साप्ताहिक संवाददाता
बागेश्वरी संगीतालय बुटवलले नृत्यमा उत्कृष्ट प्रतिभा खोजी गर्ने भएको छ । ‘अल नेपाल डान्स च्याम्पियन सिप’ मार्फत संगीतालयले नृत्य प्रतिभा खोज्न लागेको हो ।
यतिबेला मोफसलका बिभिन्न शहरमा पहिलो चरणको अडिसन भइरहेको छ । राजधानी यहि मंसिर २ गते नेपाल सांस्कृति संघ कालिकास्थानमा अडिसन हुने संगीतालयका संस्थापक प्रिन्सिपल सुरेस सेन्चुरीले जानकारी दिए ।
जुनियर र सिनियर दुई ब्याचमा एकसाथ आयोजना हुन लागेको प्रतियोगीताको जुनियर अडिसनमा १४ वर्ष मुनिका र सिनियर तर्फ १५ देखि ३५ बर्षसम्मका महिला तथा पुरुषले सहभागीता जनाउन सक्ने प्रतियोगीताको क्रियटिभ कार्यक्रम निर्देशक यम पुनले जानकारी दिए ।
प्रतियोगीताको निर्णायकका रुपमा बलिउड कलाकार बिजु पार्कि, हेमन्त गोर्खा र बिकाश चञ्चल र नेपाली कोरियोग्राफर जीवन मिश्र र मुकेश गुरुङ रहेका छन् । पहिलो अडिसनबाट छानिएका प्रतियोगीलाई १५ दिने बिभिन्न प्रशिक्षणमा सहभागीता गराइने छ । प्रशिक्षणकै क्रममा उत्कृष्ट १० समेत चयन हुन आयोजकको भनाई रहेको छ ।
आगामी पुस १ गते बुटवलमै अन्तिम प्रतिस्पर्धा हुने प्रतियोगीतामा उत्कृष्ट ५, ३ हुँदै बिजेता घोषणा गरिने छ । प्रतियोगीताको जुनियर तर्फको बिजेताले दुई लाख रुपैंयाँ नगदका साथमा मुम्बईको टेरेन्स लुइसको एकेडिमिमा एक महिना र सिनियर तर्फका बिजेताले दुई लाख रुपैंयाँ नगदका साथमा ३ महिना अध्ययनका लागी छात्रबृत्तिका साथमा बिभिन्न गिफ्ट जित्न सक्नेछन् ।
कुनै पनि भोटिङ अवसर नभएको र प्रतिभाको आधारमा विजेता छानिने दाबी गरिएको प्रतियोगीताको फाइनलमा बिश्व प्रसिद्ध कोरियोग्राफर तथा डान्स इन्डिया डान्सका डान्स माष्टर टेरेन्स लुइसले जजको भुमिका निर्बाह गर्नेछन् । प्रतियोगीतामा मिडिया पार्टनर एभिन्युज टेलिभिजन रहेको छ ।