सन्दीप लामिछाने
नेपाली क्रिकेटमा एउटा नाम अहिले चर्चामा छ । त्यो नाम हो— सन्दीप लामिछाने । सन्दीप अष्ट्रेलियाका विश्वकप विजेता कप्तान माइकल क्लार्कको क्रिकेट एकेडेमीमा प्रशिक्षणका लागि र वेस्टर्न सवर्बस्का तर्फबाट ग्रेड क्रिकेट खेल्न अष्ट्रेलिया उडेपछि सन्दीप नेपाली मिडियामा मात्र होइन, अन्तर्राष्ट्रिय मिडियामा पनि छाइरहेका छन् । अष्ट्रेलियामा रहेका सन्दीपसँग साप्ताहिक को पाँच प्रश्न :
अष्ट्रेलियाको भ्रमण कस्तो भैरहेको छ ?
अहिलेसम्म राम्रो भैरहेको छ । यहाँ सबैको सहयोग र माया पाइरहेको छु । प्रशिक्षण र खेल पनि राम्रो भैरहेको छ । दुईवटा खेलमा विकेट लिन सफल पनि भएँ, तर पछिल्ला दुई खेल भने वर्षाका कारण गर्दा रद्द भए । यो हप्ता पानी नपरोस् भनेर प्रार्थना गरिरहेको छु ।
सिक्ने मौका कत्तिको पाइरहनुभएको छ ?
धेरै नै । हप्तामा कहिले पाँच कहिले छ दिन प्रशिक्षणमा हुन्छु । शनिबार एक दिनचाहिँ प्रतिस्पर्धा नै हुन्छ । यहाँका प्रशिक्षकहरू पनि राम्रा हुनुहुन्छ । विशेष गरी अस्ट्रेलियाजस्तो देशमा यहाँको पिच र अवस्थाका बारेमा धेरै कुरा सिक्ने मौका पाइरहेको छु । माइकल क्लार्कले पनि धेरै कुरा सिकाइरहनुभएको छ ।
माइकल क्लार्कले के–कस्तो सरसल्लाह दिने गरेका छन् ?
उहाँ धेरै नै व्यस्त हुनुहुन्छ । टिभी कमेन्ट्री तथा हालै विमोचन भएको आफ्नो पुस्तकका कारण पनि उहाँ व्यस्त हुनुहुन्छ । मैले उहाँसँग दुईवटा खेल खेल्ने तथा केही समय अभ्यास गर्ने अवसर प्राप्त गरें । उहाँले खेल खेल्ने क्रममा अपनाउनुपर्ने सबै उपाय सिकाउनुहुन्थ्यो— कस्तो अवस्थामा कस्तो बलिङ गर्ने, के गर्दा फाइदा हुन्छ जस्ता कुरा उहाँबाट सिक्न पाइरहेको छु ।
क्लार्कले तपाईंको धेरै प्रशंसा गर्ने गरेका छन् । कस्तो महसुस हुन्छ ?
उहाँ आफैं प्रशंसायोग्य हुनुहुन्छ । भनिन्छ नि, फूलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार । तैपनि आफ्नो देशका लागि विश्वकप जितिसकेका कप्तान र एक उत्कृष्ट ब्याट्सम्यानले भर्खरै आफ्नो देशका लागि खेल्न सुरु गरेको मजस्तो खेलाडीलाई जुन सहयोग र माया गर्नुभएको छ, त्यो मेरा लागि खुसीको विषय हो ।
माइकल क्लार्कलाई एक वाक्यमा वर्णन गर्नुपर्दा ?
हम्बल, डाउन टु अर्थ अनि हेल्पफुल ।