साप्ताहिक संवाददाता
काठमाडौं । गायक रुपकुमार राई गीति एल्बम ‘रुप’ लिएर आएका छन् । ‘रुप’ लाई राजधानीमा एक समारोहबिच कवि तथा गीतकार भुपाल राई, डा. कृष्णहरी बराललगायतले सार्वजनिक गरेका थिए । गायक राईको यो छैठौं एल्बम हो ।
अघिल्लो एल्बम ‘सार’ मा समावेश ‘गुन्दु्रक किनामा’ बोलको गीतलाई श्रोताले रुचाएका थिए । राईले यसपटक ‘चर्चा’ बोलको गजल गाएका छन् । पहिलोपटक गजल गाएका राईले भने, ‘सधैं आधुनिकमात्र कति गाउाने भनेर यसपटक गजल गाएको हु ।’ उनको गजलले श्रोता तथा दर्शकमाझ अहिले चर्चा पनि पाइरहेको छ । ‘रुप’ मा समावेश गजल ‘चर्चा’ को भिडियो समेत आइसकेको छ, जसलाई युट्युबमा रुचाइएको छ ।
डा. कृष्णहरी बरालले लेखेको यस गजललाई संगीतकार एवं प्राज्ञ शान्तिराम राईले लयबद्ध गरेका हुन् । अर्जुन अधिकारीले निर्देशन गरेको ‘चर्चा’ को भिडियोमा अभिनेत्री केकी अधिकारी र जीवन भट्टराईले अभिनय गरेका छन् ।
एल्बममा ‘चर्चा’ का अलावा ‘सधैं तिमी’, ‘न त लग्यौ मलाई साथ’ र ‘तिम्रो मनमा’ बोलका गीत छन् । ती गीतमा महेश खड्का, सचिन सिंह र शान्तिराम राईको संगीत रहेको छ भने शब्दरचना डा. कृष्णहरी बराल, बलबहादुर राई, देवन चाम्लिङ र शंकर अधिकारीको रहेको छ । ‘रुप’ लाई हिल्टोन म्युजिक सेन्टर प्रालिले बजारमा ल्याएको हो ।
‘चर्चा’ को भिडियो