नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान विराज महर्जनको परिचयका धेरै आयाम छन् । उनी निकै मेहनत गर्न रुचाउने खेलाडी हुन् । विराज सोझा पनि मानिन्छन्, बोल्न लजाउँछन् । सार्वजनिक रुपमा कम बोले पनि नजिकका साथीभाइसँग भने खुलेरै बोल्छन् ।
उनी उत्तिकै इमान्दार पनि छन् । उनको खेलप्रतिको लगावमा कुनै खोट छैन । उनको त्योभन्दा पनि ठूलो परिचय हो– उनी नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान हुन् । नेपालको राष्ट्रिय फुटबल टिमले गति लिन थालेको उनकै कप्तानीमै हो ।
अहिले चारैतर्फ नेपाली फुटबल टिमले पछिल्लो समय प्राप्त गरेको सफलताको चर्चा छ । भर्खरै नेपालले मलेसियाको कुचिङमा भएको एएफसी सोलिडारिटी कप जितेको छ । नेपालका लागि यो (फुटबलमा) उपाधिको ह्याट्रिक पनि थियो । यसअघि नेपालले बंगलादेशमा भएको बंगबन्धु गोल्डकप तथा भारतमा भएको दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा स्वर्ण जितेको थियो ।
सम्भवत: यतिबेला नेपाली राष्ट्रिय फुटबल टिम आफ्नो इतिहासमै सर्वाधिक सुखद लयमा छ । टिमले लगातार खेल जितिरहेको छ । गोल गर्ने कला फेरि सिकेको छ । यस्तोमा कप्तानका रूपमा विराजको राष्ट्रिय टिममा आगमन नै नेपाली फुटबलको ‘भाग्य’ को कारण बनेको हो त ? अथवा भनौं, उनी नेपाली राष्ट्रिय टिमका लागि ‘लक्की’ कप्तान हुन त ? राष्ट्रिय टिमको खराब प्रदर्शन तथा खेल मिलोमतोको घटनाक्रमयता नेपाली फुटबललाई अहिलेको स्थितिसम्म ल्याइ पुर्याउन पक्कै पनि विराजको ठूलो योगदान छ । कतिपय खेल विश्लेषक नेपाली फुटबल टिमको अहिलेको सुखद यात्राको धेरै ठूलो श्रेय कप्तान विराजलाई नै दिन्छन् ।
यस्तो श्रेय विराजजस्ता चुपचाप खेल्न रुचाउने खेलाडीप्रति न्यायोचित पनि हो । पूरा बंगबन्धु गोल्डकपमा नेपालले उनकै नेतृत्वमा खेलेको थियो । विराजले कप्तानीको पहिलो अवसर भने केरलाको त्रिवेन्द्रममा सम्पन्न साफ च्याम्पियनसिपमा पाएका थिए, उक्त प्रतियोगिताको लिग चरणको आफ्नो दोस्रो खेलमा नेपालले भारतको सामना गरेको थियो ।
श्रीलंकाविरुद्धको पहिलो खेलमा अनिल गुरुङ कप्तान थिए । भारतविरुद्धको दोस्रो खेलमा भने अनिलले सुरुदेखि खेल्न मौका पाएनन्, परिणामस्वरुप विराजले नेपाली टिमलाई नेतृत्व गर्ने अवसर पाए । त्यसपछिको इतिहास हामी सबैलाई थाहा छ ।
सफलताको त्यो क्रम अझै जारी छ । अहिले टिम घोषणा हुँदा अनिल कप्तान रहे पनि उनी पहिलो रोजाइका खेलाडी हुन छाडेका छन् । त्यसैले मैदानमा टिम उत्रिदा कप्तानको ‘आर्म ब्यान्ड’ विराजकै हातमा रहने गरेको छ । विराजलाई विवादबाट टाढा रहने खेलाडी मानिन्छ । अहिलेको नेपाली टिममा सबैभन्दा अनुभवी खेलाडी पनि विराज नै हुन् । रक्षापंक्तिको जिम्मेवारी सम्हाल्ने विराज अवसर मिलाएर ओभर ल्यापिङमा खेल्न पनि माहिर छन् ।
धेरैले अनुभव गरेको हुनुपर्छ, नेपाली टिमले खेल्नुपर्छ, मैदानमा सबैभन्दा सक्रिय हुने खेलाडी विराज नै हुन्छन् । उनी पूरा मैदानमा छाउँछन् । एन्फा एकेडेमीको दोस्रो ब्याचको उत्पादन विराजले सन् २००८ मा नेपाली टिमका लागि पहिलो पटक खेल्ने अवसर पाएका हुन् । त्यति बेला नेपाल भ्रमणमा रहेको पाकिस्तानविरुद्ध पोखरामा भएको पहिलो इन्टरनेसनल फ्रेन्ड्लीका क्रममा विराजले पहिलो पल्ट नेपाली टिमको जर्सि लगाएका थिए । त्यहीं बेलादेखि उनले पछाडि फर्केर हेर्नुपरेको छैन ।
भारतविरुद्ध गत वर्षको फ्रेन्ड्ली म्याचमा नेपालका लागि ५० औं खेल खेलेका विराजको परिवार नै फुटबलमय छ र उनले त्यही वातावरणमा हुर्कने, बढ्ने र सिक्ने अवसर पाए । दशरथ रंगशाला नजिक रहेको त्रिपुरेश्वरको आँखा अस्पताल नजिकै उनको परिवारको बसोबास छ । उक्त परिवारको फुटबल प्रेम स्थानीय ब्वाइज युनियनसँग जोडिएको छ ।
यो क्लबबाट यो परिवारका अधिकांश सदस्यले कुनै न कुनै समय खेलेका छन् । यही परिवारका तीन सदस्यले कुनै न कुनै उमेर समूहमा नेपाली टिमबाट पनि खेलेका छन् । विराजसँगै उनका काका रत्नकाजी तथा दाजु विक्रम पनि कहलिएका फुटबल खेलाडी हुन् । विराजका बुबाका छ दाजुभाइ थिए, त्यसमध्ये अधिकांशले कुनै न कुनै अवसरमा फुटबल खेले । अधिकांसले स्थानीय ब्वाइज युनियनबाट खेले र त्यसमध्ये बुबा बाबुकाजी महर्जन पनि एक हुन् । खेलाडीका रूपमा काका रत्नकाजीलाई पनि बाबुकाजीले नै छोरा जस्तै हुर्काएका हुन् ।
क्लब फुटबलमा उनीहरूले राम्रै नाम कमाए पनि राष्ट्रिय टिमबाट खेल्ने अवसर भने विराजले मात्र पाए । काका रत्नकाजीले यू–२३ सम्म खेले । दाजु विक्रम महर्जन अहिले फुटबल प्रशिक्षकका रूपमा सक्रिय छन् । विक्रम एन्फाको पहिलो ब्याचका उत्पादन मात्र होइनन, कप्तान पनि थिए, तर उनले लामो समय फुटबल खेल्न पाएनन् । उनी यू–१९ टिमभन्दा अघि बढ्न सकेनन् । विक्रम र विराज जुम्ल्याहाजस्तै देखिन्छन् । उनीहरूको खेल्ने शैली पनि उस्तै छ । उनीहरू दुवैको खेल हेर्नेहरू, खेलकै आधारमा उनीहरूको योग्यता र कौशल छुट्याउन नसकिने दाबी गर्छन् । विराजको परिवारले नेपाली फुटबलका लागि पर्याप्त योगदान गरेको छ ।
को के भन्छन् ?
विराजको सबैभन्दा राम्रो पक्ष अनुशासन हो । यस्तै उनी लगनशील छन् । लक्ष्य प्राप्तिप्रति समर्पित देखिन्छन् । प्राविधिक रूपमा भन्नुपर्दा उनको फुटवर्क निकै राम्रो छ । अहिले उपलब्ध खेलाडीहरूमा उनी अगाडि छन् । यदि नेपालले लगातार जितेको तीन उपाधिमा उनी नै कप्तान हुन् भने पक्कै पनि उनमा केही राम्रो गुण त हुनैपर्छ ।
बालगोपाल महर्जन, प्रशिक्षक
विराज फुटबलमा मेरा सबैभन्दा मिल्ने साथी हुन् । हामी एन्फा एकेडेमीमा सँगै थियौं । हामीले राष्ट्रिय टिमबाट पनि सँगै डेब्यु गर्यौं । विदेशमा जाँदा मेरो रुम पार्टनर पनि उनी नै हुन्छन् । त्यसैले हामीबीच सुख–दु:खदेखि सबै कुरा हुन्छ । हामी एक–अर्कामा आफ्ना सबै कुरा सेयर पनि गर्छौं । उनी राम्रो खेलाडी हुन् । उनी प्राय: चोटबाट जोगिँदै खेल्ने खेलाडी हुन् । त्यसैले उनी अहिलेसम्म चोटग्रस्ट भएका छैनन् । यो उनको राम्रो पक्ष हो ।
भरत खवास, राष्ट्रिय खेलाडी
हामी एउटै ब्याचका हौं, तर म उनलाई विराज दाइ भन्छु । सुरुमा उनी निकै लजालु थिए, अहिले भने राम्रो बोल्ने बानी छ । मसँग त फ्य्रांक छन् । विराज दाइसँग सबैको अपेक्षा बढेको छ । उनको जिम्मेवारी पनि बढेको छ । उनकै नेतृत्वमा तीनवटा उपाधि जितेपछि यो स्वभाविक पनि हो । त्यसैले विराज दाइले अझ मेहनत गर्नुपर्छ, फिटनेसमा बढी ध्यान दिनुपर्छ ।
रबिन श्रेष्ठ, राष्ट्रिय खेलाडी
मैले राष्ट्रिय टिमबाट खेल्न पाइनँ । त्यो मेरो ठूलो सपना थियो, तर पूरा भएन । अहिले भाइ विराजले राष्ट्रिय टिमको नेतृत्व गरिरहेका छन् । विराजले खेल्दा मलाई आफैं राष्ट्रिय टिमबाट खेले जस्तो लाग्छ । विराज मभन्दा कान्छा भए पनि हामीलाई जुम्ल्याहा दाजुभाइ भन्नेहरू पनि छन् । उनको प्रगतिमा म निकै खुसी छु ।
विक्रम महर्जन, दाजु, पूर्वखेलाडी तथा प्रशिक्षक
हाम्रो परिवारले नेपाली फुटबललाई तीन खेलाडी दिएको छ, रत्न, विक्रम र विराज । त्यसमध्ये विराजले राष्ट्रिय टिमबाट खेले । उनी कप्तान पनि भए । हाम्रो पूरा परिवार उनको प्रगतिमा खुसी छ ।
बाबुकाजी महर्जन, बुबा
मनपर्ने
क्लब : म्यानचेस्टर युनाइटेड
राष्ट्रिय टिम : ब्राजिल
खेलाडी : रोबर्टो कार्लोस र
प्याट्रिक एभरा
जुत्ता : नाइक
पहिरन : क्याजुयल
गायक : आतिफ अस्लम
गायिका : टेलर स्विफ्ट,्
सुनिधि चौहान
नायक : रणवीर कपुर
नायिका : दीपिका पादुकोण