साप्ताहिक संवाददाता
एवार्ड घोषणा गर्न स्टेजमा बोलाइएका सेलिब्रेटीले विजेताको नाम मात्र बोलाउने, चलचित्रको नाम उल्लेख नगर्ने परिपाटी प्रारम्भदेखि अन्त्यसम्मै कायम रहे पनि शनिबार आयोजित कामना फिल्म एवार्ड–२०७३ का एवार्ड विजेताप्रति खासै गुनासो सुनिएन ।
गायिकाको विधामा अञ्जु पन्त विभिन्न तीनवटा चलचित्रमा मनोनीत थिइन्, एवार्ड घोषणा गर्दा विजेताका रूपमा उनको नाम त घोषणा गरियो तर चलचित्रको नाम लिइएन । केही मिनेटसम्म अञ्जु पन्त स्टेज नउक्लिएपछि हास्य अभिनेत्री दीपाश्री निरौला स्टेज चढ्न तयार भइन् तर त्यहिबेला गायिका पन्त स्टेजतर्फ लम्बिएपछि दीपाश्री आफ्नै ठाउँमा बसिन् ।
प्राविधिक पक्ष फितलो भए पनि कामना फिल्म एवार्ड–२०७२ विवादरहित शैलीमा सम्पन्न भएको छ । भारतबाट निम्त्याइएको नृत्य समूहको प्रस्तुतिपछि समारोहमा प्राविधिक समस्या देखा पर्यो । प्राविधिक समस्याकै कारण एउटा मात्र खुट्टाले नृत्य गर्ने नृत्यांगना रोमा न्यौपाने नृत्य नै नगरी स्टेजबाट बिदा भइन्।
भने एवार्ड वितरण गर्न स्टेजमा उक्लिएका चलचित्रकर्मीहरू लामो समय प्रतीक्षा गर्नुपर्दा निराश देखिन्थे । एवार्डका विधा बढी भएकाले मनोरञ्जक प्रस्तुति कम भएको गुनासो एकातिर सुनियो भने अर्कातिर करिब पाँच घण्टा लगाएर सम्पन्न भएको समारोह बढी लामो भएको टिप्पणी पनि सुनियो ।
समारोहमा चलचित्र ‘पशुपतिप्रसाद’ ले वर्ष २०७२ को उत्कृष्ट चलचित्रको एवार्ड जित्दै प्रेमगीत, क्लासिक, वडा नम्बर छ तथा कबड्डी–कबड्डीलाई निराश बनायो । उत्कृष्ट निर्देशकको एवार्ड पनि यही चलचित्रका निर्देशक दीपेन्द्र के खनालको पक्षमा पर्यो । यसबाहेक पशुपतिप्रसादले उत्कृष्ट कथा, पटकथा तथा खलपात्र विधामा पनि एवार्ड जित्यो । खलपात्रमा विपिन कार्की (भष्मे डन) उत्कृष्ट घोषित भए । उत्कृष्ट अभिनेताको एवार्ड भने चलचित्र ‘फन्को’ बाट सौगात मल्लले जिते भने अभिनेत्रीतर्फ चलचित्र ‘क्लासिक’ की नम्रता श्रेष्ठ उत्कृष्ट घोषित भइन् ।
उत्कृष्ट संवादको एवार्ड चलचित्र ‘कबड्डी–कबड्डी’ ले जित्यो भने नाई नभन्नु ल–४ बाट पल शाहले डेब्यू अभिनेताको एवार्ड प्राप्त गरे । यही विधाको नायिकातर्फको एवार्ड ड्रिम्सबाट साम्राज्ञी राज्य लक्ष्मी शाहले प्राप्त गरिन् ।
उत्कृष्ट द्वन्द्व निर्देशकको एवार्ड चलचित्र ‘भैरव’ बाट हिमाल केसीले जिते भने डेब्यू निर्देशक एवार्ड ड्रिम्सका भुवन केसी हात पारे । अर्जुन पोखरेलले चलचित्र ‘प्रेमगीत’ बाट उत्कृष्ट संगीतकार एवार्ड जिते भने सह–अभिनेत्रीको एवार्ड प्रियंका कार्कीले चलचित्र ‘क्लासिक’ बाट प्राप्त गरिन् । चलचित्र ‘प्रेम गीत’ बाट सरोज खनालले उत्कृष्ट सह–अभिनेताको एवार्ड जिते ।
नायिका प्रियंका कार्कीले दर्शकहरूको मतमा आधारित पपुलर च्वाइस एवार्ड पनि जितिन् । साउन्ड इन्जिनियर प्रदीप उपाध्याय तथा निर्देशक लक्ष्मीनाथ शर्मालाई लाइफ टाइम एचिभमेन्ट एवार्डद्वारा सम्मान गरिएको उक्त समारोहमा पपुलर, जुरी, क्रिटिक्ससहित विभिन्न ३२ विधामा एवार्ड बाँडिएको थियो।
कामना एवार्डको यो दोस्रो संस्करणमा नाईं नभन्नु ल–४ सर्वाधिक २१ विधामा मनोनीत भएको थियो भने प्रेम गीत १९ तथा क्लासिक १७ विधामा मनोनीत थियो ।
यस्तो छ विजेताको सूची
विधा विजेता चलचित्र
उत्कृष्ट श्रृंगार : निमा लामा प्रेमगीत
उत्कृष्ट साउण्ड डिजाइन : अनिश श्रेष्ठ क्लासिक
उत्कृष्ट सिनेमाटोग्राफर : सन्जय लामा तथा पुरुषोत्तम प्रधान ड्रिम्स
उत्कृष्ट सम्पादन : सुरेन्द्र पौडेल क्लासिक
उत्कृष्ट द्वन्द्व : हिमाल केसी भैरव
उत्कृष्ट ब्याकग्राउण्ड स्कोर : शैलेश श्रेष्ठ ड्रिम्स
उत्कृष्ट कथा : दिपेन्द्र के खनाल पशुपतिप्रसाद
उत्कृष्ट पटकथा : खगेन्द्र लामिछाने पशुपतिप्रसाद
उत्कृष्ट संवाद : रामबाबु गुरुङ र उपेन्द्र सुब्बा कबड्डी–कबड्डी
उत्कृष्ट डेब्यु अभिनेत्री : साम्राज्ञी राज्य लक्ष्मी शाह ड्रिम्स
उत्कृष्ट डेब्यु अभिनेता : पल शाह नार्इँ न भन्नु ल–४
उत्कृष्ट पाश्र्व गायिका : अन्जु पन्त प्रेमगीत
उत्कृष्ट पाश्र्व गायक : सुगम पोखरेल प्रेमगित
उत्कृष्ट कमेडी : विल्सन बिक्रम राई अधकट्टी
उत्कृष्ट खलपात्र : विपिन कार्की पशुपतिप्रसाद
उत्कृष्ट बाल कलाकार : कञ्चन ठकुरी बागमती
उत्कृष्ट नव निर्देशक : भुवन केसी ड्रिम्स
उत्कृष्ट लिरिक्स : डा. कृष्णहरि बराल प्रेमगीत
उत्कृष्ट संगीत : अर्जुन पोखरेल प्रेमगीत
उत्कृष्ट सह–अभिनेत्री : प्रियंका कार्की क्लासिक
उत्कृष्ट सह–अभिनेता : सरोज खनाल प्रेमगित
उत्कृष्ट अभिनेता : सौगात मल्ल फन्को
उत्कृष्ट अभिनेत्री : नम्रता श्रेष्ठ क्लासिक
उत्कृष्ट निर्देशक : दीपेन्द्र के खनाल पशुपतिप्रसाद
उत्कृष्ट चलचित्र : पशुपतिप्रसाद