साप्ताहिक संवाददाता
डाटा केबल
बजारमा विभिन्न किसिमका डाटा ट्रान्सफर केबलहरू उपलब्ध छन् जसमा १०० रुपैयाँदेखि हाईस्पिड डाटा केबलको मूल्य ३ सय रुपैयाँसम्म पर्छ ।
यसबाहेक टू इन वान फर एन्ड्रोयड डाटा केबल पनि उपलब्ध छ, जसमा एकै पटकमा विभिन्न डिभाइसबाट डाटा आदानप्रदान गर्न सकिन्छ । यसको मूल्य ३ सय रुपैयाँभन्दा माथि पर्छ ।
चार्जर
बजारमा विभिन्न ब्रान्ड र स्तरका चार्जर उपलब्ध छन् । सामसुङको स्तरीय चार्जरदेखि त्यही ब्रान्डका सस्ता चार्जर पनि बजारमा बग्रेल्ती पाइन्छन् । यस्ता चार्जरमध्ये सामसुङको चार्जरको मूल्य ३ सय रुपैयाँभन्दा माथि छ भने आईफोनका लागि पनि सस्तोदेखि महँगो चार्जरसम्म उपलब्ध छ । यसमा आइप्याड डक चार्जर ६ रुपैयाँभन्दा माथिमा खरिद गर्न सकिन्छ ।
हेडफोनहरू
बाटो हिँड्दा विभिन्न किसिमका एयरफोन तथा हेडफोन प्रयोग गर्ने मानिसहरू देखिन्छन् । यस्ता हेडफोन नेपाली बजारमा विभिन्न ब्रान्डमा उपलब्ध छन् । एयरफोन सानो आकारको हुन्छ जसलाई कानभित्र पसाएर विभिन्न गीत सुनिन्छ भने हेडफोन कान ढाक्ने गरी लगाइन्छ । यसमध्ये एरुन ब्रान्डको हेडफोनको मूल्य ७ सय रुपैयाँ छ भने अन्य ब्रान्डका हेडफोनको मूल्य ३ सय रुपैयाँभन्दा माथि हजारौं रुपैयाँसम्म पर्न सक्छ ।
त्यसैगरी एयरफोन न्यूनतम १ सय ५० रुपैयाँभन्दा माथि ७ हजार रुपैयाँसम्ममा उपलब्ध हुन्छ ।
कभरहरू
स्मार्टफोनको सुरक्षाका लागि प्रयोगकर्ताहरूले विभिन्न किसिमका कभर प्रयोग गर्छन्, जसमा प्रिन्टेड, ट्रान्सप्यारेन्ट, फ्लिप आदि प्रमुख छन् ।
यस्ता कभरको मूल्य १ सय ५० रुपैयाँदेखि २ हजार रुपैयाँसम्म पर्छ ।
मेमोरी कार्ड
पछिल्ला दिनहरूमा स्मार्टफोनमा विभिन्न डकुमेन्ट, तस्बिर एवं भिडियोहरू राख्ने चलन बढिरहेको छ । स्मार्टफोनमा ती सामग्री नअटे त्यसको आन्तरिक स्टोरेज बढाउन सकिन्छ । यसरी स्टोरेज बढाउन माइक्रो एसडी कार्ड प्रयोग गरिन्छ । हाल बजारमा ४ जीबीदेखि १ सय २८ जीबीसम्मका माइक्रोएसडी कार्डहरू उपलब्ध छन्, जसको मूल्य न्यूनतम २ सय ५० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म पर्छ ।
ब्लुटुथ स्पिकरहरू
स्मार्टफोनमा गीत–संगीतको आवाज सामान्य आउने हुँदा उपभोक्ताले ठूलो आवाजमा संगीत सुन्न अतिरिक्त स्पिकर प्रयोग गर्छन्, जुन ब्लुटुथ तथा तारको भरमा जोडिन्छ । बजारमा तारसहितको भन्दा ब्लुटुथबाट चल्ने स्पिकर धेरै छन् । हाल बजारमा सामान्य किसिमका ब्लुटुथ स्पिकरको मूल्य १ हजारदेखि २ हजार ५ सय रुपैयाँसम्म पर्छ भने बिट्स, जेबीएल, ब्राभेन, शाओमी, सोनी, एलजी, सामसुङ आदिका स्पिकरको मूल्य लाखौं रुपैयाँसम्म पर्न सक्छ ।