'चपली हाइट २' बाट चलचित्र क्षेत्रमा प्रबेश गर्न लागेका नायक आयुशमान देशराज श्रेष्ठ जोशी सोमबार काभ्रेको पाँचखालमा भेटिए । तर, भिन्नै अबस्थामा । उनी ढुंगा, इट्टा बोकिरहेका थिए । काठ ओसारिरहेका थिए । यहाँ कुनै चलचित्रको छायाँकन भईरहेको थिएन । न त उनी घर बनाएर यतै बस्ने योजनामा थिए ।
बरु नायक तथा 'ह्याबिट्याट योङ लिडर्स बिल्ड युथ एम्बेस्डर' जोशीलाई साथ दिईरहेको थियो, युवाको जमातले । सन्दर्भ थियो, विश्व स्वयंसेवा दिवस । भूकम्पले क्षतिग्रस्त काभ्रेको पाँचखाल क्षेत्रका घरहरुमा सहयोग गर्न बिभिन्न क्षेत्रमा स्वयंसेवकहरु भेला भएका थिए । अबसर जुराएको थियो, ह्याबिट्याट् फर ह्युम्यानिटी नेपालले ।
ह्याबिट्याट् फर ह्युम्यानिटी नेपालले आयोजना गरेको विश्व स्वयंसेवा दिवसमा ह्यात रिजेन्सी होटेल, यति एयरलाइन्स, मेट् लाईफ, स्ट्यान्डर्ड चाटर्ड बैंक लगायत अन्य कलेज तथा युवा क्लबबाट बिभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो ।
भूकम्प प्रभाबित क्षेत्र पुगेर स्वयंसेवा गर्न पाउँदा आफूलाई एकदम खुसी लागेको बताए, नायक आयुशमानले । ‘हामीले जति सक्छौं सेवा गर्ने हो ।’ उनले भने, 'गत वर्ष भूकम्प जाँदा राजधानी आसपासका बिभिन्न क्षेत्रमा पुगेर स्वयंसेवा गर्दाको क्षण मैले भुलेको छैन ।’