साप्ताहिक संवाददाता
तत्कालीन गोर्खाली सेनाले अंग्रेजलाई परास्त गरेको सम्झनामा ऐतिहासिक सिन्धुलीगढीसम्म मंगलबारदेखि साइकल यात्रा हुने भएको छ । साइकल यात्रामा ७० जना ब्यवसायिक साइकल यात्री सहभागी हुनेछन् ।
समृद्ध सिन्धुली नागरिक अभियानले स्टोरी साइकलसंगको सहकार्यमा काठमाडौंबाट साइकल यात्रा गर्ने भएको हो । ‘राइड टु सिन्धुली गढी’ नाम दिइएको साइकल यात्रा कात्तिक २३ र २४ गते काठमाडौं–धुलिखेल हुँदै जाने रमणीय वीपी राजमार्गमा हुनेछ । सिन्धुलीगढी वीर गोर्खालीले तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको ऐतिहासिक स्थल हो । त्यहाँ हरेक बर्षको कात्तिक २४ गते तत्कालीन गोर्खाली सेनाले विजय हासिल गरेको सम्झनामा विजयोत्सव मनाउने गरिन्छ ।
आगामी बर्ष सिन्धुलीगढीमा गोर्खाली सेनाले अंग्रेज फौजलाई हराएको २ सय ५० बर्ष पुग्दैछ । समृद्ध सिन्धुली नागरिक अभियानले यस उत्सवलाई बर्षैभरि विशेष कार्यक्रमहरु गरेर मनाउने योजना बनाएको छ । साइकल यात्रा त्यसैको सुरुआत भएको कार्यक्रम संयोजक सौरभ ढकालले बताए । ‘साइकल यात्राको माध्यमबाट सिन्धुलीगढीलाई विश्वसामु परिचित गराउने हाम्रो उद्देश्य हो’, संयोजक ढकालले भने, ‘यस्तो साइकलयात्रा हरेक बर्ष गर्ने हाम्रो योजना छ ।’
‘राइड टु सिन्धुलीगढी’ लाई ब्रान्डिङ गरेर हरेक बर्ष ब्यवसायिक साइकलयात्रीलाई यस यात्रामा सहभागी गराउने समृद्ध सिन्धुली नागरिक अभियानले प्रयत्न गर्ने उत्सवको मिडिया संयोजक लीलानाथ घिमिरेले बताए । ‘सिन्धुलीगढी ऐतिहासिक स्थल हुँदै हो, जापान सरकारको सहयोगमा निर्मित रमणीय वीपी राजमार्गले यस ऐतिहासिक स्थलसम्म पुग्न सहज बनाएको छ’, घिमिरेले भने, ‘यस रमणीय सडकको अबलोकन गर्दै पुगिने सिन्धुलीगढीसम्मको यात्राले साइकल यात्रीलाई छुट्टै रोमाञ्चक अनुभूति दिने हामीले विश्वास लिएका छौं ।’
यस साइकल यात्रामा नेपाल पर्यटन बोर्डले सघाउने भएको छ । स्थानीय रुपमा सिन्धुलीगढी संरक्षण समितिले कार्यक्रमको प्रबन्ध मिलाउने आयोजकले जनाएको छ । ‘राइड टु सिन्धुलीगढी’ मा यात्रा गर्न ७० जना साइकल यात्रीले नाम लेखाएका छन् । साइकल यात्राको नेतृत्व प्रसिद्ध विश्व साइकल यात्री पुस्कर शाह र देवेन्द्र बस्नेतले गर्नेछन् । काठमाडौंबाट झण्डै १ सय ३५ किलोमिटर यात्रा साइकल यात्रीले तय गर्ने छन् । उनीहरुलाई पहिलो दिन सिन्धुलीको खुर्कोटमा बसेर भोलिपल्ट विहान विजयोत्सवमा सहभागि हुन सिन्धुलीगढी पुग्ने छन् ।
सिन्धुलीगढीमा कात्तिक २४ गते नेपाल पत्रकार महासंघ सिन्धुली शाखा र जिल्ला विकास समिति सिन्धुलीले विशेष कार्यक्रमको आयोजना गर्दै आएका छन् । कमलामाइ नगरपालिकाले सिन्धुलीमाढी देखि गढीसम्म म्याराथन दौड समेत आयोजना गर्ने भएको छ ।