साप्ताहिक संवाददाता
भारतमा हालै ५ सय र १ हजार रुपैयाँमा लगाइएको प्रतिबन्धका कारण नगदको ठाउँमा अन्य वैकल्पिक मौद्रिक कारोबार गर्नु राम्रो हो भन्ने मान्यता बलियो बन्दै गएको छ । खल्तीमा नगद राख्नुभन्दा बैंकिङ कारोबार वा अन्य प्रविधिमार्फत कारोबार गर्न सहज हुन्छ ।
विश्वमा प्रचलित यस्ता विभिन्न प्रकारका अभ्यास नेपालमा पनि हुन थालेका छन् । दूरसञ्चारको विकास, स्मार्टफोन तथा इन्टरनेट प्रविधिको विकासका कारण यो सबै सम्भव भएको छ । अब घरमै बसेर अनलाइन रूपमा विभिन्न आर्थिक कारोबारसमेत गर्न सकिन्छ । ई–बैंकिङमार्फत संसारको एउटा कुनाबाट अर्को कुनामा सामान किनबेच गर्न सकिन्छ ।
यस्तै प्रविधिलाई पछ्याउँदै नेपालमा पनि अनलाइन सेवा दिने विभिन्न कम्पनी एवं संस्था बजारमा परिचित हुने क्रममा छन् । यस्ता कम्पनीको लोकप्रियता पनि बढ्दो छ । मोबाइलमार्फत पनि यस्ता काम गर्न सकिन्छ । यसका लागि विभिन्न प्रकारका अनलाइन तथा मोबाइल पेमेन्ट गेटवेका रूपमा कार्य गर्न नेपालमा विभिन्न कम्पनीहरू सक्रिय छन् ।
मोबाइल बैंकिङ
नेपाली बजारमा स्मार्टफोनको प्रयोगसँगै मोबाइल बैंकिङको प्रयोग बढ्न थालेको छ । नेपालमा अहिलेसम्म व्यवहारिक भैनसके पनि अन्य देशमा मोबाइल नम्बरलाई नै बैंक खाताका रूपमा प्रयोग गर्ने चलन बढ्दो छ । यसलाई मोबाइल बैंकिङ भनिन्छ ।
मोबाइललाई नै बैंकका रूपमा प्रयोग गर्न बैंकहरूले आफ्नो प्रविधिलाई अपग्रेड गरिरहेका छन् । यसैका लागि आईओएस र एन्ड्रोइड एप पनि बनिरहेका छन् । मोबाइल बैंकिङअन्तर्गत सम्बन्धित बैंकको एप प्रयोग गरेर रकम ट्रान्सफर, बैंक स्टेटमेन्ट, मोबाइल रिचार्ज आदि काम समेत गर्न सकिन्छ ।
आफ्नो मोबाइल नम्बरलाई एउटा बैंकका रूपमा पनि प्रयोग गर्न सकिन्छ । यसका लागि आफ्नो नाममा विभिन्न प्रकारको फाराम भरेपछि त्यहाँ आफ्नो नाम दर्ता हुन्छ । त्यसपछि सम्बन्धित बैंकमा आफ्नो खाता खुल्छ, जसमा मोबाइल नम्बर नै मुख्य पहिचान हुन्छ । त्यसपछि ग्राहकले एसएमएस गरेको भरमा बैंकमा भएको रकम आफ्नो खाताबाट अर्को खातामा सार्न वा विभिन्न प्रयोजनका लागि उपयोग गर्न सकिन्छ ।
अनलाइन तथा मोबाइल पेमेन्ट गेटवे
मोबाइललाई नै उपयोग गरेर विभिन्न प्रकारका सेवा उपलब्ध गराउने कम्पनीहरू अहिले नेपालमा पनि बढिरहेका छन् । ती कम्पनीले नेपाल टेलिकम वा अन्य संस्थाका ग्राहकलाई आवश्यक सेवासमेत उपलब्ध गराइरहेका छन् ।
यी कम्पनीमार्फत टेलिकमका ग्राहकले महसुल तिर्न चाहे निश्चित प्रतिशत थप बोनस दिने व्यवस्था समेत गरेका छन् । नेपाली उपभोक्तालाई नगदविहीन कारोबारमा अभ्यस्त गराउन पनि यस्तो प्रविधिले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गर्न सकिन्छ ।
अहिले ई–सेवाको नाम धेरैले सुनेको हुनुपर्छ । यसको प्रयोग नेपालकै पहिलो पेमेन्ट गेटवेका रूपमा भैरहेको छ । यसअन्तर्गत कुनै पनि मोबाइल नम्बरलाई वालेटका रूपमा प्रयोग गर्न सकिन्छ ।
त्यसमा रहेको पैसालाई अर्को मोबाइलमा पठाउन, बिजुली, पानी, टेलिफोनको महसुल भुक्तानी गर्न, मोबाइल रिचार्ज गर्न, इन्टरनेटको महसुल भुक्तान गर्न, हवाई टिकट खरिद गर्न, क्रेडिट कार्डमा रकम जम्मा गर्न, स्कुल–कलेजको शुल्क बुझाउन तथा बजारमा किनमेल गर्न ई–सेवाको प्रयोग गर्न सकिन्छ । कम्पनीले यसका लागि देशभर एजेन्टको सञ्जालसमेत बिस्तार गरेको छ ।
एटीएमको योगदान
नगदबिनाको कारोबार गर्न नेपालीहरूलाई अभ्यस्त गराउन एटीएमले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । नेपालमा हाल करिब ३५ लाख एटीएम कार्ड प्रचलनमा रहेको बताइन्छ ।
एटीएम अर्थात अटोमेटेड टेलर मेसिनको कथा पनि रोचक छ । सन् १९६५ को कुरा हो । एक दिन एटीएमका आविष्कारक जोन सेफर्ड ब्यारोनलाई पैसाको आवश्यकता पर्यो । उनी बैंक गए, तर एक मिनेट ढिलो हुँदा उनले पैसा पाउन सकेनन् । त्यसपछि नै उनले पैसा निकाल्न कुनै मेसिन निर्माण गर्न सके हुन्थ्यो भन्ने सोचे । एउटा मेसिनबाट चकलेट निकाल्न सकिन्छ भने पैसा पनि त निकाल्न सकिन्छ भन्ने उनको सोचाइ थियो । त्यसपछि नै उनले एटीएम मेसिनको निर्माण गरेका थिए ।
जोन सेफर्डले पहिले ६ अंकको पिन राख्ने विचार गरेका थिए, तर श्रीमतीका कारण उनमा फरक विचार आयो । श्रीमतीले ६ अंक सम्झिन गाह्रो हुन्छ बरु ४ अंक राख्नु उपयुक्त हुन्छ भन्ने सुझाव दिएकी थिइन् । त्यसपछि नै उनले ४ अंकको पिन बनाए ।
धेरै विशेषज्ञहरू पहिलो अटोमेटेड बैंकिङ मेसिनको निर्माण अमेरिकी आविष्कारक तथा व्यापारी लुथर सिमजियनले सन् १९३९ मा गरेको मान्छन् । यद्यपि ग्राहकहरूले उक्त मेसिन प्रयोग नगरेकाले त्यो खासै प्रचलनमा आएन । त्यसपछि अमेरिकामा डोनाल्ड वेजेलले पहिलो अटोमेटेड बैंकिङ मेसिन सन् १९६९ मा त्यहाँको केमिकल बैंकमा उपलब्ध गराएका थिए ।
नगद अर्थात क्यास निकाल्ने पहिलो एटीएम सन् १९६७ को जुन २७ मा लन्डनको बारक्लेज बैंकमा राखिएको थियो । विश्वमा सर्वाधिक अग्लो स्थानमा सबैभन्दा पहिले एटीएम भारतको तिब्बत–सिक्किम सीमामा रहेको नाथुलामा राखिएको थियो । हाल पाकिस्तानको खुन्जेराव पासस्थित नेसनल बैंक अफ पाकिस्तानले राखेको एटीएम नै सर्बाधिक उचाइमा राखिएको एटीएम हो । यो १५ हजार ३ सय ९७ फिटको उचाइमा अवस्थित छ ।
एटीएमलाई फरक फरक देशमा फरक फरक नाम लिइन्छ । बेलायत र न्युजिल्यान्डमा यसलाई क्यास प्वाइन्ट वा क्यास मेसिन भनिन्छ । त्यसैगरी अष्ट्रेलिया र क्यानाडामा यसलाई मनी मेसिन भनिन्छ ।
विश्वको अवस्था
नगदविहीन कारोबार गर्ने क्रममा स्वीडेनको नाम अग्रपंक्तिमा आउँछ । राष्ट्रिय कारोबारको हिस्सा हेर्दा त्यहाँ करिब ३ प्रतिशतले मात्र नगद कारोबार गरेको पाइन्छ । यो संख्या पूरै युरोजोन क्षेत्रमा ९ प्रतिशत छ भने अमेरिकामा ७ प्रतिशत ।
स्वीडेन अहिले विश्वकै पहिलो क्यासलेस सोसाइटी बन्ने क्रममा छ । स्वीडेनमा प्रत्येक ५ मध्ये ४ कारोबार क्यासलेस अर्थात् नगदविहीन हुन्छ । रिटेल स्टोरमा हुने ९५ प्रतिशत कारोबार क्रेडिट कार्डको माध्यमले हुन्छ । त्यहाँ सन् २०१० र २०१२ को अवधिमा मात्रै बैंकका करिब ५ सय शाखाले नगदबिहीन कारोबार गर्न थालेका थिए भने करिब ९ सय एटिएम मेसिन आवश्यक नभएरै बन्द गरिए । त्यहाँका सार्वजनिक बसमा समेत स्मार्ट कार्ड प्रयोग हुन्छ ।
सोमालियालगायतका अफ्रिकी राष्ट्रमा पनि मोबाइललाई वालेटका रूपमा प्रयोग गर्ने चलन बढ्दो छ । सडकमा हिँड्ने बटुवा तथा सडक व्यापारीले समेत मोबाइल फोनमार्फत नै कारोबार गर्छन् । सन् २०१२ मा गरिएको एउटा सर्वेक्षण अनुसार त्यहाँ प्रत्येक महिना एक जना उपभोक्ताले मोबाइल फोनमार्फत ३४ पटक कारोबार गरेको देखियो । यो संख्या विश्वका कुनै पनि देशमा भएको कारोबारमध्ये सबैभन्दा बढी हो ।
केन्या यस्तै कारोबारमा नाम चलेको अर्को देश हो । त्यहाँ मोबाइल मनीको कारोबार गर्ने एम–पेसा नामक संस्थाका डेढ करोड ग्राहक छन् । एम–पेसाले प्रारम्भमा देशका ग्रामीण क्षेत्रका जनताका बीच एक–अर्कालाई पैसा पठाउन मोबाइल मनीको प्रयोग गरेको थियो । हाल यो तलब बुझ्न, विद्यालयको शुल्क तिर्नलगायत अन्य विभिन्न कार्यमा समेत उपयोग हुन थालेको छ ।
क्यानाडाको उदाहरण त अझ रोचक छ । सन् २०१३ को जनवरी १ यता त्यहाँ नयाँ नोट नै प्रिन्ट भएको छैन । अन्य कुराका अतिरिक्त यसको मुख्य कारण नगदविहीन कारोबार नै हो । पेपाल क्यानाडाले गरेको एक अध्ययनअनुसार ५६ प्रतिशत क्यानेडियन डिजिटल वालेटको प्रयोग गर्न रुचाउँछन् । प्लास्टिक पेमेन्टको क्षेत्रमा क्यानाडा विश्वमै अग्रणी छ । क्यानाडामा क्रेडिट कार्ड, डेबिट कार्ड तथा बैंक कार्डबाट मात्र ७० प्रतिशत कारोबार हुन्छ, जबकि समग्र विश्वमा औसत ४० प्रतिशत मात्र यस प्रकारको कारोबार हुन्छ ।
एसियामा दक्षिण कोरियालाई नगदबिहीन कारोबारको क्षेत्रमा अग्रणी मानिन्छ । त्यहाँ यस प्रकारको कारोबारलाई प्रोत्साहन गर्न विभिन्न प्रकारको उत्प्रेरणा पनि दिइन्छ । यो क्षेत्रमा अग्रणी मानिने अन्य राष्ट्रमा अस्ट्रेलिया, सिंगापुर, हङकङ, अमेरिका, नाइजेरिया आदि छन् ।