साप्ताहिक संवाददाता
कुकुरको भिडन्त गराउने चलन लगभग संसारभरि नै भएको इतिहास छ । एसियामा अफगानिस्तान, भारत, जापान तथा पाकिस्तानमा कुकुर भिडन्तलाई मनोरञ्जक खेलका रुपमा लिइन्छ । त्यसैगरी अस्ट्रेलिया, युरोप, रुस एवं बेलायतमा भने जुवाका रुपमा कुकुरको भिडन्त गराइन्छ । यस्तो कुकुर भिडन्त उत्तर तथा दक्षिण अमेरिकामा समेत हुन्छ ।
युरोपमा रोमन सम्राज्यको समयदेखि, अमेरिकामा सन् १८१७ देखि तथा जापानमा १४ औं शताब्दीदेखि कुकुर भिडन्तलाई मनोरञ्जक खेलका रुपमा लिन थालिएको इतिहास छ । विभिन्न मुलुकअनुसार कुकुर भिडन्तमा सहभागी हुने कुकुरको जात पनि फरक–फरक हुन्छ । कुकुर भिडन्त गराउनेहरूले टिबेटन मास्टिफ, इंग्लिस मास्टिफ, इंग्लिस बुलडग, डेनिस मास्टिफ, बक्सर, न्युफाउन्डल्यान्ड, सेन्ट बर्नाड आदि जातका कुकुरलाई प्रयोग गर्छन् । अहिले जनावर अधिकारवादीहरूको दबाबका कारण केही देशले कुकुरको भिडन्तमाथि प्रतिबन्ध लगाएका छन् । दक्षिण अफ्रिकामा कुकुर भिडन्त प्रतिबन्धित भएकाले त्यहाँ यो खेल गोप्य रूपमा खेलाइन्छ । अफगानिस्तानमा तालिवानको शासन रहँदा यो खेलमाथि प्रतिबन्ध लगाइएको थियो । यस्तो कुकुर भिडन्तमा सहभागी हुने कुकुरको मूल्य कतिपय मुलुकमा कारभन्दा पनि महँगो हुन्छ ।