस हुन्छ । दु:ख अनि संघर्ष गरेर यो अवस्थासम्म आइपुगेका दयाले जीवनलाई राम्रोसँग बुझेका छन् । यसले गर्दा पनि उनको कलाकारितामा परिपक्वता देखिएको हो ।
दीपेन्द्र लामा, सञ्चारकर्मी/निर्देशक