आदरणीय सुजाताज्यू, तपाईं बिरामी पर्नुभएको खबर सुन्दा मन चसक्क भएको थियो । एउटा नेपाली हुनुको नाताले, एउटा नारी हुनुको नाताले र सबैभन्दा महत्वपूर्ण, मानव हुनुको नाताले । किनभने विचारमा जति भिन्नता भएपनि एउटै केन्द्र मानवता हो । तपाईंलाई रोग लाग्यो, त्यो दु:खको कुरा हो । तर तपाईंजस्तो सम्पन्न परिवारकी छोरीले एउटा गरिब देशको सरकारसँग अलिअलि होइन एक करोड रुपैंयाँ नै मागेको देख्दा म छक्क परेकी छु । यस्तो देश जहाँ सामान्य औषधीको अभावमा यहाँ जनता ज्यान गुमाइरहेका छन् । आमाहरू सुत्केरी हुन नसकी मरिरहेका छन् । अलिअलि सक्नेले घरजग्गा बेची उपचार गराइरहेका छन् । नसक्नेले रोग पालेर कालको पर्खाईमा दिन काटिरहेका छन् । मेडिकल माफिया जनताको पैसा लुट्न नयाँनयाँ हतकन्डा अपनाउँदैछ । नेताहरुलाई खोकी लागेपनि राज्यको ढुकुटी लुट्दै अमेरिका, थाईल्याण्ड र सिंगापुर चक्कर लगाइरहेका छन् ।
यस्तो निरसलाग्दो अवस्थामा तपाईं नहिच्किचाइकन एक करोड रुपैंयाँ माग्दा लाग्छ त्यसको पछाडि अरू नै कुनै कारण छ । जनता लुटने कालो षड्यन्त्र हो या अख्तियारको छानविनबाट बच्ने उपाय ? त्यो त तपाईं आफैलाई थाहा होला । तर तपाईसँग उपचार गर्न ५० लाख छैन भन्ने झुठ म पत्याउनेवाला छैन ।
केही दिनअघि एकजना नेपाली नर्सले तपाईंलाई लेखेको पत्र पढ्ने मौका पाएकी थिएँ । सारै घतलाग्दो पत्र । १० महिनाअघि उनलाई पनि तपाईंलाई जस्तै स्तन क्यान्सर भएको रहेछ । धेरैले दिल्ली गएर उपचार गराउन सुझाव दिएपनि उनले नेपालमै उपचार गराउने निधो गरिन् । नेपाल क्यान्सर अस्पतालमा । नेपालमा एउटा नर्सको कमाई कति नै हुन्छ र ? त्यहि पनि अलिअलि गर्दै जोडेको कमाईले उपचार सुरू गरिन् । उनी ६ साइकल किमो पछि निको भइन् । त्यसका लागि खर्च कति लागेछ ? ७, ८ लाख रुपंैयाँ । आफूसँग त्यती रकम पनि छैन चाहि नभन्नुहोला सुजाताज्यु । लाज हामीलाई लाग्नेछ । र, यो पनि सोच्नुहोस्, यदि त्यो उपचारका लागि तपाईंले मागेजस्तो १ करोड रुपैंयाँ लाग्ने भए नर्स तारा पोखरेल त्यो उपचार गराउन सक्थिन् होला त ?
सुजाता ज्यु,
यदि तपाईं हामीले नेपाली अस्पताललाई विश्वास नगरे कसले गर्छ ? तपाईं साँच्चिकै जनताकै नेता हो भने तपाईंले नेपालमै यसको उपचार गर्न सकिन्छ भन्ने उदाहरण बन्नसक्नुपर्छ । तपाईंले अहिले अंगालेकै बाटो अंगाल्ने हैसियत नेपाली जनताको छैन । न हामी तपाईं जस्तो सम्पन्न छौं । न त हामीलाई राज्यले फ्याट्ट ५० लाख रुपैंयाँ सहयोग गर्छ ।
सुजाताज्यु,
जीवन यसरी जिउनुपर्छ कि तपाईंलाई दु:ख पर्दा सँगसँगै रुने आँखाहरु धेरै भैदिउन् । हेर्नुस् त, तपाईालाई क्यान्सर लागेको छ, जनताले दया त मानेका छन् । तर, तपाईंका केही कदमहरुले जनता क्रोधित छ, रिसाएको छ, चित्त दुखाएको छ । राज्यको ढुकुटी फेरी एकपटक लुटिएको देखेर ।
सुजाता ज्यु, तपाईंको त्यो कदमको विरोध गर्ने क्रममा स्त्री अंगलाई अपमान गर्ने, तपाईंको नितान्त व्यक्तिगत पक्षबारे टिप्पणी गर्ने, आफु त्यही अंगको दुध खाएर हुर्किएको बिर्सिनेहरुको विरोध गर्नेछु । फेरि पनि नेपाली, नारी र मानव हुनुको नाताले तपाईंमा म माफ त्यो बेला गर्नेछु, जुनबेला तपाईंले जनताको मागलाई शिरोपर गर्दै राज्यले दिन लागेको ५० लाख रुपंैयाँ अस्वीकार गर्नुहुनेछ । आफ्नै अगाध सम्पत्तिबाट अलिकति खर्च गरेर नेपालमै उपचार गर्नुहोस् । उदाहरण बन्नुहोस् । विदेशै रोज्नुहुन्छ भने पनि आफ्नै सम्पत्ति प्रयोग गरेर जानुहोस् तर जनता धेरै लुटिइसके, अब नलुट्नुहोस् । मेरो यही कामना छ ।
रुबिना उप्रेती
चीन