चितवन– सामाजिक सञ्जाल फेसबुक तथा ट्विटरमा क्यारेटमा तरकारी बोकेको तस्बिर सार्वजनिक भएसँगै चर्चामा आएकी गोरखा भुम्लिचोककी ‘तरकारीवाली’ कुसुम श्रेष्ठले उच्च शिक्षा अध्ययनका लागि सहयोग प्राप्त गरेकी छिन् ।
रत्ननगर नगरपालिका–२ स्थित चेतनाटोलमा काका गोपीलाल श्रेष्ठको घरमा बसेर कक्षा ११ मा अध्ययनरत कुसुमलाई पपुलर मल्टिमिडिया काठमाडौंले उच्च शिक्षा अध्ययनमा सहयोग गरेको हो । कुसुमले कक्षा ११ र १२ मा पढ्दा लाग्ने खर्च पपुलर मल्टिमिडिया तथा उनी अध्ययनरत कलेजले आधा/आधा बेहोर्ने भएका छन् । पपुलर मल्टिमिडियाका अध्यक्ष घोरासैनीले आधा खर्च कुसुमलाई हस्तान्तरण गरिसकेका छन् ।
त्यस्तै पपुलर मल्टिमिडियाले उनलाई काठमाडौं नेपाल मेघा कलेजमा स्नातकोत्तरसम्म पढ्ने अवसर प्रदान गर्ने जनाएको छ । उनलाई कक्षा १२ उत्तीर्ण गरेर नेपाल मेघा कलेजमा नि:शुल्क पढ्ने अवसर प्रदान गरिएको अध्यक्ष घोरासैनीले बताए ।
कुसुमको आर्थिक अवस्था कमजोर छ । उनी परिवारकी एक्ली सन्तान हुन् । ‘मैले अहिले फिल्म खेल्ने सोच बनाएकी छैन,’ कुसुमले भनिन, ‘मलाई पढ्न मन छ, म एउटा गरिब किसानकी छोरी, आज मेरो अध्ययनमा सहयोग गर्न काठमाडौंदेखि सहयोगीहरू आउँदा खुसी लागेको छ ।’
कुसुमको पढाइमा सहयोग जुटेसँगै उनको कलेजमा खुसियाली छाएको छ । ‘हामी फिल्मका लागि नयाँ पात्रको खोजीमा थियौं,’ निर्माणधिन चलचित्र ‘लम्फु’का निर्देशक गोपालचन्द्र लामिछानेले भने, ‘यही समयमा हामीले खोजेको पात्र जस्तै कुसुमको फोटो सामाजिक सञ्जालमा भाइरल भयो, उनको चाहना मोडल बन्ने हो भन्ने कुरा सुनेर हामीले फिल्मका लागि अफर गरेका थियौं ।’
सामाजिक सञ्जालहरूमा फिल्म/मोडलिङभन्दा अध्ययनमा अघि बढ्न दर्शक/पाठकले सुझाव दिएपछि उहाँहरूकै सम्मानमा कुसुमको अध्ययनमा सहयोग गरिएको लामिछानेले बताए । कुसुम अध्ययनरत कलेजले उनलाई २ वर्षका लागि कलेजको सद्भावनादूत समेत घोषणा गरेको छ । ‘सबैभन्दा पहिले शिक्षाको आवश्यकता छ,’ पपुलर मल्टिमिडियाका अध्यक्ष घोरासैनीले भने, ‘त्यही भएर हामीले उनलाई उनको पढ्ने चाहनाअनुसार नै सहयोग गरेका हौं ।’
उनले पछि फिल्म खेल्ने इच्छा गरे त्यसमा पनि सहयोग गर्न तयार रहेको अध्यक्ष घोरासैनीले बताए । कुसुमका काका गोपीलाल श्रेष्ठले पर्यटन व्यवसायी रूपचन्द्र महर्जनले खिचेको छोरीको तरकारी बोकेको फोटोले सामाजिक सञ्जालमा चर्चा पाएसँगै परिवारमा ठूलो परिवर्तन आएको बताए । ‘मैले दु:ख गरेर पढे, अहिले पढाउने काम गर्छु,’ उनले भने, ‘मेरो चाहना छोरी मोडलिङ/फिल्म क्षेत्रमा भन्दा पढाइमै लागोस भन्ने हो ।’ कुसुमको पढाइमा फिल्म युनिटले कलेजमै आएर सहयोग गर्दा सिंगो परिवारमा खुसी छाएको गोपीलालले बताए ।
कुसुमलाई फिल्म तथा म्युजिक भिडियोका लागि जताततैबाट अफर आए पनि इन्कार गरिएको काका गोपीलालले जानकारी दिए । यसअघि साप्ताहिकसँगको अन्तर्वार्तामा समेत कुसुमले फिल्म–मोडलिङलाई भन्दा अध्ययनलाई नै प्राथमिकतामा राखेको कुरा बताएकी थिइन् ।