रविचन्द्र भट्टराई तृष्णा उपन्यासमार्फत लेखकका रूपमा परिचित छन् । यसअघि उनले मास्टर साहेब उपन्यास प्रकाशनमा ल्याएका थिए । भट्टराईका पुस्तक जर्मन भाषामा पनि प्रकाशित छन् । नेपाली डायस्पोराबाट निरन्तर लेखिरहने सर्जकमध्ये भट्टराई पनि एक हुन् । उनका फुट्कर लेख–रचना विभिन्न पत्रपत्रिकामा प्रकाशित भैरहन्छन् ।
तपाईंले भर्खरै कुन पुस्तक पढ्नुभयो ?
परदेशमा भएका कारण नेपालमा प्रकाशन भएका पुस्तक तत्काल हातमा पार्न असम्भव हुन्छ । समयको पनि अभाव हुने भएकाले समय मिलाएर पुस्तक पढ्नुपर्ने हुन्छ । त्यसैले पनि चर्चामा आएका पुस्तक पढ्न म हतार गर्दिनँ । सकस मैले भर्खरैमात्र पढिसकेको कृति हो । निर्दाेष नेपाली जनताको सकस छुटेको भए मैले पछुताउनुपर्ने रहेछ जस्तो लाग्यो ।
पढ्न मन लागेको तर पढ्न नपाएको पुस्तक ?
यो जमानामा पढ्न चाहेर पनि नपाउने भन्ने त कुरा हुँदैन । ध्यानै नगएर हातमा नपरेका पुस्तक धेरै होलान्, तैपनि बिपीको सुम्निमा पढ्छु भनेका पुस्तकहरूको पहिलो पंक्तिमा छ ।
सबैभन्दा दोहोर्याएर पढ्नु भएको पुस्तक ?
कर्नाली ब्लुज । कति पटक दोहोर्याए भनूँ ? अरू पुस्तक छैन मेरो साथमा । समय छ भने यही पुस्तक पढ्न रुचाउँछु । कर्नाली ब्लुज पढ्दा म घरमै बाआमासँग छु जस्तो लाग्छ ।
कस्ता पुस्तक पढ्न रुचाउनुहुन्छ ?
सामाजिक विषयवस्तुमा आधारित पुस्तक, जसले समाजलाई प्रतिनिधित्व गर्छ । त्यसैले म पुस्तक छनौट गर्दा चर्चामा आएका पुस्तकभन्दा समीक्षाहरू पढेर मात्र पुस्तक छनौट गर्छु ।
पढेकामध्ये सबैभन्दा मन परेको पुस्तक?
जीवन काँडा कि फूल । त्यो आत्मजीवनीपरक निबन्धले मेरो मुटु चस्क्याएको थियो । मेरो विचारमा जीवन काँडा कि फूल सृष्टिकै उत्कृष्ट मर्मस्पर्शी एवं सन्देशमूलक कृति हुनुपर्छ । आँखाबाट आँसुका धारा खसाल्ने भएर उत्कृष्ट भनेको होइन, समाजले भोगिरहेका व्यथाहरू यो निबन्धका प्रत्येक हरफले व्यक्त गरेका छन् ।
तपाईंंका प्रिय लेखक को हुन् ?
पहिले जगदीश घिमिरे हुनुहुन्थ्यो । अहिले त्यो ठाउँ धेरै लेखकले लिएका छन् जसमध्ये बुद्धिसागर, नयनराज पाण्डे, अमर न्यौपाने, कृष्ण धरावासी अनि झमक घिमिरे अग्रपंक्तिमा पर्छन् ।
कुन समयमा लेख्न, पढ्न रुचाउनुहुन्छ ?
सबैभन्दा अप्ठ्योरो नै समयको घेराबन्दी हो । काममा जाँदा–आउँदा रेलमा भएको समय मेरो पढ्ने मुख्य समय हो । बिदाको दिन आफूले खोजेको पुस्तक हात परेको बेला पनि दिनभरि नै पढिन्छ ।
पुस्तकमा कति खर्च गर्नुहुन्छ ?
मन परेको पुस्तक पढ्न खर्चले रोकिएको छैन । पुस्तकको कुनै मूल्य हुँदैन ।
तपाईंसँग अहिलेसम्म कति रकम बराबरका पुस्तक छन् ?
मसँग धेरै कम पुस्तक हुन्छन् । म आफूले पढिसकेपछि त्यो पुस्तक साथीभाइलाई दिन्छु । यहाँ हामीले सामूहिक रूपमा पुस्तक संकलन् गरेर राखेका छौं । परदेशमा नेपाली पुस्तकको संकलन गरेर पढ्न प्रोत्साहन गर्ने प्रक्रियामा छौं । मेरा सबै पुस्तक नेप इन्टरटेन्मेन्ट नामको नेपाली साहित्यलगायत अन्य विधाका गतिविधि सञ्चालन गर्ने संस्थासँग छन् ।
लेखक बन्न के–के आवश्यक हुन्छ ?
निरन्तरता दिनुपर्छ । लेखेर मात्र हुँदैन, त्यसलाई पाठकमाझ ल्याउन धैर्य गर्न सक्नुपर्ने रहेछ । मनका कुरा कापीमा लेखिरहने, निरन्तर लेखिरहने बानी बस्यो भने लेखक बन्न सकिन्छ ।
सबैले पढ्नैपर्ने पुस्तक ?
धेरै छन् पढ्नैपर्ने पुस्तक । मानिसको रुचि पनि फरक-फरक हुन्छ । कर्नाली ब्लुज सबैले एक पटक पढ्नैपर्ने पुस्तक हो । अहिले नेपालमा पुस्तक प्रकाशन गर्ने होड नै चलेजस्तो देखिन्छ । यद्यपि बजारमा आएका सबै पुस्तक पढ्नैपर्छ भन्ने छैन ।