गान्तोक (सिक्किम)– चलचित्र क्लासिकले उत्कृष्ट अभिनेता, अभिनेत्रीसहित सर्वाधिक पाँच विधामा इनास एवार्ड जितेको छ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले गत बुधबार सिक्किमको गान्तोकमा आयोजना गरेको इनास फिल्म एवार्डमा चलचित्र क्लासिकबाट निर्देशक दिनेश राउतले उत्कृष्ट जुरी एवार्ड पनि जिते ।
चौथो संस्करणको इनास एवार्डमा उत्कृष्ट अभिनेतामा आर्यन सिग्देल, अभिनेत्रीमा नम्रता श्रेष्ठ, सम्पादक सुरेन्द पौडेल, उत्कृष्ट गीतकार डा. कृष्णहरि बराल तथा गायकमा युवराज चौलागाईंले चलचित्र क्लासिकका लागि एवार्ड जिते । त्यसैगरी चलचित्र पशुपतिप्रसादले विधागत उत्कृष्ट चलचित्रसहित निर्देशन (दीपेन्द्र के. खनाल), पटकथा लेखन (खगेन्द्र लामिछाने) तथा खलपात्र (विपिन कार्की) मा एवार्ड जित्यो ।
१९ विधासहित पपुलर र जुरी एवार्ड प्रदान गरिएको उक्त समारोहमा नवअभिनेता सुशील सिटौलाले होस्टल रिटन्र्सका लागि तथा नवअभिनेत्रीतर्फ साम्राज्ञीराज्यलक्ष्मी शाहले ड्रिम्सका लागि एवार्ड पाए । त्यसैगरी सहअभिनेता तर्फ नाजिर हुसेन (होस्टल रिटन्र्स) तथा सहअभिनेत्रीतर्फ सूर्यमाला खनाल (सुन्तली) ले पुरस्कार प्राप्त गरे ।
कार्यक्रमका अवसरमा इनासले अभिनेता डेनी डेङजोङपालाई लाइफ टाइम एचिभमेन्ट एवार्डले सम्मानित गरेको थियो । डेनीको अनुपस्थितिमा उक्त सम्मान उनका निर्देशक भान्जा उगेन छोपेलले बुझेका थिए । सोही कार्यक्रममा सिक्किमका मुख्य मन्त्री तथा साहित्यकार पवन चाम्लिङ (किरण) लाई विश्व व्यक्तित्व सम्मान प्रदान गरिएको थियो । सिक्किमका राज्यपाल श्रीनिवास पाटिलले मुख्यमन्त्री चाम्लिङलाई दोसल्ला ओढाएर ताम्रपत्रसहित उक्त सम्मान प्रदान गरेका थिए ।
गीततर्फ चलचित्र वडा नम्बर ६ को सुर्केथैली... र सोही गीतबाट संगीतकार राजनराज शिवाकोटी, नृत्यनिर्देशक शंकर बीसी र गायिका अन्जु पन्तले उत्कृष्ट पुरस्कार थापे । संगीतकारको इनास एवार्ड भने प्रेमगीतका लागि अर्जुन पोखरेलले हात पारे । त्यसैगरी द्वन्द्व निर्देशकमा हिमाल केसी (भैरव), छायाँकारमा पुरुषोत्तम प्रधान तथा सञ्जय लामा (ड्रिम्स) भाग्यमानी ठहरिए । विल्सनविक्रम राईले उत्कृष्ट हास्यकलाकारको एवार्ड प्राप्त गरे ।
भारतमा नेपाली कलाकारको बृहत् उपस्थितिमा पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरिएको सिक्किम फिल्म बोर्डका अध्यक्ष तथा नायक उत्तम प्रधानले बताए । सिन्धुपाल्चोकको गिरानचौरमा नमुना बस्ती निर्माण गरेर स्यावासी कमाएका सीताराम कट्टेल र कुन्जना घिमिरेको जोडीलाई पनि सो अवसरमा विशेष सम्मान गरिएको थियो । उक्त कार्यक्रम प्रभात रिमाल तथा सुगरिका केसीको उद्घोषणका कारण पनि रोचक रह्यो ।