साप्ताहिक संवाददाता
चलचित्र ‘क्लासिक’ को ‘सुनौलो...’ गीत लोकप्रिय भयो । उक्त गीतका गायक हुन्— कोसिस क्षेत्री । कोसिसले क्लासिकका अन्य गीत पनि गाएका छन् जसलाई श्रोताहरूले मन पराए । गायकका रूपमा क्लासिक टिमसँग जोडिएका कोसिसलाई अब उक्त समूहले आफ्नो आगामी चलचित्र ‘पर्व’ मा मुख्य अभिनेताका रूपमा प्रस्तुत गर्ने भएको छ । यो चलचित्रका कथाकार पनि कोसिस नै हुन् ।
गोपिकृष्ण मुभिजको समेत सहकार्य रहने यो चलचित्रमा कोसिसले नायिका नम्रता श्रेष्ठसँग अनस्क्रिन रोमान्स गर्नेछन् । त्यसो त ‘पर्व’ कोसिसले अभिनय गर्ने पहिलो चलचित्र भने होइन । यसअघि उनले चलचित्र ‘मोक्ष’ मा अभिनय गरिसकेका छन् भने थुप्रै म्युजिक भिडियो तथा विज्ञापनमा समेत आफ्नो अभिनय कौशल प्रस्तुत गरिसकेका छन् । ‘मोक्ष’ को अभिनयबाट थुप्रै एवार्डसमेत जितेका कोसिसलाई ‘क्लासिक’ कै निर्देशक दिनेश राउतले ‘पर्व’ मा कसरी प्रस्तुत गर्ने हुन्, प्रतिक्षाकै विषय हो ।