साप्ताहिक संवाददाता
राजु बस्न्यात, प्रशिक्षक, नेपाली महिला राष्ट्रिय टिम
हालै सम्पन्न एसीसी वुमेन्स क्रिकेटमा सहभागी नेपाली महिला राष्ट्रिय टिमका प्रशिक्षक हुन्— राजु बस्न्यात । उनको नेतृत्वमा टिमले थाइल्यान्डको बैंककमा भएको प्रतियोगितामा राम्रो भने गर्न सकेन । यसपछाडि रहेका कारणका सम्बन्धमा प्रशिक्षकको विश्लेषण के छ ? काठमाडौं फर्किएपछि प्रशिक्षक बस्न्यातसँग गरिएको पाँच प्रश्न :
नेपालको खराब प्रदर्शनको मुख्य कारण के हो ?
प्रतियोगिता स्तरका रूपमा माथिल्लो दर्जाको रह्यो । हाम्रा प्रतिद्वन्द्वी निकै माथिल्लो स्तरका थिए । हामीले त्यसैअनुसारको तयारी गर्न सकेनौं । यति ठूलो प्रतियोगिताका लागि हामी मानसिक रूपमा बलियो थिएनौं ।
प्रतियोगिता अघि टेस्ट टिमलाई हराउने लक्ष्य थियो, नेपाल कहाँ चुक्यौं ?
भारत र पाकिस्तानी महिला क्रिकेट धेरै माथिल्लो स्तरमा छ । प्रतियोगिता अघि हामीलाई लागेको थियो, श्रीलंका र बंगलादेशका टिम त्यति बलिया छैनन् । थाइल्यान्ड हामी बराबर हुनुपथ्र्यो । खासमा हामी ब्याटिङमा नराम्रोसँग चुक्यौं । अझै पनि टेस्ट टिमलाई हराउन नै नसकिने भने होइन ।
ब्याटिङ खराव हुनुको कारण के हो ?
हामीले काठमाडौंमा फास्ट बलरविरुद्ध धेरै अभ्यास गरेका थियौं । प्रतियोगितामा धेरै भन्दा धेरै फास्ट बलिङको अपेक्षा गरेका थियौं । बैंककमा हामीले स्पिन आक्रमणको सामना गर्न सकेनौं । हाम्रा ब्याट्सवुमनले फास्ट बलिङको त राम्रोसँग सामना गरे, तर स्पिन बलिङमा निकै कमजोर सावित भए ।
टिममा फुट र अनुशासनहिनताको चर्चा पनि चलिरहेको छ ?
कम्तीमा मैदानमा त्यस्तो देखिएन । केही खेलाडी पूर्णत: फिट थिएनन । त्यसैले फिल्डमा ती खेलाडीको बडि ल्याङ्ग्वेज पनि राम्रो थिएन् । यसले पनि समस्या भयो ।
अब नेपाली महिला क्रिकेटको विकासका लागि के गर्नुपर्छ ?
प्रतियोगितामा सहभागी हुनु र त्यसअघि अभ्यास गर्नुले मात्र केही हुँदैन । हामीकहाँ यही चलन छ । नेपाली महिला क्रिकेटको विकासका लागि लामै योजना चाहिन्छ । आउने तीन अथवा पाँच वर्षमा नेपाली महिला क्रिकेट कहाँ कस्तो अवस्थामा हुनुपर्छ, निर्धारण गरेर त्यसैअनुसार योजना–कार्यक्रम चाहिन्छ ।