साप्ताहिक संवाददाता
नेपालका अन्तर्राष्ट्रिय खेलाडीको मुखबाट प्राय: सुनिने गुनासो हो, आफूले माथिल्लो दर्जामा चुनौती पेस गर्न सकिने प्रतियोगिता दक्षिण एसियाली खेलकुद (साग) पनि नियमित हुँदैन । त्यसैले एउटा माथिल्लो दर्जाको खेलाडीले आफू लयमा रहँदा पनि एक अथवा दुई संस्करणको साग मात्र खेल्न पाउँछ । तेक्वान्दोका दीपक विष्ट नेपालमा सर्वाधिक सफलत खेलाडी हुन्, उनले सागमा चार स्वर्ण जिते । साग स्तरमा उनले कहिल्यै हार सामना गर्नु परेन ।
नियमित सागको आयोजना भएको भए, उनले त्योभन्दा बढी संस्करणको सागमा प्रतिस्पर्धा गर्ने थिएँ । सम्भावना पनि उत्तिकै थियो, उनले बढी स्वर्ण जित्ने । यस्ता कथा धेरै खेलाडीको मुखबाट धेरै सुन्न पाइन्छ । यी सबै पृष्ठभूमिबीच १२ औं सागको मिति घोषणा भएको छ, जुन हुनेछ— सन् २०१९ मा । यसै वर्ष भारतमा सम्पन्न १२ औं सागका बेला नेपाललाई अर्को संस्करणको आयोजकका रूपमा सागको झन्डा हस्तान्तरण गरिएको थियो । त्यही बेला प्रश्न उठेको थियो, प्रतियोगिता हुनेचाहिं कहिले ?
सागको नियमअनुसार प्रतियोगिता प्रत्येक दुई–दुई वर्षमा हुनुपर्ने हो, तर नेपालले एक वर्ष ढिलो गरेर सन् २०१९ को समय तोकेको छ । दक्षिण एसियाली ओलम्पिक कमिटीको हालै काठमाडौंमा बसेको बैठकले वर्ष– २०१९ को मार्च ९ देखि १८ सम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो । भुकम्पले गर्दामा काठमाडौंमा रहेका खेलकुदका अधिकांश भौतिक पूर्वाधारमा क्षति पुगेको थियो । त्यसको पुनर्निर्माण अहिलेसम्म हुन सकेको छैन ।
त्यसमा दशरथ रंगशालासमेत छ । त्यसबाहेक जति स्थान उपलब्ध छन्, ती सबैमा सुधार आवश्यक भएको मात्र नभएर नयाँ निर्माणको आवश्यकतासमेत छ । यस्तोमा के नेपालले सन् २०१९ मै प्रतियोगिता आयोजना गर्न सक्छ ? अथवा सक्छ भने नेपालले अहिले नै काम सुरु गरेन भने कहिले गर्ने ? यही स्थिति बुझेर श्रीलंकाले अर्को संस्करण आफ्नो देशमा गर्ने दाबीसमेत अगाडि सारिरहेको थियो ।
श्रीलंकाको भनाइ थियो, उसले अर्काे वर्षमै १३ औं साग सम्पन्न गर्नेछ, त्यसपछि फेरि पालो नेपालकै । दक्षिण एसियाली ओलम्पिक कमिटीले भने उक्त प्रस्तावमा विचारै गरेन । दक्षिण एसियाली खेलकुदको इतिहास पल्टाउने हो भने सात संस्करणसम्म प्रतियोगिताको नियमित आयोजना भएको देखिन्छ । आठौं संस्करण नेपालमै भएको थियो र त्यति बेला चार वर्षको अन्तरमा प्रतियोगिता भयो । सन् १९९९ देखि अहिलेसम्म सागका चार संस्करण मात्र सम्भव भएका छन् ।
अर्थात एक संस्करणबाट अर्कोको आयोजनामा समयको अन्तर बढी छ । आउने सागलाई लिएर नेपाल सरकार आफैमा कति गम्भीर छ ? युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले १३ औं सागको आयोजना सरकारको प्राथमिकतामा रहने बताएका छन् । उनले यसलाई ठूलो महत्त्व दिने दाबीसमेत गरेका छन् । यस्तै मन्त्री श्रीपाइलीले बजेटको पनि समस्या नहुने कुराका छन् । यदि सत्य यही हो भने नेपालले अहिले नै तयारी सुरु गर्न हतार गर्नुपर्नेछ ।