साप्ताहिक संवाददाता
मंसिर १५, २०७३
आफ्ना गीतका कारण चर्चामा रहने गायिका तथा सञ्चारकर्मी कोमल वली यो साता राजनीतिक कारणले चर्चामा आइन् । राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेको प्रसंगले कोमललाई चर्चामा ल्याएको हो । दुई राप्रपाको एकीकरणसँगै पार्टी प्रवेश गरेकी कोमललाई शुभकामना तथा बधाई बर्सिने क्रममा अभिनेता दीपकराज गिरीले भने उनलाई आफ्नै शैलीमा बधाई दिए ।
फेसबुकमार्फत गिरीले कोमलको राप्रपा प्रवेशप्रति टिप्पणी गर्दै लेखेका छन्— ‘महादेव जस्तो पोइ चाहियो भनेर एउटा पशुपतिनाथलाई गुहार्दा–गुहार्दै अर्को पशुपतिको पार्टीमा जानु भएछ । एउटा पशुपतिको कृपाले वर नपाए पनि पशुपतिशमशेरको पार्टीबाट जनताको सेवा गर्ने तपाईंको इच्छा सफल होस् ।’ आफ्नो स्टाटसमा दीपकले भनेका छन्— ‘कलाकार जुनसुकै पार्टीमा जाउन्, देश र जनताको सेवा होस् । कोमलजीलाई शुभकामना ।’