साप्ताहिक संवाददाता
मंसिर ५, २०७३
‘पशुपतिप्रसाद’ सफल भएपछि उक्त चलचित्रका अधिकांश पात्र लोकप्रिय भए । भस्मेदेखि हनुमानजीसम्मका पात्रले दर्शकको दिमागमा गहिरो छाप छोडे । ‘हनुमानजी’ त सामाजिक सञ्जालमा अझ बढी लोकप्रिय भए । अहिले पनि हनुमानजी भन्दै स्ट्याटस लेख्नेहरू घटेका छैनन् ।
यस क्रममा हनुमान शब्द मात्र लोकप्रिय भएन, हनुमानजी अर्थात् उक्त भूमिका निर्वाह गर्ने कलाकरा रवीन्द्रसिंह पनि स्थापित भए । यद्यपि उनी सधैं हनुमानजीको ब्याज खाने पक्षमा थिएनन् । उनले आफ्नै लगानीमा चलचित्र ‘जात्रा’ बनाए । व्यवसायिक सफलताको स्वाद चाखिरहेको ‘जात्रा’ मार्फत मुख्य अभिनेताका रूपमा दर्शकमाझ आएका रवीन्द्रसिंहको अभिनयको चौतर्फी प्रशंसा भैरहेको छ । चलचित्रमा उनले निर्वाह गरेको व्यवसायीको भूमिकाले दर्शकको मन जितेपछि यतिबेला सिंह थप उत्साहित देखिन्छन् ।