पोखरेली गायक विनोद बानियाँको पहिलो एल्बम ‘मान्छे’ मा विभिन्न गीत समावेश गर्ने क्रममा ‘म त बलेनीमा...’ शीर्षकको गीत पनि अटायो । एल्बममा समावेश गरिएका गीतमध्ये अधिकांशले श्रोताहरूको मन जिते । तीमध्ये ‘म त बलेनीमा...’ लाई गायक बानियाँले प्रमोशन गर्न खोजेनन् तर यो गीत एफएममार्फत पटक–पटक बज्न थाल्यो । आफैं रेडियोकर्मी भएकाले सञ्चारकर्मीलाई उनले उक्त गीत नबजाउन आग्रहसमेत गरे ।
वास्तवमा उनलाई यो गीत रेडियोमा बज्दा लाज लाग्दो रै’छ । ‘किन–किन त्यो समयमा यो गीत बज्दा मलाई लाज लाग्थ्यो’, बानियाँ भन्छन्— ‘त्यसैले कतिपय सञ्चारकर्मी साथीलाई फोन गरेर अथवा भेटेरै यो गीत नबजाउन आग्रह गरे ।’ त्यो गीतमा रक्सीको लतमा फसेको कुरा व्यक्त गरिएको छ । समाजमा रक्सी पिउने व्यक्तिलाई नकारात्मक दृष्टिकोणले हेरिन्छ । सम्भवत: यही कारण विनोदले उक्त गीतलाई प्रमोसन गर्न खोजेनन् ।
अहिले समय बदलिएको छ । आममानिसको सोचमा समेत व्यापक परिवर्तन आएको छ । पुरुष मात्र होइन, महिलाहरूसमेत रक्सीमा रमाउन थालेपछि गायक बानियाँ पनि उक्त गीतबाट सन्तुष्ट हुन थाले । त्यसैले त बानियाँले गजल रेस्टुराँमा १८ वर्ष गीत गाएको अनुभव र अहिलेको परिवर्तित समाजलाई मूल्यांकन गर्दै ‘म त बलेनीमा’ गीतलाई रिमेक गर्ने निर्णय गरे ।
रिमेक गरेर आफ्नो तेस्रो एल्बममा समावेश यही गीत अहिले चर्चामा छ । यो गीतमार्फत आएको प्रतिक्रियाले विनोद उत्साहित छन् । गीतको म्युजिक भिडियो पनि तयार भएको छ जसमा पल शाह, एलिसा राई एवं विनोद राईले अभिनय गरेका छन् । भर्खरै तेस्रो एल्बम ‘प्रोफाइल’ सार्वजनिक गरेका बानियाँ यो एल्बमका प्राय: सबै गीतबाट आशावादी छिन् । एल्बममा समावेश ‘कस्तो मान्छे’ गीतको म्युजिक भिडियो पनि निर्माण भैसकेको छ तर पुरानै गीत ‘म त बलेनीमा’ को रिमेकले सबैभन्दा बढि लोकप्रियता पाएको छ ।
२०५७ सालमा ‘माया देखायौ कति सजिलै’ शीर्षकको गीत रेकर्ड गरी औपचारिक रूपमा सांगीतिक यात्रा प्रारम्भ गरेका बानियाँले २०५८ सालमा ‘मान्छे’ एल्बम सार्वजनिक गरे । २०६३ मा दोस्रो एल्बम ‘डाउट’ सार्वजनिक गरेपछि उनी चिनिन थालेका हुन् । बानियाँले पप, आधुनिक, गजल, राष्ट्रियसहित प्राय: सबै विधाका गीत गाइसकेका छन् । उनी विगत ११ वर्षदेखि सैनिक आवासीय महाविद्यालय, फूलबारी, पोखरामा संगीत शिक्षकका रूपमा कार्यरत छन् । बानियाँले हालै पोखराको चिप्लेढुङ्गामा मेलोडी क्याफे एन्ड लाउञ्ज बारसमेत सञ्चालनमा ल्याएका छन् ।