साप्ताहिक संवाददाता
यी जोक्स नक्कल गरेजस्ता लाग्छन् (फेसबुक फन्डा) । आफ्नै मौलिक जोक्स भैदिए राम्रो हुन्थ्यो ।
सागर खड्का
मन छुने तथा अहिलेको फेसबुके माया दर्साउने धेरै तन्नेरीले भोग्ने प्रसंग समेटिएको रहेछ (कथा : च्याटपछिको भेटघाट) । कथा निक्कै राम्रो लाग्यो ।
प्रशान्त
आज समातेको चोरलाई भोलि छोड्ने चलन छ (अपराध : उपत्यकामा चोरका आठ ग्याङ) । यसरी कसरी घट्छन् र चोर ? कडा सजायको प्रावधान हुनुपर्छ अनि मात्र अपराध कम हुन्छ ।
मोतीलाल खरेल
आजकालका छोराहरूले बुबा–आमालाई सताएको सर्वविदितै छ (बुहारीका लागी जुहारी) । राजेशपायल राईले त्योभन्दा राम्रो के गर्न सके र ? बुवा–आमालाई खुसी बनाउन सक्नुपर्छ ।
अस्मिता रिजाल
हामी परदेशीहरूको एउटै पीडा त हो नि (कथा : बिरालो, दसैं र छोरो) । चाड पर्वका बेला घर जान मिल्ने होइन । विदेशमा बसेर जति कमाए पनि काम गर्नैपर्छ ।
नगेन्द्रप्रसाद जोशी
मल्टिप्लेक्समा जाने खुट्टालाई सिङ्गल स्क्रिनमा जान कसैले रोक्न सक्छ ? (मल्टिप्लेक्समा रेखा) ? जहाँ राम्रो चलचित्र चल्छ त्यही गएर हेरिन्छ नि ।
फुरी लामा
हाम्रोतिर त तीजमा चर्खेपिङ बनाउने चलन छ (हराउँदै काठैकाठको चर्खे पिङ) । यसरी चर्खेपिङ बनाएको ठाउँमा चेलीबेटीहरू जम्मा भै नाच्ने– गाउने काम गर्छन् । गाउँका युवाहरूले चेलीबेटीहरूलाई पिङमा बस्न लगाई पिङ मच्चाइदिन्छन् । चेलीबेटीहरूले पिङ मच्चाउने युवाहरूलाई फलफूल एवं प्रसाद दिन्छन् । यो चलन अहिलेसम्म यथावत् छ ।
मगर केटो पवन
त्यही त भन्या आजकाल गोजिभरि पैसा नहुन्जेल लभ गर्न नि मन लाग्दैन (कथा : लो बजेट लभ) । सम्पत्तिमा सबैको हाईहाई बिपत्तिमा कोही छैनन् दाजुभाइ ।
दिपेश काउचा, समन चौधरी
एउटा कुराचाहिं अचम्म लाग्यो (पढ्नैपर्ने सय पुस्तक) । पढ्नैपर्ने उपन्यासको सूचीमा डायमनशमशेरका उपन्यासहरूको नाम कतै देखिएन ।सरोज तुलाधर
आस्थाभन्दा ठूलो केही हुँदैन (तलेजु मन्दिरमा २१ वर्ष) ।
पीके खड्का
मिलन अमात्य राम्री गायिका मात्र होइन, विचार र व्यक्तित्वले अझ बढी राम्री हुनुहुन्छ (अन्तर्वार्ता : दर्जनौंले प्रस्ताव राखे, मैले एरेन्ज रोजें) । आउँदा दिनहरूमा उत्तरोत्तर प्रगतिका लागि धेरै–धेरै शुभकामना ।
रुमन श्रेष्ठ
दसैं त सधैं अर्थपूर्ण नै हुन्छ नि (गजुरियल : अर्थपूर्ण बनाऔं दसैंलाई) । देशको स्थितिचाहिँ कहिल्यै अर्थपूर्ण भएन । बरु त्यतातिर सोच्नु राम्रो होला ।
साम सरु
यस्तो कथा पढेपछि मन फुरुङ्ग हुने क्या (साहित्य : यात्रामा एउटा प्रेम) ! कथा बहुत मन छुने लाग्यो । प्रस्तुति अति राम्रो, पाठकको मनोविज्ञानसँग खेल्न सफल छ । यसले प्रेमको नयाँ परिभाषा दिन्छ ।
सुरज राना
पढ्नैपर्ने सय पुस्तकमा केही पुस्तकका नाम गलत छन् भने केही दोहोरिएका छन् । हर्क गुरुङको मैले देखेको नेपाल हुनुपर्नेमा, मैले देखेको समाज छापिएको छ । त्यस्तै इन्द्रबहादुर राईको आज रमिता छ दोहोरिएको पाइयो ।
शशि कार्की