थानेश्वर गौतम, गायक/संगीतकार
सांगीतिक यात्राका क्रममा करिब तीन महिना बेलायतमा रहँदा मैले त्यहाँको नेपाली समुदायमा नेपाली गीत–संगीतको लोभलाग्दो क्रेज अनुभव गर्न पाएँ । नेपाली समाज बेलायतको निमन्त्रणामा त्यहाँ पुग्दा मैले बेलायतमा नेपालीहरूको छुट्टै सान र मान पाएँ ।
हामी वीर गोर्खाको नाम अनि इमान्दार नेपालीका रूपमा चिनिन्छौं भन्ने कुरा मैले बेलायतमा नजिकबाट नियाल्ने अवसर प्राप्त गरें । विश्वकै एउटा सुन्दर भूमि, हिमालयको देश अनि विभिन्न जातजाति एवं वेशभूषा तथा संस्कृतिको धनी देश नेपालको कलाकारका रूपमा म बेलायत पुगेको थिएँ । यो अवधिमा मैले बेलायतका अनेकौं सहरमा आफ्नो प्रस्तुति दिएँ ।
बेलायतवासी नेपालीको माया यति आत्मीय रह्यो कि साँच्चिकै कलाकार भएको गर्व अनुभूति भयो । सुविधासम्पन्न ठाउँमा रहे पनि नेपालीपनले युक्त आफ्नो संगीत सुन्न पाउँदा नेपाली समुदायको खुसीको सीमा रहेन ।कार्यक्रमका क्रममा मैले आफ्ना गजल, रोइला, सालैजो, फिल्मी गीत, पञ्चैबाजा आदिको प्रस्तुति दिँदा धेरै जना आफ्नो गाउँ–घर अनि नेपाल पुगेको अनुभूति गर्दै भक्कानिनुभो, तीन महिना बितेको पत्तो पाइन ।
कतिपय ठाउँमा मैले विदेशीसँग बाजाको तालमा हाम्रो संगीतलाई चिनाउने प्रयास गरेँ भने विदेशीहरूले पनि नेपाली गीत–संगीतको खुलेर प्रशंसा गरेको पाएँ । बेलायतकै नागरिक भएर बसेका हाम्रा आफन्तदेखि भर्खरका युवा–युवती तथा साना नानीहरू, जसले नेपालीपनलाई करिब–करिब बिर्सिसकेको अवस्था छ, उनीहरूसमेत नेपाली सांगीतिक कार्यक्रममा रमाएको देख्ने मौका मिल्यो ।
बेलायतको सरकारदेखि सम्पूर्ण निकाय आफ्ना जनताप्रति उत्तरदायी भएको देख्दा मन लोभिएर आयो । कलाकारको उच्च सम्मान अनि खुबी र प्रतिभाको कदर देख्दा आफू कलाकार भएकोमा गर्व लाग्यो । बेलायतमा जीवनभरि आफ्नो देशका लागि आफ्नो कला–संस्कृतिका लागि समर्पित मान्छेको सबै किसिमको सुरक्षा हुँदो रहेछ ।
नियमविपरीत कसैले पनि केही गर्न नपाउने, सबै जना अनुशासित र चेतनशील भएको देख्दा कुनै पनि देशको कला, संस्कृति र संगीत अनुशासित भए त्यो देश स्वत: सभ्य एवं उत्तरदायी हुन्छ भन्ने कुरा बुझ्ने अवसर पाएँ । बेलायतमा गीत–संगीतको उच्च सम्मान देखेर मलाई नेपाली संगीतमा अझै केही गर्ने साहस आएको छ । हुन त म आफ्नो देशमा राम्रो कुराको मूल्यांकन भएको देख्दिनँ, यसैकारण कतिपय राम्रा स्रष्टा बिदेसिन बाध्य छन् ।