साप्ताहिक संवाददाता
नेपाल प्रहरीका २९ वर्षीय धावक भूमिराज राई नेपाली खेलकुदकै नयाँ स्टार हुन् । पाँचथरका भूमिराजले म्याराथन दौडिन थालेको चार वर्ष भयो । हालै सम्पन्न काठमाडौं म्याराथनमा पहिलो हुने क्रममा उनले २ घण्टा २० मिनेट ४४ सेकेन्डको नयाँ कीर्तिमानी समय निकाले । राईसँग साप्ताहिकको पाँच प्रश्न ।
म्याराथनमै आकर्षिक हुनुको प्रमुख कारण ?
म यसअघि ५ हजार तथा १० हजार मिटर दौडमा सहभागी हुन्थे । नेपालका लागि सम्भावना भएको खेल भएको हुँदा म म्याराथनतर्फ आकर्षित भएको हुँ । ओलम्पिकमा सहभागी हुन क्वालिफाइङ समय २ घण्टा १९ मिनेट छ । अब म त्यसलाई छुन सक्ने स्थितिमा छु ।
अब कति समयमा म्याराथन पूरा गर्ने लक्ष्य छ ?
विश्वमा एथलेटिक्समा २ घण्टा २० मिनेटमा म्याराथन पूरा गर्नुलाई राम्रो मानिन्छ । मलाई पूरा विश्वास छ, म त्योभन्दा कम समयमा दौड पूरा गर्न सक्छु । अबको दुई वर्षमा केही ठूला नाम चलेका म्याराथनमा सहभागिता जनाउने प्रयास गर्नेछु । बर्लिन, लन्डन तथा सिकागो जस्ता म्याराथनमा राम्रो समय निकाल्ने सम्भावना धेरै हुन्छ, किनभने यी दौड हाइ अल्टिच्युटमा पर्दैनन् । हाम्रो जस्तो हाइ अल्टिच्युटमा २ घण्टा २० मिनेट पनि राम्रो हो ।
पछिल्ला दक्षिण एसियाली खेलकुद (साग) मा म्याराथनमा नेपालका खराब प्रदर्शनको कारण के होला ?
भारतमा सम्पन्न पछिल्लो सागको म्याराथनमा नेपालका तर्फबाट मैले नै सहभागिता जनाएको थिएँ । त्यति बेला म घाइते थिएँ । मेरो प्रदर्शन राम्रो हुन सकेन । नेपाल म्याराथनमा पदकविहीन हुनुपर्यो तर अबको सागमा राम्रो गर्न सक्नेमा म पूर्ण विश्वस्त छु ।
नेपाली भूमिमा अहिलेसम्मकै सबैभन्दा राम्रो समय निकाल्न कति मेहनत गर्नुभयो ?
यसका लागि मैले लगातार कडा अभ्यास गरेको थिएँ । त्यसका लागि दिनमा पाँच–छ घण्टा अभ्यास गर्थें । कुनै दिन त ६०–७० किलोमिटर दौडिएको छु । नेपाली भूमिमा अहिलेसम्मकै सबैभन्दा राम्रो समय निस्कन सक्नुको कारण यही हो ।
सबैभन्दा ठूलो लक्ष्य के हो ?
मेरो सबैभन्दा ठूलो लक्ष्य म्याराथनमा नेपालका लागि राष्ट्रिय कीर्तिमान बनाउनु नै हो । अहिले पनि यो कीर्तिमान आदरणीय अग्रज बैकुण्ठ मानन्धरको नाममा छ, २ घण्टा १५ मिनेट ०३ सेकेन्डको । म यो समयलाई उछिन्न चाहन्छु र त्यसका लागि अहिले पनि कठिन परिश्रम गरिरहेको छुं । मेरो लक्ष्य २ घण्टा १४ मिनेटको हाराहारीको समय छुने हो ।