साप्ताहिक संवाददाता
‘कबड्डी’ र त्यसको सिक्वेल ‘कबड्डी–कबड्डी’ पछि चर्चामा आएका चलचित्र लेखक तथा निर्देशक रामबाबु गुरुङ निर्देशित ‘पुरानो डुंगा’ उनको निर्देशनको तेस्रो चलचित्र हो । आज शुक्रबारदेखि प्रदर्शनमा आउने ‘पुरानो डुंगा’को एउटा गीत ‘निर जहिले रिसाउने’ निकै चर्चामा छ ।
‘कबड्डी’ र ‘कबड्डी–कबड्डी’ पछि निर्देशक रामबाबु गुरुङको नयाँ काम ‘पुरानो डुंगा’लाई बहुप्रतीक्षित चलचित्र मानिएको छ । ‘कबड्डी’ र ‘कबड्डी–कबड्डी’मा झैं निर्देशक गुरुङले नायक दयाहाङ राईलाई नै दोहोर्याएका छन् । यसपटक नायिका भने प्रियंका कार्की छिन् ।
प्रियंकाले ‘कबड्डी–कबड्डी’मा अतिथि भूमिका निर्वाह गरेकी थिइन् । पोखराका दक्ष अभिनेता माओत्से गुरुङ र दयाहाङ राई ‘पुरानो डुंगा’मा दाजुभाइको भूमिकामा देखा पर्छन् । बेगनास तालमा डुंगा खियाएर जीवन चलाइरहेका उनीहरूबीच अंशबन्डा हुँदा एउटा पुरानो डुंगालाई लिएर उत्पन्न विवाद चलचित्रको मूल बिषय हो ।
‘पुरानो डुंगा’ को कथा लेखक तथा कवि उपेन्द्र सुब्बासँगको सहकार्यमा निर्देशक रामबाबु गुरुङ आफैंले लेखेका हुन् । हास्य तथा यथार्थपरक यो चलचित्रलाई शैलेन्द्रध्वज कार्कीले पोखरा तथा पोखरा वरपर खिचेको बताइएको छ ।
निर्देशक : रामबाबु गुरुङ
संगीत : कालीप्रसाद बासकोटा
कलाकार : दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ, मेनुका प्रधान आदि ।
पुरानो डुंगा को अफिसियल ट्रेलर