साप्ताहिक संवाददाता
नोमिनेसनदेखि नै विवाद सुरु भएपछि यस्तै हो । जबसम्म राम्रो र हाम्रोको फरक छुट्टिदैन तबसम्म एवार्डहरूप्रति विश्वास रहँदैन र यस्ता प्रतिक्रिया आइरहन्छन् ।
निश्चल बस्नेत, निर्देशक
सिम्पल कुरा हो कि मूर्खहरूको मात्र चित्त दुख्छ ।
सुनिल थापा, कलाकार
जसले चित्त दुखाउँछन्, उनीहरूसँगै सोध्नु पर्ला यो प्रश्न ।
केकी अधिकारी, नायिका
चित्त दुखाइन्छ र ? नेपालमा हुने कुनै पनि एवार्डले स्तर निर्माण गर्न सकेका छैनन् । बिना मापदण्ड मन लागि ढंगले पुरस्कारको मनोनयन एवं पुरस्कार वितरण हुन्छ । त्यसैले त्यस्तो एवार्ड नपाउँदा चित्त दुखाउनु पर्ने कारण म देख्दिनँ । यहाँ राम्रालाई होइन, आफ्नालाई एवार्ड प्रदान गरिन्छ । वास्तविक हकदारले एवार्ड पाउँदा पनि खुसी हुने अवस्था छैन ।
नृपेश उप्रेती, गीतकार
एवार्ड नपाइँदैमा चित्त दुखाउनु हुँदैन, तर पुरस्कारका लागि सही छनौट भएन भने म चाँही दु:खी हुन्छु ।
मिलन मोक्तान, संगीतकार
चित्त दुख्नु त स्वभाविकै हो तर
सबैले एवार्ड पाए भने एवार्डको कुनै महत्व नै हुँदैन ।
सुमन के श्रेष्ठ, मोडल
मुटु कमजोर भएर हो कि ? २३ वर्ष भयो चलचित्र क्षेत्रमा कर्म गरेको कतैबाट कुनै एवार्ड पाइएको छैन र चित्त पनि दुखेको छैन । जुरी रिझाउने गरी राम्रो काम गर्नु नि चित्त किन दुखाउनु ?
सिपी पौडेल, कलाकार/निर्माता
धेरै माइण्ड हुनेहरूले माइण्ड गर्दैनन् ।
दिनेश डिसी, निर्देशक
सबैले आफ्नो भागको काम राम्रैसँग गरिरहे जस्तो लाग्छ । त्यसैले आफ्नो साटो अरूले एवार्ड पाउँदा कोही इगोले, कोही डाहले त कोही कन्फ्युज भएर चित्त दुखाउँछन् ।
प्रवीण श्रेष्ठ, निर्देशक
मलाई त पटक्कै चित्त दुख्दैन किनभने सबैभन्दा ठूलो एवार्ड दर्शक, पाठक वा श्रोताको माया हुन्छ । त्यो पाए अरू केही चाहिँदैन ।
ब्रजेश खनाल, लेखक
एवार्ड पाउँदा मात्तिने र नपाउँदा आत्तिने बानीले गर्दा ।
अनुराग कुँवर, कलाकार
नोमिनेसनमा पर्दा समेत कैंयन एवार्ड समारोहमै बोलाइँदैन र त चित्त दुखाएको छैन, नपाउँदा किन चित्त दुखाउनु ?
बनिश शाह, चलचित्र सम्पादक
कर्मगर फलको आषा नगर भन्ने चेत नपुगेर, आफूलाई अरूले भन्दा आफैंले पुरस्कृत गर्न सकियो भने अरु कुनै एवार्डको आवश्यकता नपर्ला ।
सुरेश पौडेल, टेलिभिजनकर्मी
आफ्नो कामको मूल्यांकन आफैंले गर्ने हुँदा त्यस्तो भएको हो कि ?
विकासराज आचार्य, निर्देशक
कठै, एवार्डको नाममा कबाड हुन्छ यहाँ,
नपाउने कतिलाई चित्त दुख्ने
अनि पाउने जतिलाई लाज हुने ।
शान बस्नेत, चलचित्र लेखक
सबैभन्दा पहिले त एवार्ड पाउँछु भन्ने स्रष्टाले राम्रो काम गर्न सक्नुपर्छ, एवार्डका लागि कसैको दैलो धाउनु हुँदैन । सर्जकका लागि श्रोता र दर्शकले दिने माया नै सबैभन्दा ठूलो एवार्ड हो ।
थानेश्वर गौतम, संगीतकार/गायक
मान्छेलाई जति पीडा आफ्नो हारमा हुन्छ, त्यसको दोब्बर पीडा अरूको जितमा हुन्छ । सबैमा पीडा लुकाउने क्षमता हुँदैन र त्यो बाहिर देखिन्छ । अर्कातर्फ कतिपय एवार्ड पाउनुपर्ने व्यक्तिले नपाउँदा पनि चित्त दुख्छ ।
रामचन्द्र काफ्ले, गायक
सबैभन्दा बढी चित्त दुखाई एवार्ड निष्पक्ष नहुँदा हुन्छ । राम्राभन्दा हाम्रालाई एवार्ड प्रदान गर्दा सबैको चित्त दुख्नु स्वभाविक पनि हो ।
शारदा थापा, समाचारबाचिका
मानवीय गुणले गर्दा । मानिस यस्तो प्राणी हो जो लोभी छ र आशा धेरै गर्छ । आफूले गरेको सबै ठीक र सही हुन्छ भन्ने सोच्छ । चित्त दुखाइनु त्यसकै परिणाम हो ।
वीरेन्द्र हमाल, नाट्यकर्मी
धेरै आशावादी भइयो भने चित्त दुख्ला । धेरै मानिसलाई के लाग्छ भने एवार्डमा फेयर जजमेन्ट हुँदैन, त्यसैले पनि चित्त दुखाइन्छ ।
नलिना चित्रकार, गायिका