डाक्टर जयराज आचार्य, कुटनीतिज्ञ
डाक्टर जयराज आचार्य संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्वप्रतिनिधि हुन् । आचार्यले मेरो डायरी, यदुनाथ खनाल : जीवनी र विचार, भाषा विज्ञानको सैद्धान्तिक विमर्श, Bhanubhakta's Life & Selected Poems, A Descriptive Grammer of Nepali And An Analyzed Corpus आदि पुस्तक प्रकाशित गरेका छन् । बीपी कोइरालाको उपन्यास मोदीआइनलाई अंग्रेजीमा अनुवाद गरेका आचार्यसँगको कुराकानी :
तपाईंले भर्खरै कुन पुस्तक पढ्नुभयो ?
गणेशमान सिंहको मेरा कथाका पानाहरू पढेर सकें ।यो पुस्तक तीन खण्डमा प्रकाशित छ । मैले यसअघि पहिलो र दोस्रो खण्ड पढिसकेको थिएँ । अहिले तेस्रो खण्ड पूरा गरें । गणेशमानले २००७ सालको क्रान्तिका सम्बन्धमा पत्रकार माथवरसिंहलाई लौहपुरुष सिंहले बताएका कुराहरू यसमा समावेश छन् । त्यस्तै मालिका केशरीको पुनरुत्थान उपन्यास पनि हालसालै पढेर सकें । सशस्त्र द्वन्द्वमा माओवादी र सेना दुवै पक्षले गरेको ज्यादतिसम्बन्धी यो पुस्तक एकदम मन पर्यो ।
यतिबेला कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
म यतिबेला पढ्नभन्दा लेख्नमा व्यस्त छु । हिमवत्खण्डलाई संस्कृतबाट अंग्रेजीमा अनुवाद गर्दैछु । यो नेपालमाथि लेखिएको पुराण हो । यो पुस्तक योगी नरहरिनाथले २०१२ सालमा सम्पादन गरेर प्रकाशनमा ल्याउनुभएको थियो ।
दोहोर्याएर पढेको पुस्तक ?
रामायण तथा भूपी शेरचनको घुम्ने मेचमाथी अन्धो मान्छे । रामायण सबैभन्दा उत्कृष्ट साहित्य हो । भूपीको कविता–संग्रहले नेपाली समाजको यथार्थ स्थितिको चित्रण गर्छ ।
कस्ता पुस्तक पढ्न रुचाउनुहुन्छ?
जीवनका उत्कृष्ट पक्षहरूका बारेमा लेखिएका पुस्तक ।
पढेकामध्ये सबैभन्दा मन परेको पुस्तक ?
बीपी कोइरालाका दुईवटा उपन्यास नरेन्द्र दाइ र मोदीआइन मैले बीपीका सबै पुस्तक पढें तर यी दुई कृतिले मलाई एकदमै छोए । बीपी सरल भाषामा जटिल विचार व्यक्त गर्ने ताकत राख्छन् । धेरै मन परेपछि मैले मोदीआइन लाई अंग्रेजीमा अनुवाद पनि गरें ।
कूटनीतिज्ञ यदुनाथ खनाल र नेता बीपी कोइलारासँग संगत गर्नुभयो । यदि उहाहरूसँग संगत गर्न नपाएको भए के बन्नुहुन्थ्यो ?
मैले यदुनाथ खनालसँग ३५ वर्ष र बीपी कोइरालासँग चार वर्ष संगत गरें । यी दुवै मेरो जीवनमा ठूलो प्रभाव पार्ने व्यक्ति हुन् । दुवैजना तर्कमा माहिर थिए । मैले दुवै जनाबाट धेरै कुरा सिकें । म यी दुवैजनाको जस्तो लेख्न त सक्दिनँ । यदि उहाँहरूलाई नभेटेको भए म एउटा शिक्षक मात्र हुन्थें ।
तपाईंका प्रिय लेखक को हुन् ?
बीपी कोइराला, भूपि शेरचन, महाकवि देवकोटा, लेखनाथ पौड्याल अनि हरिभक्त कटुवाल ।
कुन समयमा लेख्न–पढ्न रुचाउनुहुन्छ ?
दिउँसो वा एक्लो भएका बेला ।
पुस्तकमा कति खर्च गर्नुहुन्छ ?
मासिक ३ हजार रुपैयाँ ।
तपाईंसँग अहिले कति रुपैयाँबराबरका पुस्तक होलान् ?
मसँग झन्डै डेढ करोड रुपैयाँबराबरका १० हजारजति पुस्तक छन् ।
लेखक बन्न के आवश्यक हुन्छ ?
एकदम धेरै पढ्नु आवश्यक छ । आफूभन्दा बढी पढेको व्यक्तिसँग संगतएवं संवाद गर्नु पनि उत्तिकै आवश्यकछ । चिन्तन–मनन पनि निरन्तर गरिरहनुपर्छ ।
सबैले पढ्नैपर्ने पुस्तक ?
रामायण, महाभारत अनि श्रीमद्भागवत् पुराण । यी पुस्तक पढेपछि वा यिनको दर्शन बुझेपछि मानिसको सोच–विचार नै परिवर्तन हुन्छ । एकपटक शिवपुरी बाबाले भनेका थिए—यी तीन पुस्तक पढेपछि अरू कुनै पुस्तक पढिरहनु पर्दैन ।