एक साताभित्र आफ्नो जीवनमा आएको उतार–चढावपछि अहिले कस्तो अनुभव गरिरहनुभएको छ?
मलाई त सपनाजस्तो लागिरहेको छ। यी भैरहेका घटनाक्रमप्रति विश्वास गर्नै गाह्रो परिरहेको छ।
फेसबुकमा आफ्ना दुई सुन्दर तस्बिर पोस्ट भएको कति दिनपछि थाहा पाउनुभयो?
मैले तीन दिनपछि मात्र थाहा पाएँ। घ्याल्चोकको एक जना साथीले फेसबुकबाट म्यासेज पठाउँदै मलाई ती फोटोका बारेमा जानकारी गराइन्। सुरुमा त उनको कुरामा विश्वास लागेन। उनले ‘यो फोटो तिम्रो जस्तो छ भनेर’ मलाई त्यसको लिंक इनबक्स गरिदिएपछि मात्र मैले थाहा पाएँ।
आफ्नै तस्बिर सोसल साइटमा भाइरल भैरहेको देखेपछि कस्तो लाग्यो?
मलाई विश्वास नै लागेन। त्यो फोटो कहिले खिचिएको हो भन्ने कुरा सम्झिएँ। त्यसपछि मात्र मलाई त्यो फोटो खिचिएको दिन याद आयो।
ती दुई तस्बिर खिचेका बेलाको के कुरा सम्झना छ?
म त्यो दिन घरबाट बिहान करिब ८ बजेतिर निस्किएकी थिएँ। तरकारी बोक्ने भ्यानमा बसेर त्रिशूली नदीको किनारसम्म आएपछि क्रेटको गोलभेँडा ओसार्न थालेकी थिएँ। ती तस्बिर बिहान करिब ९ बजेतिर खिचिएको हुनुपर्छ। मेरो त्यो चौथो खेप हो जस्तो लाग्छ, तर ठ्याक्कै सम्झना भएन।
भाइरल भएको दोस्रो तस्बिरमा तपाईं फोनमा कसैसँग कुराकानी गर्दै हुनुहुन्छ, कोसँग कुरा गर्नुभएको?
साथीसँग कुरा गर्दै थिएँ। तिहार आउन लागेकाले तिहारकै बारेमा कुराकानी गर्दै थिएँ।
त्यति अगाडिबाट आफ्नो तस्बिर खिच्दा पनि थाहा पाउनुभएन त?
त्यो पुलमा पहिले पनि धेरै जनाले मेरो फोटो खिच्नुभएको थियो। त्यस्तै होला भनेर फोटो खिच्नेतिर ध्यान नै जाँदैन। त्यो दिन पनि मैले थाहा पाइनँ भनौं कि वास्ता गरिनँ, तर मेरा ती दुईवटा तस्बिरले प्रसार–प्रसार पाएपछि यस्तो होला भन्ने त सोच्दै सोचिनँ।
आफ्ना तस्बिर भाइरल भएपछि डर लागेन?
सुरुमा त डर लागेको थियो।
डरचाहिं किन लागेको नि?
नेपालमा अहिलेसम्म कसैको फोटो पनि त्यसरी आएको थिएन भन्ने सुनें, मेरै फोटो त्यसरी सार्वजनिक भएपछि मलाई डर लागेको हो।
तस्बिर भाइरल हुन थालेको कसरी थाहा पाउनुभयो?
मेरो फेसबुकमा आएका म्यासेज, मोबाइलमा तारन्तार फोन आउन थालेपछि फोटो भाइरल भएछ जस्तो लाग्यो।
अहिले सम्झँदा त्यो तस्बिर रूपचन्द्र महर्जनले किन खिचेको होला जस्तो लाग्छ?
कलेज पढ्ने केटीले पनि त्यसरी तरकारी बोक्छिन् भनेर देखाउन, मेरै उमेरका केटीहरूमा उत्साह जगाउन खिचिएको होला जस्तो लागेको थियो।
तस्बिरमा देखिएको हरियो रंगको कुर्ता–सलवार कहिले किनेको?
त्यो रेडमेड किनेको होइन, सिलाएको हो। धेरै भएको छैन। मैले फिस्लिङ बजारमै सिलाएकी हुँ। त्यो पहिरन गएको तीजताका तयार भएको थियो। मेरो बेस्ट कलर नै हरियो भएकाले म प्राय: हरियै रंगका पहिरन लगाउँछु।
फेसबुकमा नयाँ एकाउन्ट बनाउनुभएछ नि?
पुरानो एकाउन्टमा थामिनसक्नु म्यासेज आउन थालेपछि त्यसलाई डिएक्टिभ गरेर नयाँ एकाउन्ट खोलेकी हुँ। मोबाइल त प्राय: स्विच अफ नै राख्छु। देश–विदेशबाट फोन आएर हैरान भएकी छु।
म्यासेज र फोन गर्नेहरूले के भन्छन्?
अधिकांशले बधाई दिन्छन्। घर कहाँ हो, कति कक्षामा पढ्छ्यौ, घरमा को–को छन् जस्ता प्रश्न धेरै सोध्छन्।
अलिकति प्रसंग बदलौं, सानो छँदा तपाईं कस्ती हुनुहुन्थ्यो?
म सानैदेखि सोझी थिएँ, सहयोगी भावनाकी थिएँ। कसैसँग झगडा नगर्ने, ठूलो स्वरले नबोल्ने स्वभावकी थिएँ। अहिले पनि म त्यस्तै छु। घरकी एक्ली छोरी भए पनि बुवा–आमालाई काममा सघाउन रुचाउँछु।
स्कुलमा चाहिं कस्ती विद्यार्थी हुनुहुन्छ?
म औसत विद्यार्थी हुँ। घरको काम गर्दै पढ्नुपर्ने भएकाले पढाइमा तेजचाहिं छैन।
एसएलसी कस्तो भयो?
परीक्षा राम्रै भएको थियो, सी प्लस ग्रेड आएछ।
एसएलसीपछि के पढ्ने विचार थियो, अहिले के पढ्दै हुनुहुन्छ?
नर्सिङ पढ्ने अनि नर्स बनेर बिरामीको सेवा गर्ने ठूलो चाहना हिजो पनि थियो, आज पनि छ, तर आर्थिक अभावका कारण बुवाले मलाई नर्सिङ पढाउन नसक्ने बताउनुभयो। त्यही भएर म अहिले चितवनमा व्यवस्थापन विषयमा कक्षा ११ मा अध्ययनरत छु।
नर्सिङ पढ्ने रहर कहिलेदेखिको हो नि?
धेरै भयो। सानैदेखिको रहर भने पनि हुन्छ। एसएलसीपछि नर्सिङ नर्सिङ पढ्न बुवासँग आग्रह पनि गरेकी हुँ तर सामान्य कृषकले छोरीलाई नर्सिङ पढाउन सक्दैनन् भन्ने कुरा बुझेर व्यवस्थापन विषयमा भर्ना भएकी हुँ। कात्तिक २२ गतेदेखि कलेज खुल्यो। म अब अध्ययनलाई नै निरन्तरता दिन्छु।
अझै पनि नर्सिङ पढ्ने इच्छा छ?
छ नि...अहिले मलाई विभिन्न चलचित्र, म्युजिक भिडियो तथा विज्ञापनमा खेलाउने प्रस्तावहरू आइरहेका छन्। ती त क्षणिक कुरा हुन्। कुनै नर्सिङ कलेजले छात्रवृत्ति दिएर नर्सिङ पढाइदिए मेरा लागि त्योभन्दा ठूलो कुरा अरू केही हुने थिएन।
पछिल्लो घटनाक्रमपछि आफू अध्ययनरत कलेजबाट चाहिँ कस्तो प्रतिक्रिया आएको छ?
दसैंदेखि बिदा भएको कलेज छठपछि मात्र खुल्दैछ। त्यसैले अहिले (गत शनिबार) सम्म मैले कलेजबाट कुनै प्रतिक्रिया पाएकी छैन, तर कलेजमा सँगै पढ्ने साथीहरूले भने बधाई अनि शुभकामना दिइरहेका छन्।
अब के गर्ने योजना छ त?
म त अध्ययनलाई नै निरन्तरता दिने योजनामा छु। त्यसबाहेक मैले कुनै पनि योजना बनाएकी छैन।
फेरि प्रसंग बद्लौं, चलचित्रबाट प्रस्ताव आएको रहेछ नि?
मलाई निर्देशक गोपालचन्द्र लामिछानेले चलचित्र ‘लम्फू’ का लागि प्रस्ताव गर्नुभएको छ। कुराकानी गर्न घरमै आउने भन्नुभएको छ। हामीले घर–परिवारमा सल्लाह गरेर मात्र जवाफ दिन्छौं भनेका छौं। गायक प्रमोद खरेलको म्युजिक भिडियोका लागि पनि प्रस्ताव आएको छ, तर हामीले अहिले नै निर्णय गरिसकेका छैनौं।
त्यसो भए त्यस्ता प्रस्ताव अस्वीकार गर्ने?
हैन, अस्वीकार गर्छु भनेको होइन। अवसर आयो भने काम गर्ने रहर त छँदैछ, तर मैले भने नि म पढाइ छाड्न सक्दिनँ।
अध्ययनसहित काठमाडौं बस्ने अवसर पाइयो भने अभिनयमा पनि आउने सम्भावना छ?
अभिनयका लागि मैले प्रशिक्षण लिनुपर्छ। त्यो चितवन अथवा गाउँमा बसेर सम्भव छैन। यदि मैले काठमाडौंमा बसेर अध्ययन गर्ने मौका पाएँ भने अभिनयको प्रशिक्षणपछि मात्र चलचित्रमा काम गर्छु तर त्यसका लागि समय लाग्नेछ।
चलचित्र हेर्न कत्तिको रुचाउनुहुन्छ?
खासै हेर्दिनँ। कहिलेकाहीं मात्र हेर्छु। म चलचित्रभन्दा पनि सिरियल बढी हेर्छु।
कुन सिरियल हेर्नुभएको छ?
जीटिभीबाट आउने ‘कुमकुम भाग्य’ हेर्न थालेको धेरै भयो। उक्त सिरियलकी नायिका प्रज्ञा मलाई असाध्यै मन पर्छिन्। उनको सोझोपन, बानी–बेहोरा मलाई आफ्नै जस्तो लाग्छ।
कुमकुम भाग्यबाहेक अरू कुन–कुन सिरियल हेर्नुभएको छ?
म धेरैवटा सिरियल हेर्छु। स्वरागिनी, कालाटीका आदि सिरियल हेरिरहेकी छु।
पछिल्लो पटक हेरेको चलचित्र?
मलाई सम्झना छैन। मैले सिनेमा हलमा गएर चलचित्र नहरेको धेरै भयो।
मन पर्ने अभिनेता–अभिनेत्री?
अभिनेतामा आर्यन सिग्देल अनि अभिनेत्रीमा रेखा थापा।
गीत कत्तिको सुन्नुहुन्छ?
प्राय: मोबाइलमा गीत नै सुनिरहेकी हुन्छु। मलाई आधुनिक गीत मन पर्छ।
मन पर्ने गायक र गीत?
प्रमोद खरेलको स्वर मन पर्छ। ‘ए झुमा झुम्कावाली...’ मलाई मन पर्ने गीत हो।
भविष्यमा आर्यन सिग्देलको नायिका बन्ने प्रस्ताव आयो भने?
त्यस्तो पनि होला र?
नहुने कुरा के छ र?
मलाई त हुनसक्छ जस्तो लाग्दैन।
फुर्सदमा के गर्न रुचाउनुहुन्छ?
प्राय: फुर्सद नै हुँदैन, फुर्सद भएका बेला म फेसबुक चलाउँछु।
खाना बनाउन आउँछ?
आउँछ, मैले पकाएको काउलीको तरकारी असाध्यै मीठो हुन्छ। म गोलभेंडाको अचार पनि बनाइरहन्छु।
मन पर्ने खाना?
कुखुराको मासुका परिकार मन पर्छ।
तपाईंको तस्बिर भाइरल भएपछि तपाईंका बुवा–आमाको भनाइ के छ?
पहिले त डराउनुभएको थियो, तर अहिले राम्रै हुन्छ होला भन्दै हुनुहुन्छ।
कलेजमा साथी कति छन्?
साथी त धेरै छन्, तर मिल्ने साथी आठ–दस जना मात्र छन्।
तरकारीवाली भनेर सम्बोधन गरिँदा कस्तो लागेको छ?
खासै नराम्रो लागेको छैन, किनभने हामी किसानलाई तरकारीवाली भनिनु खासै नराम्रो पनि त होइन।
कुन कुराले दु:खी बनाउँछ?
नराम्रो खबर सुन्न पर्यो भने दु:ख लाग्छ।
सबैभन्दा खुसीको क्षण?
एसएलसी उत्तीर्ण भएको दिन।
छरछिमेकमा मानिसहरू के भन्छन्?
अहिले जे–जस्तो भए पनि पढ्न छाड्नु हुँदैन भन्छन्।
कसैले आफ्ना लागि केही गरिदेओस् भन्ने कुनै चाहना छ?
कसैले नर्सिङ पढाउने अफर गरिदिए हुन्थ्यो जस्तो लाग्छ। कसैले काठमाडौंमा नर्सिङ पढाइदिए मेरो जीवन धन्य हुने थियो। छात्रवृत्ति नै पाएँ भने त अझ राम्रो हुन्थ्यो।
कुनै नर्सिङ कलेजले ब्रान्ड एम्बेसडर बनाउने प्रस्ताव राख्यो भने?
यदि त्यस्तो भयो भने त्यो दिन म जत्तिको खुसी अरू कोही हुने थिएन।
आफू कत्तिको राम्री छु जस्तो लाग्छ?
ठीकठीकै छु जस्तो लाग्छ।
आफ्नो शरीरका अंगमध्ये कुन अंग मन पर्छ?
लामो केश मन पर्छ।
केश बनाउन अहिलेसम्म ब्युटिपार्लर जानुभएको छ कि?
अहिलेसम्म गएकी छैन। म आफ्नो केश आफैं काट्छु। साप्ताहिकको फोटोसेसनका क्रममा मैले पहिलो पटक अरू कसैको हातबाट मेकअप गराएकी हुँ।
कसैले अहिलेसम्म प्रेमप्रस्ताव राखेको छ?
कलेज तथा गाउँतिर प्रेमप्रस्ताव राख्नेहरू धेरै छन् तर मैले अहिलेसम्म त्यसमा ध्यान दिएकी छैन।
त्यस्ता प्रस्ताव अस्वीकार गर्नुपर्ने कारण?
अहिले पढाइमै व्यस्त हुनुपर्ने भएकाले प्रेम गर्ने बेला भएको छैन।
खेलकुदमा रुचि छ भन्नुभयो, के–के खेल्नु हुन्छ?
म दौडमा स्कुल च्याम्पियन थिएँ, भलिबल पनि राम्रै खेल्छु। म अग्ली छु नि त, त्यसैले मलाई गाउँमा हुने भलिबल प्रतियोगितामा खेल्न बोलाइरहन्छन्।