प्रदीप खड्का, अभिनेता
चलचित्र ‘प्रेमगीत’ बाट चर्चामा आएका अभिनेता हुन्– प्रदीप खड्का । ‘प्रेमगीत’ मा अभिनय गर्नुअघि ‘द स्केप’ तथा ‘ठूलो मान्छे’ मा समेत काम गरेका प्रदीपलाई तेस्रो चलचित्रले स्टार बनायो । यही चलचित्रबाट उनले केही एवार्डसमेत जिते । पाँच फिट सात इन्च अग्ला प्रदीपलाई ‘प्रेमगीत’ को सफलतापछि थुप्रै चलचित्रबाट प्रस्तावसमेत आए तर उनले कुनै पनि चलचित्रमा अभिनय गर्न चाहेनन् ।
कसैलाई पनि कुनै पनि कुरामा नाइँ भन्न नसक्ने आफ्नो सानैदेखिको स्वभावका विपरीत प्रदीपले झन्डै एक दर्जन चलचित्रको प्रस्ताव कसरी अस्वीकार गरे, उनी आफैंलाई थाहा छैन । ‘प्रेमगीत’ का निर्माता सन्तोष सेनले यसको सिक्वेल अर्थात् ‘प्रेमगीत–२’ का लागि ज्यान बनाउन आग्रह गरेपछि उनी त्यसकै तयारीमा जुटे । यतिबेला उनी लामो हेयरस्टाइल तथा सिक्स प्याक एप्ससहित सिक्वेलका लागि तयार भैसकेका छन् । कुसुन्ती, ललितपुरमा जन्मिएका प्रदीप रोमान्टिक चलचित्रका लागि बढी फिट हुने समिक्षकहरू बताइरहेका छन् । साप्ताहिकमार्फत प्रदीपले आफ्ना सेक्रेट यसरी सार्वजनिक गरेका छन् स्
तबलावादक
म अभिनयमा सक्रिय भए पनि संगीत मेरो सौख हो । म कुशल तबलावादक हुँ भन्ने कुरा धेरैलाई जानकारी छैन । म प्रायस् मन्दिरमा तबला बजाउँछु । अहिले पनि म फुर्सदको बेला केही निश्चित मन्दिरका भजन कार्यक्रममा तबला बजाइरहेको हुन्छु । तबलावादनमा म स्वर्गीय आनन्दको अनुभूति गर्छु ।
एमबीए
मैले एमबीए उत्तीर्ण गरेको छु । चलचित्रमा नआएको भए म यतिबेला आफ्नै व्यवसायमा रमाइरहेको हुन्थें । त्यसैका लागि मैले व्यवस्थापन विषयमा स्नातकोत्तर गरेको हुँ ।
ट्राफिक कक्षा
काठमाडौंमा लेन अनुशासनमा ट्राफिक प्रहरीले कडाइ गरेको छ । यो कुरा जान्दा–जान्दै पनि यसै साता म लेन अनुशासन पालन गर्न असमर्थ भएँ । ट्राफिकले लाइसेन्स लिएपछि म नियमअनुसार बग्गी खाना गएर ट्राफिकले दिने कक्षामा अनुशासित विद्यार्थी झैं बसें । मलाई लाग्छ हामी सवारीचालकले सडकमा सकेसम्म गल्ती गर्नुहुँदैन, यदि गल्ती भयो भने नियमअनुसार त्यसको जरिवाना तिर्न आनाकानी गर्नुहुँदैन ।
निद्रा
मलाई निद्रा असाध्यै प्यारो छ । मलाई हरेक रात कम्तीमा १० घण्टा सुत्नै पर्छ । काममा असाध्यै व्यस्त छु भने पनि म ८ घण्टा त सुतेकै हुन्छ । कतिपयलाई धेरै सुत्ने भएकाले म अल्छी छु जस्तो पनि लाग्ला तर एउटा स्वस्थ मानिसले मस्त निदाउनुपर्छ भन्ने कुरा मैले बुझेको छु । म राति अलि छिट्टै सुतेर भए पनि १० घण्टा जति निदाएकै हुन्छु ।
घर छाड्ने प्रयास
म घरबाट विभिन्न समयमा गरेर दुई पटक भागेको छु । पहिलो पटक एसएलसी उत्तीर्ण गरेपछि बाइक नकिनिदिएको झोंकमा घरबाट भागेको थिएँ । दोस्रो पटक बुवासँग झगडा परेपछि म आफैं आत्मनिर्भर हुन सक्छु भन्ने प्रमाणित गर्न घरबाट भागेको थिएँ । अहिले सम्झँदा लाग्छ, त्यो मेरो केटाकेटीपन थियो ।
भिजे
मैले टेलिभिजन कार्यक्रम प्रस्तोताका रूपमा समेत काम गरेको छु । टेलिभिजनको बकरा शो अर्थात् दर्शकहरूलाई प्रांक गर्ने कार्यक्रम ‘भुराभुरीको हल्लाखल्ला’ मा मैले एंकरका रूपमा काम गरेको थिएँ ।
नाइँ नभन्नु ल
म आफूलाई ‘यश म्यान’ भन्न रुचाउँछु अर्थात् मलाई नाइँ भन्न आउँदैन । कसैलाई पनि कुनै पनि कुरामा नाइँ भन्न अथवा कुनै पनि प्रस्ताव अस्वीकार गर्न असाध्यै गाह्रो लाग्छ । आफूलाई कुनै फाइदा पुग्ने काम होइन रहेछ भने पनि म हत्तपत्त नाइँ भन्न सक्दिन ।
भेज–ननभेज
म लामो समय साकाहारी रहेँ । करिब १२ वर्षसम्म म शुद्ध साकाहारी रहन सफल भएँ । हालै आएर ९तीन महिनाअघि० मात्र म मांसाहारी भएको छु । चलचित्रको कामले अधिक समय घरबाहिर बिताउनु पर्ने भएपछि साकाहारीका रूपमा बाँच्न गाह्रो भएकाले म बाध्य भएर मांसाहारी बनेको हुँ ।