एक दशकअघि ‘ए बा किन्देउ न भट्भटे’ शीर्षकको कमेडी गीतबाट चर्चामा आएका गायक श्रीकृष्ण लुईंटेल ‘बोकेदाह्री’ यतिबेला के गर्दै होलान् ? धेरैलाई जिज्ञासा हुनसक्छ । मोरङको अमरदहमा जन्मेका श्रीकृष्ण झापा बसेको १० वर्ष भयो । उनलाई झापा प्यारो छ ।
उनी झापामै बसेर वर्षैपिच्छे एल्वम् निकाल्छन् । बोकेदाह्रीको एल्बम हिट नहुने कुरै भएन । उनी आफ्ना गीतको म्युजिक भिडियो पनि बनाउँछन्, आफैं अभिनय गर्छन् र दर्शकलाई पेट मिचिमिची हसाउँछन् ।
मोफसलमा बसेर संगीतमा कर्ममा व्यस्त भैरहँदा उनलाई देश–विदेशबाट सांगीतिक कार्यक्रमको निम्तो आइरहन्छ । कतार, दबवई, बहराईन, मलेसिया, दक्षिण कोरिया, म्यानमार, थाईल्याण्ड, इजरायल, साईप्रस, सिङ्गापुर, ओमन, भारत लगायत मुलुकमा गएर स्टेज तताइसकेका छन् श्रीकृष्णले ।
झापाका गाउँ–गाउँमात्रै होइन देशका कुनै पनि ठाउँमा आयोजना हुने स्टेज कार्यक्रमका लागि निम्तो आउँदा उनी नाइँ भन्दैनन् । सबैलाई समान व्यवहार गर्छन् । हाँसेर बोल्छन् अनि हँसाइरहन्छन् । यीनै कारणले श्रीकृष्णलाई मन नपराउने कमै मात्र भेटिन्छन् ।
भर्खरै उनी भारतको आसाममा कन्सर्ट दिएर नेपाल फर्किए । उनलाई आसामको संस्कृति औधि मन पर्छ । ४० लाख नेपालीको बसोबास रहेको आसाममा यसपटक एकसाता बस्दा उनले त्यहाँका नेपालीलाई पनि खुब हँसाए ।
देशको सुदुरपूर्वी जिल्ला झापाको बिर्तामोडमा रमाएर बसेका श्रीकृष्णलाई फुर्सद कहिल्यै नहुँदा राजधानीका कलाकार पनि अचम्मा पर्छन् । श्रीकृष्ण भन्छन्–‘म काठमाडौंमा भन्दा झापामै रमाएको छु । उताका गायकहरुले पनि फोन गरेर पूर्वमा प्रोग्राम मिलाइदिनु पो भन्छन् ।’
पूर्वका कुरा देशभर देखाउने/सुनाउने आफ्नो चाहना भएको उनी बताउँछन् । ‘यहाँ बारीमा, भीरमा फूल्ने फूल काठमाडौंमा गमलामा फुल्छ । फूलको अस्तित्व त यहाँ छ नि, उनी भन्छन्— ‘मैले काठमाडौं छोड्को होइन, काठमाडौंले चाहिँ मलाई छोडेको हो ।’ श्रीकृष्णसंग अनौठो कला छ । स्टेजमा चढेपछि उनी गाउँदैनन् मात्र, हसाउँछन् पनि । अनेक थोक बोलेर दर्शक हसाउँन खप्पिस् छन् उनी ।
अघिल्लो वर्ष उनले गाएको ‘पागल बनायो नारायन पापी फेसबुकले’ बोलको गीत हिट भएको थियो भने यसपटक पनि उनी चर्चाको शिखरमा छन् । उनको १२औं एल्बम ‘बब्लु’ले बजार तताएको छ । बालक, युवा, बृद्ध सबैलाई उनका गीतका शब्द कण्ठ भैसक्यो ।
‘बब्लु’मा १० वटा गीत छन् । ‘नलगाउ छोटा कपडा’, ‘ओके छ त’, ‘डल्लेकी बहिनीले’, ‘बाख्रा स्टाइल’ र ‘कलियुगको धर्म’ गरी ५ वटा गीतको त भिडियो नै सार्वजनिक गरिसके । ५ वटै गीतको छायाङ्कन झापा र इलाममा गरिएको हो । यी ५ वटै गीतको भिडियोमा श्रीकृष्णले आफैंले अभिनय गरेका छन् । उनलाई गतिलो साथ दिएकी छिन्, अम्बिका अधिकारीले । पछिल्ला गीतमध्ये ‘ओके छ त’ चर्चामा छ । यही गीतमा ‘ल्याङल्याङ’ शब्द पनि छ । उनी भन्छन्, ‘डिक्स्नेरीमा ल्याङल्याङको अर्थ त छैन होला, यसको अर्थ चाहिँ गनगन, कचकच भन्ने नै हो ।’ एकदशक अघि ‘बोकेदाह्री’ एल्बमको ‘ए बा किन्देउ न भटभटे’ बोलको कमेडी गीतले उनलाई यहाँसम्म ल्याइ पुर्याएको हो ।