साप्ताहिक संवाददाता
एएफसी सोलिडारिटी कपको घोषणा हुँदा नै स्पष्ट थियो, यो नेपालले आँक्न मिल्ने प्रतियोगिता हो । एसियाली फुटबल महासंघ (एएफपी) ले यसको आयोजना नेपालजस्तै फुटबलमा कमजोर टिमलाई ध्यानमा राखेर गर्ने गरेको छ ।
यिनै कमजोर देशहरूबीच अहिले यो प्रतियोगितामा नेपालसामु आफू बलियो छु भन्ने कुरा सिद्ध गर्ने अवसर जुरेको छ । प्रतियोगिताको सेमिफाइनल पुगेर नेपालले यसतर्फ पहिलो पाइला चालेको छ । नेपाल समूह ‘ए’ विजेताका रूपमा अन्तिम चारमा पुगेको हो ।
मलेसियाको कुचिङमा चलिरहेको प्रतियोगिताको नेपालको समूहमा ब्रुनाई र टिमोर लिस्टेसहित तीन टिम थिए । लिग चरणको पहिलो खेलमा ब्रुनाईले टिमोर लिस्टेलाई ४–० ले हराएको थियो । उक्त जितसँगै ब्रुनाईले सेमिफाइनलको यात्रा तय गरेको थियो । यस्तोमा टिमोर लिस्टेको सामना गर्नुअघि नेपालसामु आफ्नो पहिलो खेलकै समाप्तिमा सेमिफाइनल पुग्ने अवसर थियो, तर नेपालले त्यसको फाइदा लिन सकेन । नेपालले निराशाजनक रूपमा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेल्यो ।
यसअघि सन् २०११ मा विश्वकप छनौट खेलमा नेपालले आफ्नै भूमिमा टिमोर लिस्टेलाई पराजित गरेको थियो । त्यति बेला भएका दुई लेगमा नेपालले टिमोर लिस्टेलाई समग्रमा ७–१ को फराकिलो अन्तरले पराजित गरेको थियो, तर कुचिङमा त्यस्तो भएन, त्यहाँ टिमोर लिस्टेसँग बराबरी खेल्न बाध्य नेपाललाई ब्रुनाईको सामना गर्नुअघि दबाबमा राखेको थियो, तर उक्त दबाबबीच भने नेपालले ब्रुनाईलाई ३–० को जित हात पार्न सफल रह्यो । यो जितको अर्थ नेपाल समूह विजेता बन्नु पनि थियो ।
नेपालले सन् २००६ को एएफसी च्यालेन्ज कपअन्तर्गत बंगलादेशको चटगाउँमा भएको खेलमा ब्रुनाईसँग हार बेहोरेको थियो । अहिले त्यही टिममाथि नेपालले प्रभावशाली जित निकालेको छ । यो अर्थमा अहिलेसम्म कुचिङमा नेपालको यात्रा सकारात्मक रहेको छ, तर नेपालका जापानी प्रशिक्षक ग्योटुको कोजु भने पूर्णत: खुसी हुन सकेका छैनन् । कारण ? उनकै भाषामा नेपालले अहिलेसम्म त्यो खेल पस्किन सकेको छैन, जसका लागि टिम सक्षम छ ।
नेपालले बंगलादेशमा भएको बंगबन्धु गोल्डकप र भारतमा भएको दक्षिण एसियाली खेलकुदको फुटबलमा जसरी खेलेको थियो, त्यस्तै संकेत दिने खेल अहिलेसम्म खेल्न सकेको छैन । त्यति मात्र होइन, नेपालले काठमाडौंमा अभ्यासका बेला जस्तो खाले खेल प्रदर्शन गरेको थियो, त्यसको एक अंश पनि टिमले मलेसियामा देखाउन सकेको छैन ।
त्यसैले प्रशिक्षक कोजु के मान्छन् भने नेपालले आफ्नो पूर्ण क्षमतामा खेल्ने हो भने टिमलाई उपाधि जित्नबाट कसैले रोक्न सक्दैन । प्रतियोगिताको सेमिफाइनल भोलि शनिबार हुँदैछ ।