साप्ताहिक संवाददाता
काठमाडौं— सेलिब्रेटी हेयरस्टाइलिस नीलडेभिड कटवाल पहिलो पटक सञ्चालन गरेको मेकअप तथा हेयर स्टाइलिङ सम्बन्धि मास्टर क्लास आज सम्पन्न भएको छ । नेपाल तथा भारतमा नीलडेभिड्स सैलूनको फ्रेन्चाइज समेत विस्तार गरिरहेका नीलडेभिडले काठमाडौंको सिभिल मलमा दुई साता लामो मास्टर क्लास सञ्चालन गरेका थिए ।
मास्टर क्लासमा नीलडेभिडले ‘हेयर स्टाइलिङ तथा कलर’ विषयमा विद्यार्थीहरुलाई विशेष कक्षा दिएका थिए । उनको यो कक्षामा करिव दुई दर्जन हेयर स्टाइलिङका विद्यार्थीहरु सहभागि थिए । ‘मास्टर क्लास एक प्रकारको विशेषज्ञ कक्षा जस्तै हो, नीलडेभिड भन्छन्, ‘हेयर तथा मेकअपमा औपचारिक ज्ञान हासिल गरिसकेका विद्यार्थीहरु मास्टर क्लासमा सहभागि हुन्छन् ।’ मास्टर क्लासको क्रममा नीलडेभिडले विद्यार्थीहरुलाई सैद्धान्तिकका साथै प्राक्टिकल क्लास समेत दिएका थिए ।
नीलडेभिडका सिनियर स्टाइलिस्ट पुनित ठाकुर तथा नीलडेभिड स्वयंले कलर, हेयर कटिङसम्बन्धि क्लास लिएका हुन् । नीलडेभिडको दोस्रो मास्टर क्लास भारतको सिलिगुडीस्थित सेभक रोडमा रहेको नीलडेभिड्स हेयर सैलून एण्ड एकेडेमीमा यही जनवरी ५ देखि २० सम्म सञ्चालन हुनेछ ।