बेलायतको अल्डरसट क्षेत्र धेरैपल्ट पुगेको थिएँ । यो लन्डन सहर वरपर रहेको एउटा त्यस्तो क्षेत्र हो जहाँ हजारौं नेपाली बस्छन् । स्थानीय मित्र सूर्य गुरुङले मलाई मिनी नेपाल घुमाउने कुरा सुनाउँदा उहाँमा जुन उत्साह देखेको थिएँ, त्यो केही फरक नै थियो ।
अल्डरसट क्षेत्र पुगेपछि मलाई आश्चर्य लाग्यो र मित्र सूर्यजीको उत्साहको कारण पनि त्यही स्पष्ट भयो । नेपाली समुदायको अत्यधिक बसोबास रहेको फार्नबरो, सर्रे, क्याम्बरली क्षेत्रहरूमा झन्डै २० हजार नेपालीको बसोबास छ ।
अल्डरसटको बाटो, पार्कतिर घुम्दा धरान, पोखरा वा काठमाडौंका कुनै चोक पुगेको भान हुन्छ । अल्डरसटमा नेपालीपन झल्काउने के मात्र छैन ? नौमती बाजा बजाउने समूह छन्, नेपाली लुगा सिलाउने टेलर छन् । त्यहाँ अनगिन्ती सुन–चाँदी पसल खुलेका छन् जहाँ परम्परागत शैलीका नेपाली गहना तयार पारिन्छन् । नेपाली समुदायले सञ्चालन गरेको हेयर सैलुन, मोमो स्टेसन तथा अन्य नेपाली परिकारका असंख्य रेस्टुराँ पनि ।
क्याटरिङ सेवा दिने वा सांस्कृतिक कार्यक्रम गर्न मिल्ने ब्यान्केटहल, सामुदायिक भवनहरू तथा दोहोरी साँझको रमझम हेर्दा नेपाल बाहिर छु भन्ने महसुस नै गर्न सकिंदैन । त्यहाँको बौद्ध गुम्बा त नेपाल बाहिर नेपालीले बनाएको सबैभन्दा ठूलो गुम्बा रहेछ । युरोपका अन्य क्षेत्रमा चिउरा, चाउचाउ, दाल–चामल, मरमसला किन्नु पर्यो भने भारतीय वा पाकिस्तानी पसल चहार्नुपर्छ । यहाँ भने नेपाली भाषा बोलेरै नेपाली सामग्री किन्न पाइन्छ ।