साप्ताहिक संवाददाता
नृत्यांगना तथा म्युजिक भिडियोकी मोडलबाट नायिकाका रूपमा दर्शकमाझ आउन तयार सिम्पल खरेल पछिल्लो साता एउटा तनावबाट गुज्रिइन् । हास्य अभिनेता महादेव त्रिपाठीको चलचित्र ‘जादुगर–२’ की यी नायिकाले उक्त चलचित्रको एक दृश्यमा दुर्घटना परी गम्भीर घाइते भै कोमामा गएको भूमिका निर्वाह गरेकी छिन् । उक्त दृश्यको भिडियो सामाजिक सञ्जालमा लिक भएपछि केही अनलाइन तथा ब्लगले ‘नवनायिका सिम्पल खरेलको निधन’ भन्ने सामग्री नै प्रकाशित गरिदिए । ती सामग्रीमा कतै पनि चलचित्रको दृश्य भन्ने उल्लेख गरिएन ।
फेसबुकमा आफ्नै निधनको गलत सामग्री देखेपछि नायिका खरेलको होस्हवास उड्यो । उद्घोषक, नृत्यांगना तथा मोडलका रूपमा समेत राम्रो छवि बनाइसकेकी खरेल उक्त घटनापछि निराश छिन् । ‘म जीवित नै छु, सिम्पलले भनेकी छिन्— ‘सामाजिक सञ्जालमा जीवन–मरणसम्बन्धी गलत सामग्री प्रस्तुत गर्नुअघि राम्रोसँग बुझ्न आग्रह गर्छु ।’