साप्ताहिक संवाददाता
साप्ताहिककर्मी तथा लेखक अश्विनी कोइरालाको ‘अँध्यारा गल्ली’ निबन्ध सर्वोत्कृष्ट भएको छ । ‘प्रेरक गुरु’ निबन्ध संग्रहमा संग्रहित उत्कृष्ट ९ वटा निबन्धमध्ये कोइरालाले लेखेको ‘अँध्यारा गल्ली’ सर्वोत्कृष्ट भएको हो ।
गत शुक्रबार म्याग्दीको बेनीमा आयोजित ‘प्रेरक गुरु’ निबन्ध संग्रह विमोचन तथा प्रेरणात्मक बहस कार्यक्रममा समाजसेवी चन्द्रकुमार केसी र निर्णायक ध्रुबसागर शर्माले कोइरालालाई नगद ५० हजार रुपैंयाँ र प्रमाणपत्रसहित सम्मानित गरेका थिए । फिनल्याण्डलाई बस्दै आएका म्याग्दीका युवाहरु नीराजन थापा, लक्ष्मीप्रसाद थेवे र विनोद पन्तले सुरु गरेको आत्मजागरण अभियानले प्रकाशित गरेको ‘प्रेरक गुरु’ निबन्ध संग्रहमा अनलाइनमार्फत प्राप्त २५ निबन्धमध्ये उत्कृष्ट ९ वटा प्रकाशित गरिएको थियो । जसमा कोइरालाको निबन्ध सर्वोत्कृष्ट भएको हो ।
हरेक सफलताका पछाडि प्रेरणा महत्वपूर्ण हुने बताउँदै ती युवाहरुले प्रेरणाका कथाहरु सबैमा पुर्याउन आफूहरुले आत्मजागरण अभियान सुरु गरेको बताए । उनीहरुले यही वर्षदेखि सुरु गरेको यो अभियानमा प्रेरणादायी निबन्धका लागि अनलाइनमार्फत आव्हान गरिएको थियो । देश–विदेशका गरी ९३ जना लेखकले आवेदन दिएका थिए ।
जसमध्ये २५ जनाले निबन्ध पठाए पनि उत्कृष्ट छनोट गरेर ९ वटालाई समेटेर किताबका रुपमा प्रकाशन गरिएको थियो । प्रेरणात्मक निबन्धहरु रहेको उक्त किताबलाई देशभरका सामुदायिक विद्यालयहरुमा पुर्याउने लक्ष्य राखिएको छ । यसअघि लेखक कोइरालाका ‘उनी’, ‘जुकरवर्ग क्याफे’ पुस्तक समेत प्रकाशित छन् ।