रोहन सिंह
रोहन सिंहको पुख्र्यौली घर कैलाली, टीकापुर भए पनि उनको जन्म भारतको मुम्बईमा भएको हो । बाल्यकालमा उनको रुचि फुटबलमा थियो, तर १८ वर्ष पुग्दानपुग्दै उनी हिपहपतर्फ आकर्षित भए । त्यही बेला साथी प्रविनले उनलाई नेपालमा आएर आफू आबद्ध हिपहप समूहमा रहेर काम गर्न आग्रह गरे । साथीको प्रस्ताव स्वीकार गर्दै रोहन नेपाल आए । प्रविनले कालान्तरमा उक्त समूह छाडे पनि रोहनले त्यो समूहलाई अघि बढाए । स्टार प्लस च्यानलको रियालिटी सो डान्स प्लस सिजन टुमा फस्र्ट रनर्सअप भएपछि उक्त समूहको क्रेज अहिले ह्वात्तै बढेको छ । रोहनले हिपहप प्रतियोगितामा नेपाललाई अन्तर्राष्ट्रिय मेडल जिताउने लक्ष्य लिएका छन् । वाइल्ड रिपर्ज क्रुका नामले परिचित उनको समूहमा धनगढीका किरण थापा, काठमाडांैका सुरेन राई, सुरज थापामगर, सुमन स्यानताङ, सुसन तामाङ र बुद्ध लामा, बुटवलका सन्तोष दर्जी, झापाका सागर राई तथा मुम्बईका सउल जेम्स वोदी गरी १० जना आबद्ध छन् ।
वाइल्ड रिपर्ज क्रुमा कसरी आबद्ध हुनुभयो ?
वाइल्ड रिपर्ज क्रुलाई मेरो भाइ प्रविनले सुरु गरेको हो । म त्यतिबेला मुम्बईमै थिएँ । भाइले भन्यो नेपालमा हिपहप गुप्र बनाउने प्रयास गरेको छु, तेरो हेल्प चाहियो, तँ आइज, राम्रो गुप्र बन्छ । हामीले सँगै डान्स सिकेका थियांै । सन् २०१० को अन्त्यतिरको कुरा हो उसले कोरियोग्राफरसमेत रहेकी प्याम मेडमसँग भेटेर कुराकानी गर्यो । म्याडमले सपोर्ट गर्छु के गर्ने हो गर भन्नुभयो । म्याडमको सोच अन्तर्राष्ट्रिय लेभलमा नेपालको प्रतिनिधित्व गर्न सक्ने हिपहप टिमलाई सपोर्ट गर्ने थियो । मैले त्यसलाई स्विकार गरे । त्यसपछि किरण आयो, सुरेन आयो अनि गु्रप फर्म भयो ।
नृत्यमा रुचि कहिलेदेखि थियो ?
प्रविन र मैले मुम्बईमा सँगै डान्स सिक्दा म १८ वर्षको थिएँ । कलेज अध्ययनरत छँदा एउटा अडिसन दिने चान्स मिल्यो । अडिसनमा सहभागी भै म सेलेक्ट पनि भएँ । त्यसपछि मलाई यो क्षेत्रमा केही गर्न सक्छु भन्ने लाग्यो र यसमा मेरो रुचिसमेत बढ्यो ।
हिपहपतर्फ नै कसरी आकर्षित हुनुभयो ?
हिपहपका मुभहरू सजिलै अरूलाई आकर्षित गर्ने खालका हुन्छन् । मलाई हात माथि–तल गरेको मन पथ्र्यो । त्यतिबेला आलु चटपट गाना हेरेर, टिभिमा आउने गीत हेरेर ती मुभहरू सिक्ने प्रयास गर्थें । मुभहरू पनि फरक–फरक गर्ने, कपडा लगाउने स्टाइल पनि रमाइलो । अधिकांशले हिपहपलाई अनुसरण गर्ने । अरूलाई छिट्टै प्रभावित तुल्याउन सकिने कारणले पनि मलाई हिपहपतर्फ तानेको हो ।
बलिउड चलचित्रमा डान्स गर्ने सोच पनि छ ?
(लामो हाँसो) त्यस्तै–त्यस्तै छ भन्नुपर्छ । मलाई बलिउड चलचित्रको डान्स मन पर्छ । आफूलाई फिट राख्न मन लाग्छ । मेरो सोच सबैतर्फ फिट हुने नै छ । हिपहपले यसलाई सपोर्ट गर्छ ।
हिपहपमा नयाँ–नयाँ स्टेप प्रयोग गर्नुहुन्छ, कसरी सिर्जना हुन्छन् यस्ता स्टेप ?
टिभी, युटुब आदिमा हेरेर सिक्ने हो । साथीहरूसँग आ–आफ्नो आइडिया सेयर गरेर त्यसमा प्रयोग गर्ने हो । साथीहरूलाई पहिले धेरै कुरा थाहा थिएन । सेयर गरे नै धेरै कुरा जानिन्छ । म लिड गर्छु, तर त्यसमा गु्रपका सबै साथीहरूले आइडिया सेयर गर्छन् । त्यसपछि नयाँ स्टेप सिर्जना गरिन्छ । हिपहपमा विभिन्न स्टाइल हुन्छ ।
भारत गएर स्ट्रगल गर्ने सोच कसरी आयो ?
दुई वर्ष नेपालमा बसेर अल नेपाल च्याम्पियनसिपको उपाधि जिते पनि केही हुन सकेन । डान्स भनेपछि धेरैले सपोर्ट नगर्ने । हाम्रो टिमका सबैजसो साथीको आर्थिक अवस्था राम्रो थिएन । सबैको परिवारले मुम्बई नजान भने, तर पनि मुम्बई गएपछि भविष्य बन्छ भन्नेमा मलाई विश्वास थियो । मैले साथीहरूलाई सम्झाए । मुम्बईमा बसोबास गर्ने मेरी मम्मीलाई फोन गरेर हामी आउँदैछौं भनें । मलाई साथीहरूले विश्वास गरे । यस्तै मेहनत गर्न सके भारतमा अवश्य प्लेटफर्म तयार गर्न सकिन्छ भन्ने विश्वास थियो ।
तपाईं आबद्ध हँुदा यो समूहको अवस्था कस्तो थियो ?
सुरुमा म आउँदा समूहका साथीहरूलाई डान्सका बारेमा त्यति जानकारी थिएन । मसँग बढी जानकारी थियो । मैले केही कुरा मुम्बईमा हेरेको, देखेको अनि सिकेको थिएँ । टिम त बनेको थियो तर हिपहपका बारेमा बेसिक जानकारी थिएन, तर उनीहरूसँग प्रतिभा थियो । मैले आइडिया सेयर गरेपछि हाम्रो पर्फमेन्समा परिवर्तन आयो र प्रतियोगिता जित्न थालियो । हामी कार्यक्रमका लागि विभिन्न ठाउँमा पुग्यौं, तैपनि हाम्रो आर्थिक अवस्था चाहिँ उस्तै थियो ।
टिम को नाम वाइल्ड रिपर्ज क्रु कसरी रह्यो ?
मेरो एउटा साथी छ हुमेद, ऊ अहिले दुबईमा छ । उसको समूहको नाम बाइक ग्याङ वाइल्ड रिपर्ज थियो । पछि त्यो उसको गु्रप बन्द भयो । उसको ग्रुपको नाम मलाई युनिक लाग्थ्यो । साथीहरूसँग सेयर गर्दा सबैले त्यही नाम मन पराए । त्यसपछि उक्त नाम राखेका हौं ।
भारतमा तपाईंहरूको क्रेज कस्तो छ ?
भारतमा हाम्रो क्रेजका बारेमा युटुबमा एउटा भिडियो अपलोड गरिएको छ, त्यसमा हामीले मुम्बईको एउटा कलेजमा गएर आफ्ना लागि भोट मागेको देखाइएको छ, जसमा हामीले पहिले भीड खासै नभएको, त्यसपछि हामी आएको भन्ने जानकारी भएको, त्यसपछि पाँच मिनेटभित्रै त्यो ठाउँ दर्शकले भरिभराउ भएको र उनीहरूले खुलेरै सपोर्ट गरेको देखाइएको छ । उक्त भिडियो सुटिङका क्रममा गरिएको पर्फमेन्स सकिएपछि बाहिर निस्कन हामीलाई दुई घण्टा लागेको थियो ।
प्रतियोगितामा अघि बढ्न भोटको महत्व थियो, भोट कति पाउनुभयो ?
नेपालबाट भोट गर्न नपाए पछि हामी टप १२ मा चित्त बुझाउने मनस्थितिमा थियौं, तर हामी सबैभन्दा धेरै भोट पाएर टप ६ मा पुग्न सफल भयौं । दर्शकहरूले बढीभन्दा बढी भोट गरेर हामीलाई सपोर्ट गरे । हामीले प्रसस्त माया पायौं र फाइनलमा पुग्यौं ।
फाइनलमा सबैले सम्भावित विजेताका रूपमा हेरेका थिए तर तपाईंहरू फस्र्ट रनर्सअपमै रोकिनुभयो, उक्त नतिजामा सन्तुष्ट हुनुहुन्छ ?
फाइनलमा सबै तपाईहरूलाई फाइनलिस्टको सोच जित्नु नै हुन्छ, तर पनि राम्रो सपोर्ट पाएर फस्र्ट रनर्सअप भएकोमा हामी सन्तुष्ट छौँ । जित्नु मात्र ठूलो कुरा होइन, त्यहाँसम्म पुग्नु पनि ठूलो कुरा हो ।
क्रुका साथीहरूबीच कत्तिको मनमुटाव हुन्छ ?
त्यस्तो हुँदैन । हुन त हातका सबै औंला बराबर हँुदैनन् । कहिलेकाहीं हाम्रो झगडा भैहाले दुई मिनेटका लागि हुन्छ अनि हामी मिलिहाल्छौं । हामी सबैलाई सबैको आनीबानी थाहा छ । हामी कामलाई प्राथमिकता दिन्छौं । हामी सबैको आर्थिक अवस्था कमजोर छ । डान्स गरेर परिवार चलाउनुपर्ने बाध्यता छ । त्यसैले कसैले पढाइ पूरा गर्न सकेका छैनौं । मैले भर्खरै ग्राजुएसन पूरा गरें । अब थप पढ्न मन छैन । घरको फाइनान्सियल कन्डिसियन राम्रो नभएकाले पढ्न नसके पनि डान्समै राम्रो गरेर सफल हुने सोच हाम्रो समूहका सदस्यहरूको छ ।
वाइल्ड रिपर्ज क्रुको अबको योजना के छ ?
हामीले नेपाललाई भारतमा त चिनायौं, अब हाम्रो योजना नृत्यमार्फत नेपाललाई विश्वमै चिनाउने छ । हामी १० जनाकै विभिन्न सपना छन् । त्यसलाई पूरा गर्न धेरै कुरा सिक्दै अघि बढ्नुपर्नेछ । हिपहप सिकाउने एउटा एकेडेमी खोल्ने योजना छ । सबैभन्दा ठूलो योजना त नेपाललाई वल्र्ड हिपहप कम्पिडिसनमा गोल्डमेडल जिताउनु नै हो ।
अहिलेसम्म अविवाहित हुनुहुन्छ, गर्लफ्रेन्ड त होलिन् नि ?
छैनन्–छैनन्, अहिलेसम्म छैनन् ।
कुनै युवतीको प्रपोज त आएको होला ?
प्रपोज त आउँछ, तर पहिले करियर बनाउनुपर्छ । अब त झन् ठूलो जिम्मेवारी थपिएको छ । करियर बनाएपछि मात्र त्यस्ता प्रपोजका विषयमा सोचिन्छ ।
घरपरिवारको सपोर्ट कत्तिको छ ?
मम्मीले सपोर्ट गर्नुहुन्छ तर बाबाले सपोर्ट गर्नु हुन्न । मम्मीले ऋण काढेर भए पनि हौसला दिनुभयो । बीचमा मैले हरेस खाइसकेको थिएँ । तैपनि हरेस नखा, डान्समै केही गरेर देखा भनेर मम्मीले हौस्याउनुहुन्थ्यो ।
तपाईंलाई हिपहपमा कस्तो स्टाइल मन पर्छ ?
लकिङ स्टाइल मन पर्छ । त्यसबाहेक पपिङ, ब्रेकिङ स्टन्ट पनि मन पर्छ ।
प्राटिक्स कत्तिको गर्नुहुन्छ ?
हामी दैनिक ६–७ घण्टा प्राटिक्स गर्छौं । दर्शकले हामीबाट अझ राम्रो प्रस्तुतिको अपेक्षा गरेका छन् । यदि प्राटिक्स नगरी त्यसै बस्ने हो भने राम्रो प्रस्तुति दिनबाट चुक्नुपर्ने हुन्छ ।
नेपाल सरकारले सपोर्ट गरेको छ कि छैन ?
हामीले देशलाई चिनाएका छौं । सरकारले सपोर्ट गरे अघि बढ्न ऊर्जा मिल्नेछ । हामीलाई पैसा नै दिनुपर्छ भन्ने छैन, तर सरकारले केही गरेको छैन, यसमा हाम्रो अलिकति चित्त दुखाइ पनि छ ।
तपाईंको अनुभवको निचोड के हो ?
आशा छोड्नु हुँदैन । एक दिन अवश्य सफल भइन्छ । नि:शुल्क काम गर्नु हुँदैन । परिवार पाल्नुपर्छ तर गलत कार्यमा लाग्नु हुँदैन ।