यतिबेला जताततै विवाहको रमझम छ । यस्तो रमझम फागुनसम्मै जारी रहन्छ । यो अवसरमा आयोजना गरिने भोजभतेरहरूमा मानिसहरूको ठूलै जमघट हुन्छ । यस्ता जमघटमा पुग्नेहरू निकै ठाँटिएका पनि देखिन्छन् । विवाहका नाममा हुने पार्टी होस् वा अरू कुनै अवसर, त्यहाँ पुग्ने मानिसका पहिरनले सबैलाई आकर्षित गर्छ । कस्ता हुन्छन् त यस्तो अवसरका पहिरनहरू :
पुरुष पहिरन
पार्टी तथा भोजहरूमा जाँदा लगाइने पहिरनले पुरुषको व्यक्तित्वलाई टाढैबाट झल्काउँछ । यस्तो पहिरनले नेपाली फेसनमा बेग्लै स्थान ओगटेको छ । आजभोलि पार्टीमा जाँदा लगाइने विशेष पहिरनमा थ्रीपिस अर्थात् सुट पहिलो स्थानमा देखिन्छ । त्यसका अतिरिक्त दौरा–सुरुवालमा कोट तथा स्टकोट लगाएर जाने चलन पनि यतिबेला हिट छ । आजभोलि पार्टीवेयर पहिरनमा फ्युजन अर्थात् कलर कम्बिनेसन पनि थपिएको छ, जसमा मरुन कलरको सर्टमा कालो पाइन्ट, कालो कोट र कालै स्टकोट लोकप्रिय देखिएको छ ।
यस्तो पहिरनमा नीलो रंगको टाई लगाउँदा पुरुष व्यक्तित्वमा थप निखार आएको अनुभव गर्न सकिन्छ । यस्तो पहिरनसँग सुहाउँदो पार्टीवेयर जुत्ता पनि यतिबेला चल्तीमा छ । यसैगरी युवाहरूका लागि थ्रीपिस सुट बढी चलेको देखिन्छ । थ्रीपिस नरुचाउने युवाहरू भने पार्टीमा रफ–टफ नै देखिने गरेका छन् । रफ–टप रुचाउनेहरूको पहिलो रोजाइमा जिन्समाथि टिसर्ट लगाउनु नै देखिएको छ । मौसम चिसो भएकाले युवाहरू टिसर्टमाथि रफ कोट नै लगाउन रुचाउँछन् । यस्तो अवसरमा कतिपय युवा ग्रन्च पाइन्टका साथ देखा पर्छन् ।
यस्ता पाइन्ट केही चहकिला रंगका हुन्छन् जसमा जुनसुकै डिजाइन वा रङका टि–सर्ट सुहाएको देखिन्छ । कतिपय मानिस यस्ता जमघटमा पुग्दा नेपालीपन झल्कने पहिरनमा ठाँटिएको पाइन्छ । नेपाली मौलिकता झल्कने यस्ता परम्परागत पहिरन हाम्रा मूल्य–मान्यता र प्रथासँग समेत जोडिएका छन् । त्यसैले पार्टीहरूमा जाँदा यस्ता पहिरन लगाउने बेग्लै होड पनि अनुभव गर्न सकिन्छ ।
महिला पहिरन
महिलाहरू श्रृंगार एवं पहिरनका दृष्टिले पुरुषभन्दा बढी चुजी र फेसनेबल हुन्छन् । यसैकारण विभिन्न किसिमका पार्टीमा जाँदा उनीहरू दुलहीझैं सिंगारिन रुचाउँछन् । आकर्षक पहिरनदेखि लिएर मेकअपसम्ममा महिलाहरू कतिसम्म चुजी हुन्छन् भन्ने कुराको भेउ पाउन त्यस्ता पार्टीमा पुग्नुपर्छ । महिलाहरूले पार्टीमा लगाउने पहिरनमा पनि फरक स्टाइल भित्रिइसकेको छ । जस्तो, विवाहको पार्टीका लागि महिलाहरूको छनौटमा लेहेंगा तथा डिजाइनर साडीले प्राथमिकता पाउँछन् ।
जाडो महिना भएकाले भेल्भेटमा भरेको चोली, वोर्डर प्याच गरिएको चोलीमा विभिन्न रंग खेलेर तयार गरिएको साडी वा लेहेंगा निकै चलेको पार्टीवेयर मानिन्छ । विवाहित वा अविवाहित सबैका लागि म्याच हुने थ्रीपिस लेहेंगादेखि लिएर डिजाइनर गाउन पनि अहिले लोकप्रिय छ । पार्टीवेयरमा ध्यानदिनुपर्ने अर्काे प्रमुख कुरा हो– रंग ।
यदि रातिको पार्टी छ भने चम्किलो रंगका पहिरनले प्राथमिकता पाउँछन् भने दिउँसोको पार्टीका लागि हल्का र उज्याला रंगका पहिरन महिलाहरूको छनौटमा परेको देखिन्छ । यसका अतिरिक्त वानपिस, प्लाजो, लङ गाउन, डिजाइनर फ्रक पनि महिलाहरूबीच पार्टीवेयरका रूपमा लोकप्रिय मानिन्छ । जे भए पनि महिलाहरूले आफ्ना लागि पहिरन छनोट गर्दा शरीरको उचाइ एवं स्किन टोनमा विशेष ध्यान पुर्याउनुपर्छ ।
बालबालिकाको पहिरन
मानिसको सबैभन्दा खुसी हुने उमेर भनेकै बाल्यकाल हो । अझ विवाहका पार्टी तथा भोज भतेरहरूमा जान पाउँदा उनीहरूको खुसीको सीमा हुँदैन । पार्टीमा आकर्षक देखिन चाहने बालबालिकाका लागि बजारमा भनेजस्तै किड्स वेयरहरू उपलब्ध छन् । चिटिक्क परेका विभिन्न डिजाइनका किड्स वेयर अहिले लोकप्रिय पनि छन् । छोरीका लागि विभिन्न डिजाइनका फ्रक, लेहेंगा, गाउन, स्कर्ट, फूलकारी बुट्टा भरिएका विभिन्न स्टाइलका पाइन्ट तथा जामा बजारमा जताततै उपलब्ध हुन्छन् । यसैगरी छोराका लागि थ्रीपिस सुट, ढाका तथा भेल्भेटका दौरा–सुरुवाल, जिन्स तथा टि–सर्टले विशेष प्राथमिकता पाएको देखिन्छ ।