साप्ताहिक संवाददाता
नेप्लिज फेशन होमले हरेक वर्ष आयोजना गर्दै आएको ‘मिस नेवा’ प्रतियोगिता ‘१२ औं मिस नेवास्११३७’ घोषणा गरेको छ । सोमबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा १२ औं मिस नेवा घोषणा गरेको हो । पत्रकार भेटघाटका क्रममा मिस नेवास् का सल्लाहकार एवं प्राइम बैंकका उपमहाप्रबन्ध भाईराजा तुलाधरले नेप्लिज फेशन होमले नेवार संस्कृतिको सारक्षण र प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।
हालकी मिस नेवा एन्जल श्रेष्ठले आफू नेवार परिवारकी छोरी भएर पनि मिस नेवामा भाग लिएपछि नेवारी संस्कृतिबारे जन्ने बुझ्ने अवसर पाएको बताईन् । मिस नेवा भएपछि आफुले नेवार संस्कृति प्रवर्धन र सुरक्षमा युवापुस्तालाई एकिकृत गर्दै काम गर्ने मौका पाएको उनले बताईन । कार्यक्रममा नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले भनिन्,‘नेवार संस्कृति आफैंमा धनी छ यसलाई बचाएर अघि बढाउन युवपुस्तालाई नै आकर्षित गर्नु पर्दछ । त्यसैले नेवाली संस्कृति, भाषा, भेषभुषा बारे युवा पुस्तालाई जानकारी गराउँदै उनीहरु मार्फत संरक्षण तर्फ समाजलाई उन्मुख गर्न हामीले बिगत १२ वर्ष देखि मिस नेवा: प्रतियोगिता आयोजना गर्दै आएका हौं ।’
उनले भनिन्,‘मिस नेवास् सौन्दर्य सांस्कृतिक पर्वद्धन, भाषिक चेतना र प्रतिभा प्रस्तुतिका लागि आयोजना गर्दै आएको प्रतियोगिता हो । यस प्रतियोगितामा नेवार समुदायका १६ देखि २३ वर्ष उमेर समुहका अविवाहित युवतीले सहभागिता जनाउन पाउने छन् । यो प्रतियोगितामा सहभागी हुने प्रतियोगी नेवार समुदायबाट हुनु पर्दछ । जस मध्ये बुबा तथा आमा जो नेवार परिवारको भए पनि सहभागिता जनाउन पाउने छन् ।’
यो प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीहरुका लागि फारम खुला गरिएको पनि कार्यक्रममा जानकारी गराईयो । मानन्धरका अनुसार प्रतियोगीले नेप्लिज फेशन होमको कार्यालय डिल्लीबजारबाट तथा अनलाईनबाट पनि फारम भर्न सक्नेछन् । प्रतियोगिताको पहिलो चरणको अडिसन आगामी २ पुषमा जमल स्थित होटल यल्लो पगोडामा हुने छ । यो प्रतियोगितामा बढीमा ४२ जनासम्म प्रतियोगीलाई सहभागी गराईने छ ।
अध्यक्ष मानन्धरका अनुसार प्रतियोगितामा सहभागीलाई करिब डेढ महिनाको अवधिमा विभिन्न विधामा प्रशिक्षण दिईने छ । उनीहरुलाई आत्मविश्वास, आमसञ्चार, व्यक्तित्व विकास, सामाजिक सेवा, नृत्य, फिटनेश सहित विभिन्न शिप सिकाईने छ । १२ औं मिस नेवास्को चयन आगामी माघको दोस्रो साता काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजना गरिनेछ । प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले र नृत्य कोरियोग्राफी रोहिया महर्जनले गर्नेछन् ।