पटाका तिहारताका धेरै पड्काइने विस्फोटक पदार्थ हो । विभिन्न प्रतिबन्धका बाबजुद पटाकाको निर्माण एवं व्यापार बढिरहेको छ । नेपालमा विशेष गरी भारत र चीनबाट आयात गरिएका पटाका प्रयोग गरिन्छ ।
पटाकामा बारुदका साथै अन्य विभिन्न विस्फोटक पदार्थको प्रयोग हुन्छ । वैज्ञानिकहरूले अहिलेसम्म गरेको परीक्षणअनुसार कुनै पनि वस्तु अक्सिजनबिना बल्न सक्दैन, तर बारुद अक्सिजनबिना पनि बल्न सक्छ ।
कुनै वस्तुले बल्नका लागि आफूमा अक्सिजन उत्पन्न गर्छन्, बारुद त्यही बर्गमा पर्छ । यसमा मिसाइएको गन्धक र कोइलाका टुक्रा जलाउन आवश्यक अक्सिजन सोडाबाट प्राप्त हुन्छ । त्यसैले वायुमण्डलमा भएको अक्सिजनबिना पनि बारुद बल्छ ।
हवाई पटाका पड्काएर आकाशमा छोड्दा एकछिनमा जताततै उज्यालो प्रकाश छरिन्छ । यसरी पटाकामा उज्यालो अर्थात् प्रकाश राख्न विशेष प्रकारको रसायन प्रयोग गरिन्छ । यसका लागि प्रयोग गरिने रसायन अनुसार यसको रंग पनि फरक–फरक हुन्छ ।
पटाकामा हरियो रंग निकाल्न बेरियम नाइट्रेट प्रयोग गरिन्छ । बेरियम नाइट्रेटलाई अनकार्बनिक रसायन पनि भनिन्छ । यसले विस्फोटक पदार्थका रूपमा समेत काम गर्छ । बारुदसँग मिसाउँदा यसको रंग परिवर्तन भएर हरियो रंग बन्छ । धेरैजसो आतिसबाजीका लागि यसैको प्रयोग गरिन्छ ।
पटाकामा रातो रंग निकाल्न सिजियम नाइट्रेट प्रयोग गरिन्छ । यो रसायनलाई बारुदसँग मिसाउँदा यो रातो रंगमा परिणत हुन्छ । त्यसैगरी पहेलो रंगका लागि सोडियम नाइट्रेट प्रयोग गरिन्छ । नेपालमा विशेष गरी भारतमा बनेका पटाका आउँछन् ।
भारतमा पटाका बनाउने धेरै कारखाना छन् । ती कारखानाले सरकारले दिएको निर्देशनअनुरूप पटाका निर्माण गर्छन् । निर्देशनअनुसार जहाँ पटाका बनाइन्छ, त्यहाँ विद्युत्को सुविधा उपलब्ध गराइँदैन । विद्युत् उपलब्ध भयो भने सर्ट सर्किट भै आगलागी हुने डर हुन्छ । पटाका बनाउने कारखानादेखि केही दूरीसम्म मात्र बिद्युत सेवा उपलब्ध गराइन्छ ।
दुवैतर्फ खुला टहरोमा बनाइन्छ
पटाका बनाउन दुवैतर्फ खुला भएको टहरो निर्माण गरिन्छ । पटाका बनाउने स्थानमा प्रशस्तै उज्यालो होस् भन्ने उद्देश्यले यस प्रकारको टहरा बनाइन्छ । विद्युत् सुविधा उपलब्ध नहुने हुँदा उज्यालो नहुने भएकाले यस प्रकारको व्यवस्था गरिएको हो । कुनै प्रकारले दुर्घटना भयो भने पनि तुरुन्तै भित्रका मानिसलाई बाहिर निकाल्न सकिन्छ भन्ने उद्देश्यले पनि यस प्रकारका टहरा निर्माण गरिन्छ ।
विभिन्न चरणमा निर्माण
पटाका बनाउन विभिन्न चरण पार गर्नुपर्छ । एकै पटक धेरै बनाउँदा कुनै कारणले दुर्घटना भयो भने ठूलो नोक्सानी हुन्छ । त्यसैले सकेसम्म कम नोक्सान होस् भन्ने उद्देश्यले यसरी धेरै चरणमा यसको निर्माण गरिन्छ ।
शिवकाशीमा धेरै बन्छन् पटाका
धेरैजसो पटाका भारतको शिवकाशीमा निर्माण गरिन्छ । त्यहाँ यसका धेरै कारखाना छन् । यसको पनि खास कारण छ । पटाका बनाउन सुख्खा मौसम चाहिन्छ ।
शिवकाशीको मौसम भारतका अन्य स्थान भन्दा फरक छ । त्यहाँ तिहारभन्दा पहिले खासै पानी पर्दैन । अन्य स्थानमा पानी पर्दा पनि यहाँ सुख्खा नै हुन्छ र त्यही वातावरणमा यहाँ पटाका तयार पारिन्छ । तिहारको समयमा उत्तर पुर्वी मौसम शिवकाशी पुग्छ । यति बेलासम्म यहाँ निर्माण भएका पटाका देशका अन्य भागमा पुर्याइसकिएको हुन्छ ।
दुई प्रकारका पटाका
पटाका साउन्ड क्र्याकर र एरियल क्र्याकर गरी दुई प्रकारका हुन्छन् । धमाकेदार आवाज आउने पटाकालाई साउन्ड क्र्याकर भनिन्छ । आवाज आउने पटाका निर्माण गर्न पोटासियम नाइट्रेट, एलुमिनियम पाउडर तथा सल्फर प्रयोग गरिन्छ । त्यसबाहेक पटाकाका लागि कागजका साथै अन्य सामग्री समेत प्रयोग गर्नुपर्छ ।
माथि हावामा गएर पड्किने पटाकालाई एरियल क्र्याकर भनिन्छ । रकेट तथा अन्य विभिन्न प्रकारका स्काई सटलाई एरियल क्र्याकर भन्न सकिन्छ । यसमा गन पाउडर राखिन्छ । यही पाउडरका कारण पटाकामा झड्का लाग्छ र त्यो हावामा उड्छ ।
रकेट तथा स्काई सटमा गन पाउडरको मात्रा यसको आकारका आधारमा तय गरिन्छ । रकेटमा त्यसको लम्बाइका आधारमा गन पाउडर राखिन्छ । ६ इन्चको रकेटका लागि २ ग्रामसम्म गन पाउडर आवश्यक हुन्छ । २ ग्राम गन पाउडरलाई बारुदमा मिसाएर राखिन्छ । उक्त मिश्रणलाई ठोस बनाएर रकेटमा भरिन्छ । यसमा एउटा सुतली राखिन्छ, जसमा आगो लगाएर सल्काउन सकिन्छ ।
बारुदमा मिसाइएको गन पाउडरमा आगोले भेट्नेबित्तिकै रकेटमा झट्का लाग्छ र त्यसपछि त्यो हावामा उड्छ । पटाकाको धूवाँमा लगभग ७५ प्रतिशत पोटासियम नाइट्रेट, १० प्रतिशत सल्फर तथा १५ प्रतिशतसम्म कार्बन हुन्छ । यसमा कपर, जिंक नाइट्रेट, नाइट्रेट, म्याग्नेसियम, सोडियम, चारकोल, सल्फर, आल्मुनियम परकोलेट, बेरियम नाइट्रेटजस्ता रसायन पनि प्रयोग गरिन्छ ।