साप्ताहिक संवाददाता
स्वर्गिय गायक खेमराज गुरुङको स्मृतीमा आयोजित 'खेमराज स्मृती साँझ' मा दर्शकहरुको ओइरो लागेको छ । तुम्लिङटार सांस्कृतिक मञ्चलगायतका संघसंस्थाले खेमराजको स्मृतीमा राष्ट्रिय कलाकार ल्याएर गुरुङको सम्झनामा कार्यक्रम आयोजना गरेको हो ।
संखुवासभाको मनकामना मन्दिरमा बुधबार राति खेमराज स्मृती साँझ आयोजना गरिएको छ । गुरुङको चर्चित गीत ‘वारीजमुना पारिजमुना’ ले पछिल्लो समय सो मन्दिरलाई चिनाएको आयोजकले बताए । उनको स्मृतीमा गायक नवीन खड्का, एपी शेर्पा, कुमार बिवाहित र गायिकाहरु रिमा गुरुङ, पुस्तका खड्का, आस्था राउत लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए ।
सो कार्यक्रममा स्थानीय गायक उमङ लामा, सुरेन्द्र पुलामी, वीरबहादुर लिम्बु, अपन श्रेष्ठ लगायतले पनि खेमराजका गीतहरु गाएर सुनाएका थिए । खेमराज स्मृती साँझमा श्रोताहरु भाबुक बनेका देखिन्थे । हरिबोधनी एकादशीको दिन लाग्ने मेलाको अवसरमा हरेक वर्ष गुरुङको स्मृतिमा कार्यक्रम आयोजना गरिने आयोजकहरुले बताएका छन् । गायक गुरुङको गत भदौ ९ मा उपचारको क्रममा निधन भएको थियो ।