साप्ताहिक संवाददाता
मैले विपिन कार्कीलाई हरेक प्रकारको भूमिकाका जम्न सक्ने कलाकारका रूपमा पाएँ । रंगमञ्चबाट आएकाले पनि होला, उहाँबाट मैले अभिनयको केही नयाँ शैली सिक्ने अवसर पाएकी छु ।
वर्षा राउत, अभिनेत्री
सबै मानिसलाई पृथ्वीमा केही न केही गर्न पठाइएको हुन्छ । बिपिन कार्कीलाई चाहिँ अभिनय गरेर खा भनेर पठाइएको हो । बिपिन अभिनय दौडको लामो रेसको घोडा हुन् भन्दा फरक पर्दैन । कम बोल्ने धेरै काम गर्ने मान्छे ।
प्रदिप भट्टराई, निर्देशक
बिपिन र म एउटै गाउँको भएकाले म उसलाई बाल्यकालदेखि नै चिन्छु । ऊ स्कुल पढ्दा अलि छुकछुके र साथीहरूसँग मिलेर बदमासी गर्ने स्वभावको भए पनि अध्ययनमा भने अब्बल थियो । पहिले जीवनको जिम्मेवारीभन्दा पनि होहल्ला र रमाइलो गर्ने स्वभावको थियो । जब ऊ रंगकर्ममा लाग्यो, त्यसपछि भने जीवन एवं आफ्ना जिम्मेवारीहरूप्रति गम्भीर भएको पाएँ । गहिरिएर सोच्ने, हरेकसँग अनि हरेक परिस्थितिमा भिज्न सक्ने तर ठट्टा गर्नचाहिँ पहिले कै जस्तो रमाइलो र सहयोगी ।
कमलमणि नेपाल, कलाकार
विपिन कार्की बहुप्रतिभाशाली कलाकार हुन् । मैले उनका तीनवटै चलचित्र (छड्के, पशुपतिप्रसाद र जात्रा) हेरेको छु । तीनवटै चलचित्रमा उनको भूमिकाबाट म प्रभावित पनि छु । विपिनजस्तो भूमिका दिइए पनि निर्वाह गर्न सक्ने क्षमता भएको कलाकारका रूपमा स्थापित भएका छन् भन्नुपर्दा फरक पर्दैन । उनी अभिनयमा जति सशक्त छन्, व्यक्तिगत रूपमा पनि उत्तिकै असल छन् ।
नरेश भट्टराई, सञ्चारकर्मी
मेरो विचारमा बिपिन कार्की अभिनयकै लागि जन्मनुभएको हो । उहाँको सबै भन्दा राम्रो तथा बलियो पक्ष भनेकै उहाँले हरेक चरित्रलाई शतप्रतिशत न्याय गर्न सक्नु हो । उहाँ अलि रिजर्भ स्वभावको हुनुहुन्छ । हरेक पटक भेट्दा उहाँ आगामी कुनै चलचित्रको चरित्रमा डुबिरहनुभएको छ कि जस्तो लाग्छ । यो मेहनतले नै आज उहाँ यो उचाइमा पुग्न सफल हुनुभएको हो ।
दीपक आचार्य, कलाकार