साप्ताहिक संवाददाता
ऊ मान्छे मात्र सानो थियो, तर उसका सपना ठूला थिए । ठूलो गायक हुने । नाम कमाउने । देश विदेश डुल्ने । अटोग्राफ दिने । अलिअलि त गाउँथ्यो पनि । उसको स्कुलमा राम्रो गाउने दुई जना सिनियर थिए । ऊ सात क्लासमा पढ्दा ती दुवै दसमा पढ्थे । उनीहरू स्कुलको हरेक कार्यक्रममा गाउँथे । ऊ भीडमा कतै बसेर उनीहरूको गीत सुन्थ्यो र प्रभावित हुन्थ्यो । ती दुवैले स्कुल बाहिर पनि गीत गाएर धेरै मेडल तथा प्रशंसापत्रहरू पाउँथे । स्कुलको एसेम्ब्लीमा हेडमास्टरले उनीहरूलाई मञ्चमा बोलाएर अबिर लगाइदिएको दृश्यले उसमा बेग्लै उत्साह थप्थ्यो ।उसलाई मन थियो, ती दुवै दाइसित भेटेर कुरा गर्ने । केही सरसल्लाह लिने । उनीहरूजस्तै राम्रो गाउन के गर्ने ?
भेटेर उनीहरूसँग सोधूँजस्तो लाग्थ्यो, तर डर र संकोचले ऊ उनीहरूको छेउ पर्न सकिरहेको थिएन । एक दिन ऊसले मौका पायो । दुईमध्ये एक जनासित उसको भेट भयो । निकै बेरसम्म बोलूँ–नबोलूँको दोसाँधमा रह्यो । अन्तत: उसले बोल्ने संकल्प गर्यो र भन्यो, ‘दाइ यति राम्रो कसरी गाउनुहुन्छ ? मलाई पनि सिकाइदिनुस् न †’
सिनियर दाइले ऊतिर राम्रोसँग हेर्दा पनि नहेरी जवाफ दियो, ‘तँ पनि गाउने ? यो त ट्यालेन्ट हो फुच्चे । जो पायो त्यसलाई कहाँ आउँछ ? प्रतिभा सिकेर हुँदैन, जन्मजात आउनुपर्छ ।’ ऊ यो जवाफ सुनेर निराश भयो । अलिअलि जानेको गीत–संगीत पनि बिर्सिएझैँ लाग्यो । के ममा त्यो ट्यालेन्ट छैन त ? के म राम्रो गाउँदिनँ ? ऊ आफ्नो क्षमता देखेर अलमलमा पर्यो । कसलाई सोध्नु ? कसरी थाहा पाउनु ?
संयोगले नै भनौँ, त्यसको दुई–तीनदिनपछि उसले अर्का दाइसित नजिक हुने अवसर पायो । यसपटक पनि ऊ निकै बेर बोलूँ–नबोलूँको उल्झनमा फस्यो । राम्रो जवाफको आशा नगरी उसले उही प्रश्न सोध्यो, ‘यति राम्रो कसरी गाउनुहुन्छ दाइ ? मलाई पनि केही टिप्स दिनुस् न ।’
डराई–डराई सोधेको थियो उसले यो प्रश्न ।
ती दाइले ऊतिर फर्केर मुस्कुराउँदै जवाफ दिए, ‘म र तिमीमा के फरक छ र भाइ ? म तिमीभन्दा केही वर्ष अघि निस्किएँ यो यात्रामा र यहाँ छु । तिमी अलिक ढिलो निस्किएका त हौ नि † सँगै निस्किएका थियौँ भने सँगसँगै हुन्थ्यौँ होला अथवा के थाहा तिमी पो अघि बढेका हुन्थ्यौ कि ? संगीतमा रुचि छ भने तिमीले पक्कै मेहनत गर्नेछौ र मेरो उमेरसम्म आइपुग्दा मभन्दा पनि राम्रो गाउने भै हाल्छौ नि ।’
ती दाइको जवाफ सुनेर ऊ छक्क मात्र परेन, फुरुङ्ग पनि भयो । किनभने यो जवाफ उसले आशा गरेभन्दा विपरीत थियो । उसलाई राम्रै प्रेरणा मिल्यो । गीत दुवै दाइले राम्रो गाउँथे तर दुवैप्रति उसको धारणा फरक भयो । आफूमात्र राम्रो भएर के हुन्छ र ? आफूभित्रको राम्रोपन अरूमा सार्न सकिएन भने ? हलक्क बढेको, धेरै ठाउँ ओगटेको वृक्षको केही अर्थ हुँदैन यदि त्यो वृक्ष मान्छे, पशु, पन्छी वा अरू कसैको काम आउन सकेन भने । त्यो बाटोको के अर्थ होला र, जुन बाटोबाट कहीँ पुगिँदैन भने ? उसले महसुस गर्यो, असल मानिसहरू चमेली र पारिजातभन्दा कम हुँदैनन्, उनीहरूको महानताको सुगन्ध निरन्तर फैलिरहन्छ ।
आखिर भयो पनि त्यस्तै । पहिलो दाइ जसमा आफ्नो कलाप्रति घमन्ड थियो, पछि पनि सुध्रिएनन् । केही समय बाढी आएसरि देशमा हल्लाखल्ला मच्चाए र कता हो पलायन भए । दोस्रा दाइ सागरको विशालतामै आफ्नै व्यक्तित्व मिसिएझैँ भएर वाहवाही बटुलिरहे र आदर्श गायक बनेर टिकिरहे । हो, उसले यतिबेला आएर बुझ्यो, मान्छे केवल कलाले मात्र ठूलो हुँदैन, ठूलो हुनलाई मान्छे आफैँ असल हुनुपर्छ । मान्छेलाई उसको क्षमताले त बिकाउँछ मात्र, तर ऊभित्रको नम्रताले उसलाई सधैँ टिकाउँछ ।