नेपालमा मंसिर महिनालाई विवाह धेरै हुने महिनाका रूपमा लिइन्छ । अविवाहितलाई जिस्काउन परे ‘यसपालाको मंसिरमा त बाजा घन्काउने होला नि ? यसपालाको मंसिरमा त बिहेभोज खान पाइएला नि ? मंसिरमा त जन्ती लाने होला नि ? मंसिरमा त घुम्टो ओढने होला नि ?’ जस्ता अनेक प्रश्न तेस्र्याएर आफ्ना वरपर भएका साथीभाइ, आफन्तले अविवाहित केटा होस् वा केटीलाई यस्तो मानसिक दबाब सिर्जना गर्छन् कि मानौं उनीहरूले सारा खर्चबर्च र जिम्मेवारी नै वहन गरिदिनेछन् । यसरी केर्छन् कि उनीहरूले भनेको बेला विवाह नगरेर गम्भीर अपराध नै भैरहेको छ ।
कानुनले संरक्षक भए १८ वर्ष पुग्नुपर्ने र राजीखुसी विवाह गर्नुपर्ने भए २० वर्ष पुगेको हुनुपर्ने भन्ने प्रावधान बनाएको छ, तर त्यसभन्दा कम उमेरमा र यदाकदा ६० नाघेपछि पनि विवाह गरेका वा गराइएका घटना सुन्न–देख्न पाइन्छ । चेतनशील मानिसका लागि विवाह गर्ने कि नगर्ने वा कहिले गर्ने भन्ने उसको व्यक्तिगत खुसी र चाहनाको विषय हो । कसैले सल्लाह दिनु मनासिव होला तर दबाब नै दिएर मनोवैज्ञानिक त्रास सिर्जना गर्नुचाहिँ उचित होइन ।
समयक्रमसँगै समाजमा विवाह गर्ने परिपाटी, समय, उमेर तथा कारणमा परिवर्तन आउँदै गयो । कुनै जमानामा रजस्वला हुनुभन्दा अघि नै कन्यादान दिए पुण्य पाइन्छ भन्ने रुढिवादी धारणाले बालविवाह गराइदिने चलन थियो । बिस्तारै समाजमा चेतनाको विकास हुँदै आयो र कमसेकम केटी मानिसको रजस्वला नभै विवाह गरिनु हुन्न भन्ने भयो, पछि पूर्ण रूपमा शारीरिक विकास हुनुपर्छ भनेर कानुनले हदबन्दी लगाएर विवाहलाई व्यवस्थित गर्न खोजेको हुनुपर्छ ।
समाजमा कृषिमा आधारित अर्थतन्त्र छउन्जेल केटी छान्नुपर्दा काम गर्न सक्ने, घर गरिखाने खालको हुनुपर्छ भनिन्थ्यो । अझ लाज पचाएर भन्नुपर्दा विवाह गरेर जीवनसाथी ल्याउने, बुहारी भित्र्याउने भन्दा पनि घरमा काम गर्न वैधानिक तवरले नयाँ मानिस ल्याउने भन्ने हिसाबले हेरिन्थ्यो ।
अहिले पनि गाउँघरमा र कतै–कतै सहरमै पनि बुहारी आएपछि घरका सबै काम गर्छे, घरमा बुहारी भैकन पनि कति आफैं काम गर्या, बुहारी ल्याएर नि सुख काट्न पाइएन भनेजस्ता कुरा सुन्न पाइन्छ । सहरमा चाहिं आजकाल केटी वा बुहारी पनि कमाउने हुनुपर्छ भन्न थालिएको छ जसले गर्दा घरव्यवहार चलाउन सजिलो होस् । समयको मागसँगै समाजका अवधारणा अनि रूपहरू फेरिँदै जान्छन् ।
विवाह गर्दा केटाले केटीमा हेर्ने र केटीले केटामा हेर्ने गुणका मापदण्डहरू मनमनै बनाएका हुन्छन् । यो व्यक्तिपिच्छे फरक पर्छ । कुनै बेला कुलघरानकी छोरी, जग्गाजमिन धेरै भएको केटो हेरिन्थ्यो । आजकाल सहरमा घर, गाडी, अन्य सम्पत्ति, राम्रो आयश्रोत हुने जागिर वा व्यवसाय भएको केटो वा परिवार हेरिन्छ । केटीको रूप र चालचलन अहिले पनि हेरिन्छ भने अचेल केटी कमाइ गर्न कत्तिको सक्षम छिन्, त्यो पनि हेरिन्छ ।
अझ विदेशमा बस्नेहरू त नर्स वा यस्तै प्राविधिक दक्षता भएकै केटी मात्र छानीछानी विवाह गर्ने र केटीले पनि विदेशमा बसेको भनेपछि अरू केही विचार नगरी विवाहको निर्णय लिएको पाइन्छ । जति नै होइन भने पनि आर्थिक रूपले सुरक्षित हुने चाहना धेरैमा हुन्छ । सामाजिक सञ्जालमा हालै पल्सरवालाकी प्रेमिका स्पलेन्डर चढने, डाक्टर वा ग्रिन कार्ड–पिआरधारीहरूले उडाइदिने महिनालाई मंसिर भनिन्छ रे भनेर हाँसो गरिएको थियो, जसको अर्थ केलाउँदा आर्थिक रूपले व्यवस्थित भएकाले विवाहमा निर्णायक भूमिका खेल्छन् भन्न खोजिएको हुनपर्छ । परिवारको रहर एवं व्यक्तिगत चाहनामा पनि विवाह ढिलोचाँडो हुन सक्छ ।
हिजोआज विवाहपछि काम गर्ने स्वतन्त्रता एवं अन्य व्यक्तिगत स्वतन्त्रता गुम्ने भयले पनि विवाह नगर्ने वा ढिलो गर्ने चलन शिक्षित युवायुवतीमा विकसित हुँदै गएको छ । विदेशमा आयआर्जनका लागि गएकाहरूको उमेर धन कमाएर व्यवस्थित हुन खोज्दाखोज्दै घर्किन थालिसक्छ ।
विकसित देशको स्थायी बसोबास अनुमति प्राप्त केटालाई केटी दिन पाए वा विवाह गर्न पाए जीवन सुखमय, सुरक्षित र हराभरा हुन्छ भन्ने हौवा र भ्रम पनि समाजमा विद्यमान छ । पछि वैचारिक मतभिन्नताका कारण कतिपयको सम्बन्ध टुटेका उदाहरण पनि त्यही मात्रामा सुनिएकै छ । विवाहलाई पनि व्यापारका रूपमा लिने प्रचलनले सम्बन्धहरू दूषित बन्दै गएका छन् । स्वार्थले बनेको सम्बन्धले सुविधा त देला तर सुख र सन्तोष कहिल्यै दिन सक्दैन ।
अचेल पढेलेखेका युवामा मै हुँ भन्ने अहं अनि आफूभन्दा योग्य वा आफूबराबरको हैसियत भएको जीवनसाथी भेटिएन भन्दै एकल रहने चलन पछि छ भने विवाह नगरी लिभिङ टुगेदर वा सहबसोबासले पनि जरो गाड्दैछ । विदेशमा अध्ययन वा कामले गएका धेरै नेपाली युवायुवती यसरी बसेको देख्न सकिन्छ, कतिले पछि विवाह नै गर्छन् भने कतिले अलग–अलग बाटो पनि रोज्छन् । पहिले परिवार वा समाजको लोकाचारका लागि पनि चाँडै विवाह हुन्थ्यो भने अचेल यसलाई व्यक्तिगत चाहना र स्वतन्त्रतासँग जोडेर हेर्न थालिएको छ, तर समाजले विवाह कहिले गर्ने भनेर प्रश्न सोध्नचाहिं छोडेको छैन ? विवाहको साइनो सन्तान उत्पादनसँग पनि जोडिएको छ । अविवाहित जोडीले जन्माएको सन्तानले सामाजिक वैधता पाउन हम्मे नै पर्छ ।
सोझो अर्थमा भन्नुपर्दा विवाह केटा वा केटीलाई सँगै रहन बस्न दिई सन्तान उत्पादन गर्न दिइने सामाजिक अनुमति पत्र हो । केटालाई केटी खोजिदिने, केटीलाई केटा खोजिदिने, यो हैसियतको छ, यस्ती रूपवती छ भनेर मोलमोलाइ र बढाइचढाइ गरी सम्बन्धको व्यापार गर्न–गराउन खोज्ने मान्छे घरभित्रै र समाजमा बग्रेल्ती भेटिन्छन् । विवाह गरेर पछुताउने अनि विवाह गर्न नसकेर चुकचुकाउने पनि उत्तिकै फेला पर्छन् तैपनि विवाह नहुन्जेलसम्म समाजले विवाह कहिले गर्ने भनेर प्रश्न गर्नचाहिं छोडदैन ।
विवाह कहिले गर्ने, कोसँग गर्ने, कसरी गर्ने, किन गर्ने भन्ने तमाम प्रश्नको जवाफ आफ्नो मनले पाएपछि मात्र गर्नु उचित हुन्छ । लहैलहै, बहकाउ, ललाइफकाइ, नाफाघाटा, रूप र सम्पत्तिमा गाँसिएको विवाहको माला त कतिबेला चुँडिने हो के ठेगान ?