साप्ताहिक संवाददाता
नेपाली फुटबलमा अध्ययन गर्न रुचाउने बौद्धिक खेलाडीको कमी छ भने असिमजंग कार्की त्यसका अपवाद हुन सक्छन् । नेपाली राष्ट्रिय फुटबल टिममा फरवार्डको भूमिका निर्वाह गरिसकेका असिमलाई पूरा विश्वास छ, उनी फेरि आफ्नो देशको जर्सी लगाएर खेल्न सक्षम हुनेछन् ।
एक वर्षअघि भारतको केरलामा भएको साफ च्याम्पियनसिप अगाडि उनी घाइते भएका थिए । राष्ट्रिय टिमकै लागि अभ्यास गर्ने क्रममा त्यसबेला उनको घुँडामा गम्भीर चोट लागेको थियो ।
उक्त दुर्घटनापछि उनको खुट्टाको शल्यक्रियासमेत गरिएको थियो । अहिले घरेलु नेपाली फुटबलमा भने उनले लय समातिसकेका छन् । अहिले यिनै असिम पौडीकी राष्ट्रिय खेलाडी सोनिरा विष्टसँग प्रेममा परेका छन् । नौ महिनाअघि मात्र उनीहरूको प्रेमसम्बन्ध सुरु भएको थियो । तिहार आइपुग्दा–नपुग्दै उनीहरूले टीकाटालो पनि गरेका छन् । अब उनीहरूको योजना छ, मंसिर १६ गते विवाह गर्ने ।
दुई वर्षसम्म चोटकै कारण २३ वर्षीय असिमले फुटबल खेल्न सकेनन् । यसबीच उनले आफ्नो व्यवसाय पनि सुरु गरे । अहिले उनको व्यवसायले पनि राम्रो स्वरूप लिंदैछ । उनी भन्छन्, ‘विवाहपछि निश्चित रूपमा नयाँ र धेरै जिम्मेवारी थपिनेछन् । यसका लागि म तयार छु ।’ पौडीकी २० वर्षीया सोनिरा उनका लागि शुभ हुने विश्वास पनि उनले लिएका छन् । आफ्नो जीवनमा आएका यी सबै घटनाक्रमबाट खुसी असिम सोनिराबारे भन्छन्, ‘सोनिरा पूरा विश्वकै सबैभन्दा राम्री महिला हुन् ।’
अनि यी सबैबीच उनी राष्ट्रिय टिममा आफ्नो पुनरागमनको चुनौती पनि पेस गर्न चाहन्छन् । दुई वर्षको अन्तरालपछि उनले हालै चितवनमा विकास रनिङ सिल्ड खेले । उनले त्यसमा संकटाका लागि खेलेका थिए । संकटा उपाधि जित्न पनि सफल रह्यो । त्यसमा सबैभन्दा ठूलो भूमिका खेल्ने खेलाडी यिनै असिम थिए । उनी उक्त प्रतियोगितामा लगातार म्यान अफ द म्याच हुन पनि सफल रहे अनि यी सबै खेलको हूलमूलमै उनले सोनिरासँग टीकाटालो गर्न पनि भ्याएका हुन् ।
सन् २००९ मा ब्वाइज युनियनबाट खेल्न सुरु गरेका असिमले एक समय यो क्लबलाई उचाइमा पुर्याउन राम्रै योगदान दिएका थिए । त्यसपछि उनी ब्वाइज युनियनकै छिमेकी एनआरटी गए । अहिले भने उनी नेपालकै सर्वाधिक लोकप्रिय क्लब थ्री स्टारसँग आबद्ध छन् । ‘नेपाली राष्ट्रिय टिममा फर्कन मैले अझै धेरै मेहनत गर्नुपर्नेछ,’ उनी भन्छन् । महत्त्वपूर्ण प्रश्न, असिम र सोनिरा एकआपसमा कसरी नजिक भए होलान् त ? यसको उत्तर पनि आपैंmमा रोचक छ ।
सन् २०१४ मा दक्षिण कोरियाको इन्चेनमा भएको एसियाली खेलकुद । त्यसमा असिमले नेपालको यू–२३ फुटबल टिमबाट खेलेका थिए । सोनिरा भने पौडीकी सय र ५० मिटर ब्रेस्ट स्ट्रोककी खेलाडी थिइन् । एसियाली खेलकुदकै क्रममा फुटबल र पौडी टिमबीच परिचयको आदान–प्रदान भएको थियो । त्यसै क्रममा असिम र सोनिराले पनि एक–अर्कालाई चिन्ने अवसर पाए, पछि उनीहरू सामाजिक सञ्जालको माध्यमबाट पनि एकअर्कासँग जोडिए । यसरी उनीहरूबीच प्रेम सम्बन्ध सुरु भएको थियो ।
भारतमा भएको पछिल्लो दक्षिण एसियाली खेलकुदपछि उनीहरूबीचको सम्बन्ध अझ नजिकिएको हो । दक्षिण एसियाली खेलकुदपछि कुनै एक राम्रो दिन अमिसले विवाहको प्रस्ताव राख्दा सोनिरा त बोल्नै सकिनन्, के भइरहेको छ, बुझ्न पनि सकिनन् । पछि सबै सामान्य भयो । दुवैको परिवारले पनि उक्त सम्बन्धलाई अघि बढाउने सहमति दिएपछि अब के नै बाधा–अड्चन रह्यो र ? अब केही बाँकी छ भने उनीहरूबीच विवाह मात्र हो ।