साप्ताहिक संवाददाता
विन्ध्यवासिनी फाउन्डेसनले यो वर्षको विन्ध्यवासिनी सम्मानबाट गीतकार डा. कृष्णहरि बराललाई सम्मान गरेको छ । यसै साता आयोजित एक सांगीतिक समारोहमा पत्रकारितामार्फत संगीत क्षेत्रको विकास एवं उन्नतिका लागि योगदान पुर्याउने पत्रकारहरूलाई समेत सम्मान गरियो ।
समारोहमा दुवै मृगौलाले काम गर्न छोडेका संगीत व्यवसायी शिव पौडेललाई ३ लाख १० हजार ६ सय ७ रुपैयाँ प्रदान गरियो । सांगीतिक साँझमा रामकृष्ण ढकाल, आनन्द कार्की, निशा देशार, रामचन्द्र काफ्ले, जुनु रिजाल, सुमन सरगम, कुलेन्द्र विश्वकर्मा, विश्व नेपाली आदि गायक–गायिकाले गीत–संगीत प्रस्तुत गरेर समारोहलाई संगीतमय बनाए ।
गायकको नौलो अभियान
गायक रामजी नेपाली १ हजार १ सय ११ ‘ब्लड ब्याग’ जम्मा गरेर रक्त सञ्चार केन्द्र तथा अस्पतालमा हस्तान्तरण गर्ने अभियानमा सक्रिय छन् । आफ्नी छोरी काजल शरीरले रगत उत्पादन गर्न नसक्ने रोगबाट पीडित भएपछि उनलाई आवश्यक पर्ने रगत रक्त सञ्चार केन्द्रबाट अस्पतालसम्म पुर्याउने क्रममै उनले यो अभियान प्रारम्भ गरेका हुन् । गायक नेपालीले यो अभियानपछि स्वास्थ्य क्षेत्रमा पर्ने अत्यावश्यक सामग्रीहरू संकलन गर्ने अभियानलाई निरन्तरता दिने बताएका छन् ।
अमेरिकामा राजेशपायल
गायक राजेश पायल राई यतिबेला अमेरिकाका विभिन्न सहरमा सांगीतिक कार्यक्रम प्रस्तुत गरिरहेका छन् । राईले पछिल्ला केही सातायता एक दर्जनभन्दा बढी सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेका छन् । राईको पछिल्लो कार्यक्रम नेप्लिस सोसाइटी साल्ट लेकले आयोजना गरेको थियो जसलाई चलचित्र निर्देशक सुमन दाहालले सञ्चालन गरेका थिए । गायक राई आगामी साता अमेरिकाबाट सोझै हङकङ पुग्ने कार्यक्रम छ ।
छायाँकार बनिन् निर्देशक
चलचित्रकी छायाँकार शवनम मुखिया म्युजिक भिडियो निर्देशनमा सक्रिय हुन थालेकी छिन् । सञ्चारकर्मी शान्तिप्रियको शब्द, सन्तोष श्रेष्ठको संगीत तथा गायिका अञ्जना गुरुङको स्वरको ‘म त माया नफापेको मान्छे’ गीतको भिडियोको निर्देशन मुखियाले नै गरेकी हुन् । भिडियोमा अनामिका चौलागाईं, माधव पौड्याल, निशा थापा, सुमन खतिवडा आदि कलाकारले अभिनय गरेका छन् ।
चोमोलुङ्मा सम्मान
नेपाली साहित्य, कला तथा संगीत क्षेत्रमा क्रियाशील संस्था चोमोलुङ्मा प्रतिष्ठानले यस वर्षको चोमोलुङ्मा सम्मान साहित्यकार डा. रेनुका थापा एवं वाद्यवादक खर्क बहादुर बुढामगरलाई प्रदान गरेको छ । चोमोलुङ्मा प्रतिष्ठान नेपालले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा शनिबार राजधानीको दरबार रोधी क्लबमा एक कार्यक्रमको आयोजना गरी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकको हातबाट सम्मान प्रदान गरिएको हो ।
डा. थापालाई ‘चोमोलुङ्मा मनलक्की साहित्य सम्मान–२०७३’ बाट तथा बूढामगरलाई ‘चोमोलुङ्मा पविधन खालिङ संगीत पुरस्कार–२०७३’ बाट सम्मान गरिएको हो । समारोहमा गायिका संगीता (मेखा) राईको गीति एल्बम साहिलको विमोचनसमेत गरिएको थियो ।