साप्ताहिक संवाददाता
लगातार तीन उपाधि जित्नु वास्तवमै ठूलो उपलब्धि हो,’ विराज महर्जनको प्रतिक्रिया थियो । खुसीले उनको खुट्टा भुइँमा थिएन । विराज मात्र के र, मलेसियाको कुचिङस्थित नेपाली राष्ट्रिय फुटबल टिमका सबै सदस्य खुसीले नाचिरहेका थिए । एएफसी सोलिडारिटी कप जित्नुको उपलब्धि आपंैmमा अद्वितीय थियो । सबैभन्दा पहिले, बंगलादेशमा भएको बंगबन्धु गोल्डकप । त्यसपछि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा स्वर्ण । अहिले सोलिडारिटी कप ।
‘फुटबललाई माया गर्नेहरूका लागि आफ्नो देशले यसरी लगातार सफलता चुम्नु ठूलो कुरा हो ।’ एसियाली फुटबल महासंघ (एएफसी) ले एकाएक घोषणा गरेको प्रतियोगिता थियो, सोलिडारिटी कप । उद्देश्य थियो, एसियाका कमजोर टिमलाई केही ‘एक्सपोजर’ दिने । विश्वकप र एसियाकप छनौटको पहिलो चरणबाटै बाहिरिएका टिमका लागि यो प्रतियोगिताको व्यवस्था गरिएको थियो । नेपाल पनि एसियाकै कमजोर फुटबल टिममा पर्छ ।
यद्यपि नेपालले यो प्रतियोगिता जितेर सिद्ध गरेको छ, नेपाली फुटबल कमजोर भनिएका टिममध्ये राम्रो स्थानमा छ । सोलिडारिटी कपको फाइनलमा नेपालले मकाउलाई १–० ले हराएर उपाधि जितेको हो । पूरा प्रतियोगितामा नेपाल एक मात्र अपराजित टिम रह्यो । नेपालको प्रदर्शन उपाधिका लागि वास्तवमै हकदार पनि देखिन्थ्यो । जस्तो फाइनलमा मकाओले नेपालमाथि विरलै आक्रमण बुन्न सक्यो ।
नेपालले भने मकाओमाथि लगातार दबाब सिर्जना गर्न सफल रहेको थियो । फाइनलको निर्णायक गोल सुजल श्रेष्ठको नाममा रह्यो र त्यसका लागि उनले गरेको हेड उत्कृष्ट थियो । फेरि त्यसका लागि भरत खवासले निकालेको क्रस पनि उत्तिकै अब्बल दर्जाको रह्यो । सेमिफाइनलमा पनि नेपालले लाओसविरुद्ध उत्कृष्ट खेल प्रस्तुत गरेको थियो । उक्त खेलमा नेपालले पहिलो गोल खाएको थियो । अघिपछि भए, नेपालले आत्तिएर खेल गुमाउने डर हुन्थ्यो, तर त्यसो भएन, नेपालले दुई गोल फर्कायो ।
लाओसले थप एक गोल गरेपछि खेल अतिरिक्त समयमा गएको थियो । त्यसमा पनि छिनोफानो नभएपछि खेल टाइब्रेकरमा पुग्यो । त्यसमा नेपाल ३–० ले विजयी भयो । नेपालले लगातार तीन प्रहारमा गोल गरेको थियो । लाओसको कुनै पनि प्रहार गोलमा परिणत हुन सकेन् । नेपालको उक्त जितका नायक गोलरक्षक किरण लिम्बू रहे । उनले लाओसका दुई प्रहार जोगाए । सोलिडारिटी कपको विजयले नेपाल बंगबन्धु र साग स्वर्ण जित्न पनि उत्तिकै हकदार रहेको सिद्ध गरेको छ ।
नेपालका जापानी प्रशिक्षक ग्योटोकु कोजुका लागि पनि यो उत्तिकै ठूलो सफलता रह्यो । नेपाल आउनुअघि उनी भुटानका प्रशिक्षक थिए । भुटानी फुटबललाई उकास्न उनको ठूलो योगदान छ । कोजु त्यसपछि नेपाल आए । हल्ला के चल्यो भने भुटानले उनलाई पत्याउन छाडेको थियो । भुटानले नपत्याएको प्रशिक्षक नेपालमा ? तर नेपाललाई उपलब्धि दिलाएर उनले पनि सिद्ध गरे, यी प्रशिक्षकमा केही विशेष गुण छ ।
नेपाल प्रतियोगिताको समूह ‘ए’ विजेताका रूपमा अन्तिम चारमा पुगेको थियो । नेपालको समूहमा तीन टिम मात्र थिए । अरू टिम ब्रुनाइ र टिमोर लिस्टे । लिग चरणको पहिलो खेलमा ब्रुनाइले टिमोर लिस्टेलाई ४–० ले हरायो । यो जितसँगै ब्रुनाईले सेमिफाइनलको यात्रा तय गरेको थियो । टिमोर लिस्टेविरुद्धको आफ्नो पहिलो खेल भने नेपालले गोलरहित बराबरी खेल्यो । त्यसपछि नेपालले ब्रुनाइलाई ३–० ले हरायो र समूह विजेता बन्दै सेमिफाइनलको यात्रा तय गर्यो ।