राजु सिंह, संगीतकार
विगत २७ वर्षदेखि सुगम संगीत सिर्जनामा सक्रिय नेपाली संगीतकार हुन्— राजु सिंह । भजनदेखि आधुनिक गीतसम्म, चलचित्रदेखि पपगीतसम्म संगीत सिर्जना गरिसकेका काठमाडौंका रैथाने यी संगीतकार अग्रजदेखि कनिष्ठसम्मका संगीतकर्मीमाझ उत्तिकै प्रिय छन् । राजु सिंहको संगीतमा जति मिठास छ, व्यक्तिगत रूपमा समेत उनी उत्तिकै नरम छन् । संगीतकारका रूपमा सक्रिय भएदेखि हालसम्म राजु सिंहले ३१ वटा एकल एल्बम सार्वजनिक गरिसकेका छन् जहाँ दर्जनौं गायक–गायिकाको स्वर समेटिएको छ ।
हरेक विधाका गरी १ हजारभन्दा बढी गीत संगीतबद्ध गरिसकेका संगीतकार सिंहले एक दर्जन चलचित्रमा समेत संगीत दिएका छन् । नेपालका प्राय: सबै गायक–गायिकाका लागि संगीत सिर्जना गरिसकेका राजु सिंहले राष्ट्रकवि माधवप्रसाद घिमिरेदेखि पछिल्लो पुस्ताका गीतकारसँग समेत काम गरिसकेका छन् । उनले संगीतबद्ध गरेका उत्कृष्ट गीतहरूमा गायक जोनको ‘रित्तो सडकमा’, जगदीश समालको ‘काँडा हो माया’, रामकृष्ण ढकालको ‘तिमी जून हौ...’, दीप श्रेष्ठको ‘बादलहरू हो...’ तथा गायिका बिमला राईको ‘कतै नपाई...’ कालजयी मानिन्छन् । साप्ताहिकमार्फत संगीतकार सिंहले आफ्ना सेक्रेट कुरा सार्वजनिक गरेका छन् ।
प्राध्यापन
संगीतकारका रूपमा सक्रिय भएकाले संगीतको प्राध्यापन गराउनु नौलो होइन । मैले लामो समयदेखि विभिन्न शैक्षिक प्रतिष्ठानमा संगीत अध्यापन गराउँदै आएको छु । यसबाहेक म स्ट्याटिस्टिक (तथ्यांक शास्त्र) विषयको प्राध्यापनमा पनि सक्रिय छु । यो कुरा मेरा विद्यार्थीहरूबाहेक आमश्रोतालाई थाहै छैन । करिब डेढ दशकदेखि म संगीतभन्दा धेरै परको यो विषय अध्यापन गराइरहेको छु ।
दाइ र दिदी
सुन्दा अचम्म लाग्न सक्छ, हाम्रो घरमा हामी बुवा तथा आमालाई दाइ तथा दिदी भनेर सम्बोधन गर्छौं । मामाघरमा आमालाई सबैले दिदी भन्ने भएकाले हामीले सानैदेखि उहाँलाई दिदी भनेर सम्बोधन गर्यौं । घरमा काकाहरूले बुवालाई दाइ भन्ने भएकाले हामीले पनि उहाँलाई दाइ नै भन्यौं । मेरी दिदी अर्थात् आमा आज हामीमाझ हुनुहुन्न ।
धूम्रपान र मद्यपान
मैले आजका मितिसम्म धूम्पान र मद्यपान गरेको छैन । सांगीतिक कार्यक्रमका क्रममा जहाँ पुगे पनि मैले आफूलाई यी दुई अम्मलबाट टाढा राख्ने गरेको छु । सांगीतिक क्षेत्रमा धूम्रपान तथा मद्यपान गर्नु सामान्य मानिन्छ, तर मैले आफूलाई यी दुई कुराबाट बचाइराख्न सफल भएको छु ।
मध्यरात
मलाई शान्त वातावरणमा संगीत सिर्जना गर्न मन पर्छ । म आफ्ना हरेक धुनहरू राति १० बजेपछि मात्र कम्पोज गर्छु । कतिपय गीत कम्पोज गर्दागर्दै बिहानको ६ बजिसकेको हुन्छ । मेरो एउटा कमजोरी के छ भने मैले संगीत कम्पोज गर्दा मेरो अगाडि कोही भयो भने म काम गर्नै सक्दिनँ । मैले कम्पोज गर्दा म नितान्त एक्लो हुनुपर्छ ।
फुटबल
म विगतमा फुटबल खेलाडीका रूपमा पनि चिनिन्थें । टोलमा धेरै वर्ष फुटबल खेलेको छु । किशोरावस्थामा फुटबल खेलेकाले होला, म अहिले युरोपमा हुने अधिकांश क्लबस्तरीय फुटबल प्रतियोगिता नछुटाई हेर्छु । मलाई सबै क्लबका सबै खेलाडीको नाम कण्ठस्थ छ । बार्सिलोना तथा रियल म्याड्रिड मलाई मन पर्ने क्लब हुन् ।
कल्याण सिंह
संगीतकार कल्याण सिंह पछिल्ला केही वर्षयता आफ्नो कर्ममा सफल भैरहेको छ । उसले सिर्जना गरेका गीतहरूले श्रोताको मन जितिरहेको छ । धेरै श्रोतालाई थाहा नहुन सक्छ, कल्याण सिंह मेरो आफ्नै भाइ हो ।
खानपिन
मलाई भान्छाको कुनै पनि काम गर्न आउँदैन । कतिसम्म भने मलाई स्टोभ सल्काउनसमेत आउँदैन, खाना पकाउने कुरा त परको भयो । खानपिनसँग सम्बन्धित अर्को एउटा बानी छ— म कहिल्यै आफूले खाने कुनै पनि खानेकुरा आफैं पस्किन्न, अरूले नै दिनुपर्छ । कतिसम्म भने चियासमेत मलाई कसैले दिएन भने म खान्नँ । भोकै बस्छु तर अरूले नदिई कुनै पनि खानेकुरा खान्नँ ।
प्रस्तुति : कृष्ण भट्टराई