युवराज चौलागाईं, गायक तथा संगीतकार
एक दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा संगीतकार हु्न्— युवराज चौलागाईं । ‘साँझ पख’, ‘लैजा चरी मेरो सन्देश’, ‘हरेक शब्दको’ जस्ता लोकप्रिय गीतका यी गायकले चलचित्रको पाश्र्वगायनमार्फत ‘तिम्रा डोला डोला हातमा’, ‘तिमीलाई के भनौं’, ‘हारें हारें...’ जस्ता लोकप्रिय गीत गाइसकेका छन् ।
चितवनका स्थायी बासिन्दा चौलागाईंले पछिल्ला डेढ वर्षमा झन्डै डेढ दर्जन नै एवार्ड प्राप्त गरेका छन् । चलचित्र ‘क्लासिक’ तथा ‘नोभेम्बर रेन’ का गीतबाट युवराजले पछिल्लो समयमा वितरण गरिएका अधिकांश एवार्डमा उत्कृष्ट गायकको एवार्ड जितेर नौलो कीर्तिमान नै कायम गरेका छन् । युवराजको पाश्र्व गायन रहेका ‘पलाँस’ सहित झन्डै आधा दर्जन चलचित्र प्रदर्शनका क्रममा छन् ।
धार्मिक स्वभाव
म सानैदेखि धार्मिक स्वभावको छु । बिहान उठेपछि म केही समय पूजापाठमा व्यस्त हुन्छु । व्रतबन्ध गरेदेखि आजको दिनसम्म मैले आफ्नो शरीरबाट जनै फुकालेको छैन । खाना खानुअघि अन्नलाई ढोग्ने मेरो सानैदेखिको बानी हो ।
ब्ल्याक बेल्ट
एसएलसी दिनुअघि तथा पछि म ब्रुस लि, ज्याकी च्याङ आदि अभिनेताका चलचित्र असाध्यै हेर्थें । त्यति बेला ममा चलचित्र अभिनेता बन्ने भूत सवार भएको थियो । मैले एक्सन हिरो बन्ने सपना देखेको थिएँ । त्यही सपना पूरा गर्ने क्रममा मैले चितवनमै छँदा तेक्वान्दोको औपचारिक प्रशिक्षण लिएँ । मैले २०५८ सालमै ब्ल्याक बेल्ट पाएको थिएँ ।
नृत्य
मैले नृत्यको समेत प्रशिक्षण लिएँ । चलचित्रको नायकलाई राम्रो नाच्न आउनुपर्छ भन्ने कुरा बुझेकैले मैले नृत्यको प्रशिक्षण लिएको थिएँ तर जब काठमाडौं आएँ, मेरो रुचि अभिनयबाट संगीततर्फ मोडियो ।
आमा
संसारमा सबैभन्दा बढी माया आमालाई गर्छु । केही वर्षअघि बुवाले हामीलाई छाडेर यो संसारबाट बिदा लिएपछि म आमासँग अझ बढि घनिष्ठ हुन पुगें । दसैं–तिहारजस्ता हरेक पर्व आमासँगै मनाउने प्रयासमा हुन्छु ।
साइँला
म परिवारको साइँलो छोरा हुँ । मलाई घरमा बोलाइने नाम पनि साइँला नै हो । नजिकका साथीहरू मलाई जिस्क्याउँदै ‘साइँला’ भनेर सम्बोधन गर्छन्, त्यसमा मलाई रमाइलो लाग्छ ।
चिया र गोलभेंडाको अचार
म चिया पिउँदिनँ । दूध हालेको होस् अथवा कालो चिया, मलाई चिया भन्नेबित्तिकै एलर्जी हुन्छ । गोलभेंडाको अचार मलाई सबैभन्दा मनपर्ने परिकार हो । खानामा गोलभेंडाको अचार भयो भने मलाई अरू केही चाहिंदैन । पोलेको गोलभेंडामा टिम्मुर हालिएको अचार पाएँ भने त म जस्तो भाग्यमानी अरू कोही छैन झैं लाग्छ ।
संगीतकार
म गायकका साथै संगीतकार पनि हुँ । मैले गाउने अधिकांश आधुनिक गीत आफैंले संगीतबद्ध गरेको छु । शास्त्रीय संगीतको विद्यार्थी भएकाले पनि होला, आफूले गाउने आधुनिक गीतहरू प्राय: आफैं कम्पोज गर्न रुचाउँछु ।
प्रस्तुति : कृष्०ा भट्टराई