साप्ताहिक संवाददाता
प्रिय गगन थापा ज्यु,
जुन नेतासंग बढी आश गरिएको हुन्छ नि, उही नेतासंग बढी चित्त दुख्छ । आज नेपाली जनताको चित्त दुखेको छ गगनज्यु । तपाईको बोली निकै प्रभावशाली लाग्छ । उत्तिकै प्रभाबकारी पनि लाग्छ । भाषण पनि निकै ठूलो ठूलो दिनुहुन्छ । ताली बजाउन मन लाग्नेगरी । तपाई सरकारमा आएपछि त केके नै हुन्छ भन्ने आशा ह्वात्तै बढ्यो हामीमा । बुढेसकालले छोएका नेताले हुन्, देश बिगारेका । युवा पुस्ताको हातमा देश आएपछि परिवर्तन आउँछ भन्ने विश्वास गर्नेको जमात ठूलै छ यहाँ । त्यो भिड मध्येकी एक म पनि हुँ, गगनज्यु । तर आज सरकारले कांग्रेस नेतृ तथा पुर्ब परराष्ट्रमन्त्री सुजाता कोइरालालाई ५० लाख रुपैंयाँ दिने निर्णयप्रतिको तपाईको प्रतिकृया सुनेर छानाबाट खसेझैं भएँ । म मात्र हैन । म लगायत नेपाली जनताहरु पनि निरास बने । म तपाईका बारेमा छापिने समाचार ध्यान दिएर पढ्ने गर्छु । तपाईंबाट धेरै आशा भएकाले । तपाई स्वास्थ्य मन्त्री बन्नासाथ गर्नुभएका निर्णयहरूका बारेमा छापिएका समाचार सुनेर फुरूंग भएको अनुभव अझै ताजै छ मेरो दिमागमा ।
त्यो बेला म मा निकै आशा जागेको थियो । “गगन थापाले गरे गगन चुम्ने निर्णय” भन्ने शिर्षकको समाचार पढ्दा छाती गर्वले फुलेको थियो । तपाई स्वास्थ्य मन्त्री नियुक्त हुनासाथ राज्यको ढुकुटीबाट दिने जथाभावी उपचार खर्चमा अंकुस लगाउने प्रतिबद्धता गर्नुभयो । सरकारले विशिष्ट योगदान पुर्याएका व्यक्तिलाई उपलब्ध गराउँदै आएको उपचार सहयोगमा “सिलिंन“ तोक्नुभयो १५ लाख नाघ्न नपाउनेगरी ।
चाहेमा जतिपनि र जतिपटक पनि खर्च उपलब्ध गराउन सक्ने व्यवस्थालाई तोड्दै उपचार सहयोग पाउन मन्त्रीपरिषदमा अर्थ मन्त्रालयको स्वीकृतिमा स्वास्थ्य मन्त्रालयले मात्र प्रस्ताव पेस गर्न पाउने व्यवस्थाको पनि प्रस्ताव गर्नुभएको थियो । विशिष्ट व्यक्तिले स्वदेशी सरकारी तथा निजी अस्पतालप्रति अविश्वास गरेर आफूखुसी विदेश गएर उपचार गरेमा सरकारले त्यस्तो खर्च नबेहोर्ने प्रस्ताव समेत गरिएको थियो । यतिखेर सुजाताले गर्न खोज्नुभएको त्यही होइन र ?
गगन जी, यति राम्रा राम्रा निर्णय गर्नसक्ने नेता अहिले त्यही मुखले “मलाई ठगियो” भन्न कसरी सुहाउँछ ? यस्तै हो भने हजूर पनि उही दोषारुपणको खेल खेल्ने अन्य नेताहरूभन्दा फरक कसरी हुनुभयो ? तपाईको निर्णयमाथि दिनदहाडै बलात्कार भएको छ । विरोध गर्नुहोस् । राजिनामा दिनुपरे दिनुहोस् । जनता तपाईको साथमा छन् । तर, पद बचाउन तपाई पनि त्यही दोष लगाउने खेल खेल्नुहुन्छ भने तपाईलाई हामी युवा तिनै बेकामे, कुर्सीको मोहमा बेचिएका नेताहरूमध्येभित्रमा गन्ने छौं ।
मैले अन्धभक्ति गर्न जानेकी छैन । अब जवाफ दिनुहोस्, बहानाबाजी अंगाल्नुहुन्छ की नेपाली जनता ? जनता रोज्नुहुन्छ भने, हाम्रो बोली बोल्नुहुन्छ भने हामी तपाईंका साथमा छौं । कुर्सी रोज्नुहुन्छ भने अरू नेताहरूझैं जनताले सराप्ने एक पात्रका रूपमा मात्र सिमित हुनुहुनेछ ।
म चीनमा “इन्टरनेसनल ल” र चाइनिज भाषा पढ्दैछु । संसारका विभिन्न देशहरूका विद्यार्थीहरु मेरा सहपाठी छन् । पूर्वमन्त्रीलाई उपचार खर्चस्वरूप ५० लाख रुपैंयाँ दिने निर्णयबारे थाहा पाएपछि मेरो एकजना माल्दिभ्सको साथीले सोध्यो, ‘तिम्रो सरकार त त्यत्तिकै गरिव छ, होइन र ?’ ‘पूर्वमन्त्रीलाई पनि त्यत्रो ठूलो सहयोग ?’
मैले जवाफ दिइनँ । बरू उसलाई प्रश्न गरें, “तिम्रो देशमा चाहिं के चलन छ नि ? उसले भन्यो, “विशिष्ट पदका कार्यकारी व्यक्तित्वलाई, पूर्वप्रधानमन्त्री र पूर्वराष्ट्रपतिलाई मात्र यस्तो सहयोग गर्छ सरकारले ।”
मैले ‘ए’ मात्र भन्न सकें ।
अरू के नै भन्न सक्छु र ? म कहिलेसम्म आफ्नो देशका यस्तो व्यबस्थाप्रति लज्जित हुने गगनज्यु ? जे–जस्तो भएपनि यतिबेला मेरो देशको स्वास्थ्य मन्त्री तपाई हो । त्यसैले तपाई यस निर्णयप्रति जवाफदेही हुनुपर्छ । यहाँ चीनका सरकारी अस्पतालहरू देख्छु । कति सुविधासम्पन्न र सस्ता छन् । चीन सरकार हरेक दिन घुसप्रथा र घुसियाहरूका विरुद्ध लडिरहेको छ ।
हामी भने खुलेआम घुसियाहरुको धन बढाइरहेका छौं । त्यो पनि जनताले तिरेको करबाट । कुनैपनि देशले आएर नेपाललाई शृंगारपटार गरिदिदैन । हामीले ठूला मुलुकबाट पाठ सिक्ने र देश आफै बनाउने हो । तपाई एउटा निर्णय गर्न सक्नुहुन्न । हामीले अरु देशबाट यस्ता पाठ कहिले सिक्ने ? र, कहिले देशको मुहार फेर्ने गगनज्यु ?
कर्णालीका जनता एक गास खान नपाएर तड्पिरहेको अबस्था छ । दार्चुला, हुम्ला, मुगु र बाजुराका जनता सिटामोल खान नपाएर मरिरहँदा आज कसैका लागि ५० लाख रुपैंया दिने निर्णय हुँदा हाम्रो राजनैतीक स्वाभिमान के हुन्छ गगनज्यु ? त्यति रकमले त एउटा जिल्लैभरी नि:शुल्क औषधी वितरण गर्न सकिन्छ । मेरो अनुपस्थितीमा यो निर्णय भो भनेर रोदन पोख्नु यो कस्तो राजनैतिक इमानदारिता हो ? तपाईं ठगिएको होइन । तपाईं कुटनैतीक ढंगबाट जनतालाई ठग्दै हुनुहुन्छ । शायद पहिले जस्तो हाइ हाइ गरिएका गगन अब गगन रहेनन् कि ?
आज म लगायत हजारौं नेपाली युवा यो प्रश्न गरिरहेछन् । मलाई लाग्थ्यो, तपाईंको युवा जोश र जाँगरले मुलुक समृद्ध हुन्छ । तर, तपाईं जितेजसो गरेर हारिरहँदा गगन अब गगन रहेनन् भन्ने निश्कर्षतिर पुग्दैछु । उपचार नपाएर मर्नेहरुका निम्ती गगनको आगमन अमृत साबित हुनेछ भन्ने सोचेको थिएँ । तर आज हजुर पनि राजनीतिको गोलचक्करमा नराम्ररी फसेको अनुभव भइरहेको छ ।
तपाईं इमादार र राजनैतिक स्वाभिमान कायम गर्ने नै भए अब राजिनामा दिएर सडकमा र जनताका बिचमा आउन जरुरी छ । तपाईंको प्रतिकृया सुन्दा मलाई दया लाग्यो । तपाईं जस्तो इमन्दार मान्छेले झूट बोलिरहँदा आशा केबल निराशामा बदलिदो रहेछ । हामी आम युवाले तपाईबाट के आशा राख्ने ?
उही,
रुबिना उप्रेती
चीन